पत्रकारमाथि प्रहरी हस्तक्षेपप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको आपत्ति, तत्काल रिहाइको माग

  ।   २०८३ कार्तिक १४, शुक्रबार २०:५८

समिक्षा धिताल

काठमाडौं  । समाचार लेखेकै आधारमा पत्रकारहरूलाई सञ्चारगृहबाटै नियन्त्रणमा लिने तथा अन्य पत्रकारको खोजी गर्ने कार्यप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर आपत्ति जनाएको छ । पार्टीले यस्तो कार्यले प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र लोकतान्त्रिक संस्थाहरूको स्वायत्ततामाथि प्रहार गरेको भन्दै नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरेको छ ।

शुक्रबार जारी विज्ञप्तिमा रास्वपाले विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रको प्राण र सौन्दर्य मानिने स्वतन्त्र, सक्षम र उत्तरदायी सञ्चार संस्थाले नागरिकको आवाज मुखरित गर्ने तथा सञ्चार जगत्ले लोकतान्त्रिक प्रणालीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पार्टीको भनाइ छ ।

पार्टीले कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने गतिविधि कुनै पनि अर्थमा लोकतान्त्रिक आचरणअनुकूल हुन नसक्ने उल्लेख गरेको छ । प्रेस स्वतन्त्रतामाथिको प्रहार नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै कुठाराघात भएको रास्वपाको ठहर छ ।

विज्ञप्तिमा पत्रकारिताका विश्वव्यापी मूल्य, मान्यता र अभ्यासअनुसार समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अपरिहार्य व्यावसायिक अधिकार, दायित्व तथा पेसागत धर्म भएको उल्लेख गरिएको छ। प्रकाशित समाचार सामग्रीप्रति कसैको विमति, गुनासो वा कानुनी प्रश्न उठेमा त्यसको परीक्षण र निरूपणका लागि राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र वैधानिक निकायहरू क्रियाशील रहेको पार्टीले स्मरण गराएको छ।

समाचारको विषयलाई लिएर स्थापित कानुनी तथा संस्थागत बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लंघन भएको रास्वपाको भनाइ छ । समाचार लेखेकै आधारमा केही सञ्चारकर्मीलाई नियन्त्रणमा लिइएको र अन्यको खोजी भइरहेको भन्ने सार्वजनिक विवरणका सन्दर्भमा निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा गैरकानुनी ढङ्गले नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई तत्काल सम्मानजनक रूपमा रिहा गर्न पार्टीले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

रास्वपाले पत्रकार तथा सञ्चारकर्मीलाई कुनै पनि प्रकारको भय, त्रास र अनुचित दबाबमा नपरी निर्भीकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारिता गर्न आह्वानसमेत गरेको छ । सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको रक्षाका पक्षमा पार्टी सधैँ प्रतिबद्ध रहने विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मी तथा सञ्चारमाध्यमको अधिकार सुनिश्चितताका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ अग्रपङ्क्तिमा अभिमन रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।