भक्कानिएको मनबाट आएका प्रतिबद्धताहरु

  ।   २०७९ बैशाख ७, बुधबार ११:३८

परमेश्वर डि.सी.
वैज्ञानिकहरुका पनि वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन् – ‘यो संसार दुष्ट व्यक्तिहरुका कारणले बाँच्नका लागि खतरनाक भएको होइन कि बरु ती दुष्ट व्यक्तिहरुका विरुद्धमा केही गर्न नसक्ने असल व्यक्तिहरुका कारणबाट खतरनाक बनेको हो ।’ मलाई हो जस्तै लाग्यो । हामीले हाम्रो घर आँगनमा जनताको काम गर्ने भनी चुनिएर गएका मानिसहरुलाई वर्षौंदेखि हेरिरहेका छौं । चुनावी भेटघाट र घरदैलो कार्यक्रममा बाहेक अघि पछि यिनिहरुसँग भेटघाट र भलाकुसारी गर्न जनताले समय नै नपाएको अवस्था छ । नाममात्रका कतिपय जनप्रतिनिधिहरु जनताको मेहेनत र पसिनाबाट सङ्कलित बजेट आफ्नो खल्तीको कमाइ जस्तै गरी जताजता आफ्नो भोट बैङ्क छ त्यतैत्यतै मात्र लगानी गरेका परिदृश्यहरु हाम्रा सामू छरपष्ट छन् । यसले गर्दा विकासमा असन्तुलत देखा परेको छ । कतिपय गाउवस्तीहरु कतिपय जनप्रतिनिधिहरुका यस प्रकारका आग्रहपूर्वाग्रहपूर्ण कार्यले व्यवस्था प्रति नै निराश भएको अवस्था छ ।
हामीले पठाएका जनप्रतिनिधिहरु जनताका मालिक भएर गाडी कुदाउँदै हिडे । जनताले केही गुनासो राख्न पाऊँ भन्दा पनि समय छैन भनेर गाडीको स्पिड बढाए । मानौं ती भनेका देवीदेवताहरु हुन् यो वस्ती उनीहरुका निम्ति आवश्यक छैन । उनीहरुलाई भोट हालेर जिताउनेहरुको नै यो हविगत भयो । भोट नहालेर हराउने खोज्नेहरुलाई त उनीहरुले ज्यानी दुस्मन सम्झिएका छन् । मानौं कि देशमा हजारौं सहिदले बलिदानी गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र यिनीहरुको बाउको विर्ता हो । यी सबै बिडम्बनाहरु देख्नुपर्दा मन भक्कानिन्छ र आइन्स्टाइनले भने झै जनताका दुष्मनहरुको विरुद्धमा केही गर्न नसकिएको आत्माग्लानी हुन्छ ।
मभित्र एकप्रकारको राजनीतिक आस्था भए पनि वास्तवमा म सक्रिय राजनीतिमा यत्ति छिटै होमिन्छु जस्तो आफैलाई पनि लागेको थिएन । तथापि चुनाव जितेर गएका स्थानीय तहका वडा स्तरका जनप्रतिनिधिहरु समेत नागरिकलाई भक्त सोची आफूलाई देवता सम्झिन थालेपछि यसको विरुद्ध म जस्ता युवाहरु चुप्प लागेर बस्नु हुदैन भन्ने लाग्यो र सर्वप्रथम वडाअध्यक्षबाटै जनताको पक्षमा नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्रको तर्फबाट नेपालगञ्ज उपमहानगर पालिकाको वडा नं १८ को वडाध्यक्षको उम्मेदवार भएर सक्रिय राजनीतिमा होमिने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएको छु । जनप्रतिनिधि जनताको मालिक होइन कि सेवक हुनुपर्छ र जनतासँग विभिन्न प्रकारका रिसइवी साध्ने गरी काम गर्ने होइन कि सबै जनताको हित हुने गरी सरकारबाट प्राप्त बजेट न्यायोचित रुपमा विनियोजन गरी उचित बजेट उचित कार्यका लागि खर्च गर्नका लागि आवश्यक व्यवस्था गर्न प्रतिबद्ध भई बहस र पैरबी गर्ने व्यहोरा निवेदन गर्न चाहन्छु । विशेष गरी वडामा निर्वाचित भइसकेपछि मैले प्राथमिकता दिएर गर्ने कार्यहरु देहायमोजिम हुनेछन् ।
# गरीविको रेखामुनी रहेका घरपरिवारको यकिन गरी उनीहरुलाई स्वास्थ्य, शिक्षा, रोजगार र आयआर्जनमा अवसरको सुनिश्चिततासाथ उनीहरुको आर्थिक स्थितिलाई माथि उठाउन पहल गरिनेछ ।

# हरेक बस्तीमा बालबालिकादेखि बृद्धबृद्धासम्मलाई खेलकुद, व्यायाम, योग, भेटघाट, भलाकुसारी र मनोरञ्जनका लागि पार्क तथा शान्ति आश्रमको व्यवस्था गरिनेछ ।
ड्ड हरेक वस्तीमा बृद्धबृद्धाहरुलाई भेटघाट, भलाकुसारी एवम् प्रशिक्षण र खाजाका लागि ज्येष्ठ नागरिक समाजसँग सहकार्य गरी वडाबाट आवश्यक बजेटको प्रवन्ध गरिनेछ ।

# ज्येष्ठ नागरिक लगायत एकल महिलालाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता घरमै आएर बुझाउने व्यवस्था गरिनेछ ।

