भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

  ।   २०७७ भाद्र १५, सोमबार १९:२६

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा नयाँ दिल्लीमा आज निधन भएको छ । उहाँको छोरा पूर्वसांसद अभिजीत मुखर्जीले आज साँझ उहाँको निधन भएको ट्वीट गरेर पुष्टि गर्नुभएको हो ।

भारतको अर्थ, रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुखर्जीको हालै सेनाको आर एन्ड आर अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।

अगस्ट १० मा उहाँले ट्वीट गर्दै आफू कोरोनाभाइरस सङ्क्रमित भएको बताउनुभएको थियो । मुखर्जी केही समयदेखि कोमामा रहनुभएको थियो ।

भारतीय राष्ट्रपति रामनाथ कोबिन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले ट्वीट गर्दै समवेदना प्रकट गर्नुभएको छ । पाँच दशक लामो राजनीतिक यात्रामा उहाँले लगभग सम्पूर्ण कुरा प्राप्त गर्नुभएको छ ।

उहाँ सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहनुभएको थियो । उहाँलाई कुनै विशेष समूहमा वर्गीकरण गर्न सहज छैन । उहाँ नेतामात्रै हुनुहुन्न, एकजना अर्थविद् पनि रहनुभएको थियो ।

त्यसको वर्षौँअघि उहाँले शिक्षक र पत्रकारका रूपमा काम गर्नुभएको थियो । मुखर्जी भारतीय ब्याङ्कहरूका विभिन्न समितिहरूमा पनि रहनुभएको थियो । उहाँ विश्व ब्याङ्कको बोर्ड सदस्य पनि रहनुभएको थियो ।

उहाँले भारतको लोकसभाको सभामुख र कैयौँ सरकारी समितिहरूका अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । मुखर्जीले नपाएको जिम्मेवारीमा प्रधानमन्त्रीको पद मात्रै हो ।

सन् १९८४ र सन् २००४ मा उहाँ उक्त पदका दाबेदार देखिनुभएको थियो । इन्दिरा गान्धीबाट प्रशिक्षित उहाँ सम्भवत : आफूलाई उक्त पदको स्वाभाविक हकदार ठान्नुहुन्थ्यो । तर भारतीय जनता पार्टीका नेता लालकृष्ण आणवानी जस्तै उहाँ प्रधानमन्त्री बन्न सक्नुभएन ।

कङ्ग्रेसकी नेतृ तथा उहाँकी छोरी शर्मिष्टा मुखर्जीसँगको एउटा कुराकानीमा उहाँका बुवा भारतको प्रधानमन्त्री नबनेकोमा दुःखी भएको बुझिएको भए पनि उहाँले कहिल्यै त्यसलाई सार्वजनिक रूपमा व्यक्त गर्नुभएन्, किनभने उहाँ पार्टीका वरिष्ठ नेता हुनुहुन्थ्यो ।

जब सन् २०१२ मा उहाँ भारतको राष्ट्रपति चुनिनुभयो, उहाँले त्यसबारे कुरा गरिरहनु उपयुक्त पनि ठान्नुभएन ।

उहाँ प्रधानमन्त्री बन्ने कुरामा कङ्ग्रेस पार्टी भित्रका कैयौँ समूहहरूको विरोध नरहेको देखिए पनि राजनीतिक विश्लेषकहरूले गान्धी परिवारप्रति बफादार रहेको नदेखिदाँ उहाँलाई पाखा लगाइएको ठान्छन ।

अघिल्लो वर्ष उहाँलाई ’भारत रत्न’ सम्मान दिइएको थियो । त्यसबाट भारतीय जनता पार्टीले मुखर्जीले स्वत : पाउनुपर्ने कुराहरू गान्धी परिवारसँग नजिक नभएकाले नपाएको सङ्केत दिन खोजेको ठानिएको थियो ।

मुखर्जीको जन्म सन् १९३५ को डिसेम्बरमा पश्चिम बङ्गालमा रहेको मिराटी गाउँको एउटा सामान्य परिवारमा भएको थियो । उहाँका पिता कङ्ग्रेस पार्टीका नेता र स्वतन्त्रता सेनानी रहनुभएको थियो ।

मुखर्जीले इतिहास र राजनीतिशास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक अध्ययन गर्नुभएको थियो ।

सन् १९६९ मा ३४ वर्षको उमेरमा राज्यसभाको सदस्य बन्नुभएका उहाँको राजनीतिक यात्रा इन्दिरा गान्धीको मार्ग निर्देशनमा अघि बढेको थियो । त्यसपछि उहाँले कहिल्यै पछि फर्किएर हेर्नुपरेन ।

तर सन् १९८४ मा इन्दिराको हत्या भएपछि प्रधानमन्त्री बन्नुभएका राजीव गान्धीले उहाँलाई आफ्नो मन्त्रिमण्डलमा सहभागी गराउनुभएन । उहाँले खराब समयको समाना गर्नुपरेको थियो र पार्टीबाट ६ वर्ष निलम्बन भोग्नु परेको थियो ।

भारतका राष्ट्रपति रामनाथ कोबिन्दले पनि सामाजिक सञ्जाल ट्वीटरमा मुखर्जीको निधनले प्रणव मुखर्जीको निधनको खबरले आफ्नो हृदयमा आघात पुगेको भन्दै ट्वीट गर्नुभएको छ ।
बीबीसी नेपालीबाट

Next Post

आज बाँकेमा ४१ जना संक्रमित पुष्टि

२०७७ भाद्र १५, सोमबार १९:२६
बाँके । बाँके जिल्लामा आज सोमबार साझ सम्म ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको PCR ल्याबबाट ४० जना र बागेश्वरी ल्याबबाट १ जना गरि ४१ जना भएका हुन् । जनस्वास्थ्य बाँके फोकल पर्शन नरेश श्रेष्ठले जारी गरिको रिपोर्ट अनुसार १६ महिला र २५ पुरुषमा कोरोना […]