काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकतासम्बन्धी विवाद समाधान नहुँदै निर्वाचन कार्यक्रम अगाडि बढाउने भएको छ ।
आयोगले निर्वाचन आचारसंहिता तयार भइसकेको जनाएको छ । आउँदो आइतबारसम्म सर्वदलीय बैठक राखेर निर्वाचन प्रयोजनका लागि दल दर्ता खोल्ने आयोगको तयारी छ ।
आचारसंहिता कहिलेबाट लागु हुन्छ भन्ने आयोगले बताएको छैन ।
नेकपाको प्रचण्ड–माधव समूहले आधिकारिकता दाबी गर्दै आयोगमा बुझाएको पत्रलाई भने आयोगले गम्भीरतापूर्वक नलिएको प्रचण्ड–माधव पक्षका नेताहरुको गुनासो छ । दलको विवाद हेर्ने जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीले पाएका छन् । जबकि अध्यादेशबाट निर्वाचन आयुक्त बनेका स्वयं भण्डारीको नियुक्तिसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।
मंगलबार निर्वाचन आयोगमा पुगेका प्रधानमन्त्री केपी ओलीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीबारे आयोगले गरिरहेका कामको ब्रिफिङ गरेका थिए ।
प्रमुख आयुक्त थपलियाले वैशाखमा तोकिएको निर्वाचन सफल पार्नका लागि आयोगले काम गरिरहेको र त्यसका लागि समय पर्याप्त रहेको बताएका थिए ।
प्रमुख निर्वाचन आयुक्तले प्रधानमन्त्रीसमक्ष गरेको ब्रिफिङ अनुसार निर्वाचन आचार संहिताको मस्यौदा तयार भइसकेको र मंगलबार नै दलहरुलाई पठाइने छ । सकेसम्म विहीबार÷शुक्रबार वा आइतबार सर्वदलीय बैठकको आयोजना गरिने छ । र, सर्वदलीय बैठकपछि चुनावी प्रयोजनका लागि दल दर्ता आह्वान गरिनेछ ।
निर्वाचन आयोगले मतदाताहरुको अन्तिम नामावली फागुन २१ गते प्रकाशित गर्ने भएको छ । मतदाता नामावली प्रकाशत गरिसकेपछि समानुपातिक उम्मेद्वारहरुको बन्दसूचीका लागि दलहरुलाई आह्वान गर्नुका साथै मनोनयन दर्ताको प्रक्रिया सुरु हुने आयोगले जानकारी दिएको छ ।
आयोगको प्रारम्भिक आँकलनअनुसार चुनावमा करिब १ करोड ६६ लाख मतदाता रहनेछन् । यसको अन्तिम संख्या फागुन २१ मा टुंगो लाग्नेछ ।
आयोगले निर्वाचन सामग्री खरिदका लागि बुधबार टेण्डर आह्वान गर्ने भएको छ । अनलाइन खबर