# विद्यालयले गाउँटोलबाट सिक्ने र गाउँटोलले विद्यालयबाट सिक्ने गरी गरी विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरिने छ ।

# कुनै पनि सरकारी विद्यालयको शिक्षकलाई एउटा विद्यालयमा ५ वर्षभन्दा बढि नबस्ने गरी सरुवा, पेशागत विकास र प्रोत्साहनको व्यवस्थाका लागि पहल गरिनेछ ।

# शिक्षाका निम्ति प्रदान गरिने छात्रवृत्ति लिङ्ग र जातका आधारमा होइन कि विपन्नताका आधारमा उपयुक्त परिमाणमा बैङक खातामा जम्मा गर्ने गरी आवश्यक प्रवन्ध गर्न पहल गरिनेछ ।

# आवश्यक पर्ने वस्तीमा नयाँ विद्यालयको स्थापना र विद्यालय र विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गरी पेशाप्रति प्रतिवद्ध शिक्षकबाट सुविधासम्पन्न सामुदायिक विद्यालयमा बालबालिकाहरुलाई माध्यमिक तहसम्मको शिक्षालाई गुणस्तरीय किसिमबाट उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

# पाँच वर्षभित्र सरकारी नम्स र आवास योेजना अनुसार वस्ती विकास र हरेक घरसम्म पिच सडकको पहुँच विस्तार गर्ने कार्यलाई योजनामा समावेश गरी कार्यान्वयन गरिनेछ ।
# वडाभित्र रहेका विभिन्न क्षेत्र र विषयका विज्ञहरुको सूची तयार गरी उनीहरुको विशेषज्ञतालाई वडाको विकासका लागि लगानी गर्न आवश्यक वातावरणको सिर्जना गरिनेछ ।

# हरेक घरबाट महिलालाई सहकारीमा आवद्ध गरी कृषि, तरकारी खेती, पुशपालन, कुखुरापालन, च्याउखेती लगायत अन्य विभिन्न व्यवसाय सञ्चालन गर्न समूहलाई विना धितो सहुलियत दरमा ऋण उपलब्ध गराइनेछ ।

# उत्पादन र विक्रिवितरणलाई प्रभावकारी र छिटोछरितो बनाउनका लागि वडा र वस्तीहरुमा सामुदायिक सहकारीको विकास र सञ्चालन गरिनेछ ।

# हालदेखिएको खाद्यान्न र अन्य सामानका साथ मदिरा राखेर विक्री गर्ने अव्यवस्थालाई व्यवस्थित गरी मदिरा र सूर्तिजन्य सामग्रीका पसलहरु विद्यालयहरुबाट टाढै राखी विक्रीवितरणमा नियन्त्रण गरिनेछ ।

# सरकारले निःशुल्क उपलब्ध गराउने भनी तोकेका औषधीहरुको उपलब्धता र उपचार सम्बन्धी व्यवस्थाका लागि वडाबाट आवश्यक प्रवन्ध मिलाइनेछ ।

# वडामा भएका बेरोजगारहरुको तथ्याङक सङकलन गरी आगामी ५ वर्षभित्र उनीहरुलाई आवश्यक पर्ने सिप र रोजगारी उपलब्ध गराउन पालिका स्तरमा पहल गरिनेछ ।

# समूदायको सहभागितामा फोहरमैला व्यवस्थापन गरी उर्जा उत्पादन गर्नका लागि आवश्यक व्यवस्था गरिनेछ ।

# घरघरमा शुद्ध खानेपानी उपलब्ध हुने गरी आवश्यक प्रवन्ध गरिनेछ ।

# तरकारी लगायत अन्य खाद्यान्न बाली उत्पादनका लागि सिक्टा सिचाइ आयोजनाबाट उपलब्ध हुने पानीबाट वडाका वस्तीहरुमा सिचाइका लागि आवश्यक प्रवन्ध गरिनेछ ।

# वस्तीहरुलाई स्वच्छ बनाउन र डुवानबाट बचाउनढल निकासका लागि आवश्यक संरचनाको विकास गरिनेछ ।

# वडाका नागरिकहरुलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन वडास्तरमा चौविसै घण्टा उपलब्ध हुने गरी एम्बुलेन्स सेवाका लागि आवश्यक व्यवस्था गरिनेछ ।

# टोलवस्तीमा हुन सक्ने आगलागीजन्य कार्यलाई नियन्त्रण गर्नका लागि चाहेकै समयमा सम्बन्धित थलोमा गएर आवश्यक सेवा प्रदान गर्न उपमहानगरपाकिालसँग सहकार्य गरी दमकल को व्यवस्था गरिनेछ ।

# विभिन्न सेवाहरु उपलब्ध गराउने उद्देश्यले वडाका सम्पूर्ण नागरिकका सम्पूर्ण पक्षहरु समेटिने गरी कम्प्यूटर सफ्टवयर मार्फत विवरणहरु अद्यावधिक गरिनेछ ।

Next Post

कोहलपुरमा माओवादी एकलै चुनावमा होमिने

२०७९ बैशाख ७, बुधबार ११:३८
नेपालगन्ज । मेयरमा सर्ब सम्मत नरेन्द्र न्यौपाने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरले आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेको छ । सत्ताधारी गठबन्धको कुरा चलि रहेका बेला कोहलपुरमा भने माओवादी केन्द्र आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय भएको एक माओवादी नेताले जानकारी दिए । जसका लागी माओवादी केन्द्रले औपचारीक रुपमा उम्मेदवार […]