प्रेम विश्वकर्मा, नेपालगंज ।
कोभिड–१९ ले बाँके र बर्दियाका २० जना ब्यक्तिहरुको ज्यान लिएको छ । मंगलबार अपराहन्न ४ बजे सम्मको कोभिड अपडेट अनुसार मृत्यु हुनेमा बाँकेका १५ र बर्दियाका ५ जना रहेका छन ।
जसमा बर्दियाका सबै पुरुष हुन भने बाँकेका केही महिला पनि छन । मृत्यु भएका ब्यक्तिहरुमा कोरोनाको संक्रमण सगैं फोक्सोको निमोनिया, क्यान्सर लगायतका रोग पनि पहिल्यै देखिएको रहेको चिकित्सकहरु बताउँछन ।
अहिले बाँके जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ४९ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेमा कुल संक्रमितको संख्या १ हजार ८ सय ७१ जना पुगेको छ ।
जसमध्ये १ हजार ५ सय ७ जना ब्यक्ति निको भएका छन । उता छिमेकी जिल्ला बर्दियामा अहिले संक्रिय संक्रमितहरुको संख्या १ सय ६३ जना रहेको छ ।
कुल संक्रमित संख्या ६ सय ७४ जना मध्ये ४ सय ७९ जना संक्रमित निको भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । यतिबेला बर्दियाले पनि बाँकेलाई पच्छाउदै आएको छ ।
शुरुमा संक्रमण दर एकदमै कम रहेको बर्दियामा दैनिक जसो अहिले संक्रमित भेटिन थालेका छन । बर्दियामा कोरोना जाँचको लागी आरटी पीसीआर प्रयोगशाला नभएपछि बाँकेको भेरी अस्पतालको भर पर्नुपर्ने अवस्था छ ।
पछिल्लो समय नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र वागेश्वरी ल्यावले कोरोनाको जाँच गर्न थालेपछि भेरी अस्पतालको प्रयोगशालामा जाँच लोड घटेको छ ।
भेरी अस्पतालको प्रयोगशालामा हाल सम्म ४० हजार ९ सय ६ वटा नमुनामा कोरोनाको जाँच गरिसकिएको छ । जसमध्ये २ हजार ४ सय ३७ जना ब्यक्तिमा कोरोनाको संक्रमण पाईएको छ । संक्रमित पुष्टि भएका अधिकांश मध्ये बाँके र बर्दियाका हुन ।
फोटो : बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको फेसबुकबाट