विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

  ।   २०७८ पुष २७, मंगलवार १२:५४

संवाददाता  ।

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

समाचार संस्था रोयटर्सका अनुसार सात घण्टा लामो शल्यक्रियापछि ५७ वर्षीय डेभिड बेनेटमा मुटुको प्रत्यारोपण सफल भएको हो । शल्यक्रियामा युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिनको टिम संलग्न थियो ।

शल्यक्रियामा संलग्न चिकित्सकहरूले बेनेटको स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका छन् । बेनेटको जीवन बचाउन यो नै अन्तिम विकल्प रहेको बताइएको थियो । सुँगुरको मुटु प्रत्यारोपणपछि उहाँको आयु कति लम्बिन्छ भन्ने यकिन भएको छैन ।

शल्यक्रिया अघि बेनेटले भन्नुभएको थियो, ’गर वा मरको अवस्थामा प्रत्यारोपण गर्न लागेको हुँ । म बाँच्न चाहन्छु । यो एउटा अँध्यारोमा हानिएको गोलीजस्तै हो । मसँग अरु विकल्प छैन ।’ मेरिल्यान्ड युनिभर्सिटीले शल्यक्रियाका लागि अमेरिकी नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) सँग आकस्मिक अनुमति लिएको थियो ।

शल्यक्रियामा संलग्न चिकित्सक डाक्टर ब्राट्ली ग्रिफिथले चिकित्सा विज्ञानमा अभूतपूर्व सफलता प्राप्त भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ’यो अभूतपूर्व शल्यक्रिया हो । यसले मानव अंग प्रत्यारोपणमा देखिएको संकट समाधान हुन सक्छ ।’

निकै सावधानीपूर्वक शल्यक्रिया सम्पन्न भएको र यसले भविष्यमा बिरामीको आयु लम्ब्याउन सहयोग पुग्ने पनि उहाँको भनाइ छ । अहिले पनि १ लाख १० हजारको हाराहारीमा अमेरिकामा अंग प्रत्यारोपणको पर्खाइमा रहेका छन् ।

अग्र्यानडोनर डट जीओभीका अनुसार अमेरिकामा बर्सेनि ६ हजारभन्दा बढी अंग प्रत्यारोपणको पर्खाइमा रहेका व्यक्तिको मृत्यु हुने गर्छ । बेनेटमा भर्जिनियास्थित रिजेनेरेटिभ मेडिसिन कम्पनी रेभिभिकोरले आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु उपलब्ध गराएको हो ।

चिकित्सकहरूका अनुसार सुँगुरको मुटु र मानिसको मुटुमा धेरै समानता हुनाले प्रत्यारोपण सफल भएको हो । सुँगुरका अन्य अंगहरू मिर्गौला, कलेजो र फोक्सो पनि मानिसमा प्रत्यारोपण गर्न सकिने, नसकिनेबारे अनुसन्धान भइरहेको छ ।

यसअघि आनुवंशिक भिन्नताका कारण सुँगुरको मुटु प्रत्यारोपण सफल भएको थियो । यस पटक भने वैज्ञानिकहरूले हानिकारण जिनहरू सम्पादन गरेर हटाएका थिए । त्यसपछि मात्रै प्रत्यारोपण सफल भएको बताइएको छ ।

तस्बिरहरू : रोयटर्स-युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिसिन

इकान्तिपुरबाट

Next Post

सहकारीको प्रशासनिक भवन उद्दघाटन

२०७८ पुष २७, मंगलवार १२:५४
संवाददाता, बढैयाताल, बर्दिया। श्री भगवति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बढैयाताल ७ तिलकाना बर्दियाले आफनो प्रशासनिक भवनको उद्दघाटन गरेको छ । सोमबार १८ लाख २४ हजार बढीको लागतमा निर्मित भवनको उद्दघाटन बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपान्नेले गर्नुभएको हो । नव निर्मित भवन १९ औं बार्षिक साधारण सभाको अवसर […]