जैविक विविधता, वन्यजन्तुहरुको संरक्षण तथा अध्ययन, अनुसन्धानमा सक्रिय बन्दै एनटीएनसी बर्दिया

आ.व. २०७८-०७९ मा झन्डै ७ करोड रुपैयाँ खर्च

  ।   २०७९ भाद्र १५, बुधबार १५:४१

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले २०५२ साल देखी निरन्तर बर्दियाको ठाकुरद्धारामा बसेर जैविक विविधता, वन्यजन्तुहरुको संरक्षण तथा अध्ययन, अनुसन्धान कार्य गरिरहेको छ ।

बाँके, बर्दिया सहित लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लालाई लक्षित गरी एनटीएनसीले काम गर्ने गर्दछ । गत आर्थिक बर्षमा मानव वन्यजन्तु द्वन्द न्यूनिकरण, चोरी शिकार नियन्त्रण र बाघ तथा आहाराजन्य प्रजातिको अध्ययन, अनुगमनमा बढी समय खर्चिएको एनटीएनसीले जनाएको छ ।

गत आर्थिक बर्ष २०७८-०७९ मात्र झन्डै ७ करोड रुपैयाँ खर्च भएको छ । यसै सिलसिलामा पत्रकार प्रेम विश्वकर्माले राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका कार्यालय प्रमुख डाक्टर रविन कडरिया सँग गरेको कुराकानीमा आधारित केही अंश ।

१. राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी (नेशनल ट्रष्ट फर नेचर कन्जरवेसन) ले के काम गर्छ ?

राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल सरकारबाटै स्थापित संस्था हो । यसको बेग्लै ऐन छ । त्यस अन्र्तगत रहेर हामीले नेपाल भरी बिशेष गरेर जैविक विविधताको संरक्षण, यसको अध्ययन, अनुसन्धान गछौं । हामी बर्दियामा झन्डै २०५२ सालदेखी बसेर बर्दियाको वन्यजन्तु संरक्षण, यसको अध्ययन, अनुसन्धानमा लागी राखेका छौं ।

२. यसको कार्यक्षेत्र कहाँ–कहाँ छ ?

अब राष्ट्रिय प्रकृति संरक्षण कोष (बर्दिया संरक्षण कार्यक्रम) को खास पहिले कार्यक्षेत्र भनेको बर्दिया राष्ट्रिय निकुञ्ज, यसको मध्यवर्ति क्षेत्र र यसका नजिक भएका वन क्षेत्रमै प्राथामिकता दिई रहेका थियौं भने अहिले हामीले बाँके राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ति क्षेत्र सगैं लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, आवाश्यकता परेको खण्डमा सुदुरपश्चिम प्रदेशमा समेत वन्यजन्तुुहरुको उद्दार, वन्यजन्तुहरुको गैर ब्यपार नियन्त्रणका लागी सहयोग गर्ने काम पनि हामीले गरिराखेका छौं ।

३. गत आर्थिक बर्ष २०७८-०७९ मा यहाँको बजेट, कार्यक्रम कार्यन्वयनको स्थिती कस्तो रह्यो ?

राष्ट्रिय प्रकृति संरक्षण कोषले काम गर्ने भनेको दातृ निकाय (डोनर) मा आधारित साझेदारी (पार्टनरशिप) रुपमा मिलेर, र हाम्रो नेपालमा भएको निकुञ्ज, मध्यवर्ति क्षेत्र, उपभोक्ता समितिहरु, सीबीएपीयु (चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान सञ्जाल) हरु सँग मिलेर हामीले कार्यक्रमहरु संञ्चालन गर्छौं ।

हामीले विगतको बर्षमा बढी जसो चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानलाई सहयोग, मानव वन्यजन्तु बिच द्वन्द बढी भएको कारणले गर्दा यो द्वन्दलाई कसरी न्यूनिकरण गर्न सकिन्छ्, भनेर बिशेष गरेर बाघलाई प्राथामिकता दिई ‘ब्यवहार परिवर्तन अभियान कार्यक्रममा’ १९ वटा उपभोक्ता समितिबाट १९ जना युवाहरुलाई ल्याएर ति युवाहरुले टोल–टोलमा ‘ब्यवहार परिवर्तन अभियान कार्यक्रम’ चलाउनु भयो ।

३ सयको हाराहारीमा भएका सेसनमा १० हजार जना जति स्थानीयहरु सहभागी हुनुभएको छ । बाख्रा, बंगुरका लागी साढे २ सय भन्दा बढी सुरक्षित खोर निर्माण गर्नका लागी सहयोग, ३ सय भन्दा बढी किसानहरुलाई आयआर्जनका लागी बैकल्पिक खेती (वन्यजन्तुले नखाने बाली) कागती, मेन्था, बेसारमा पनि सहयोग गर्दै आईरहेका छौं ।

बर्दिया र बाँकेको उत्तरी मध्यवर्ति क्षेत्रमा जहाँ चाही चुरे क्षेत्र छ । यहाँ पर्यापर्यटन त्यति विकास हुन सकेको छैन । त्यो ठाउँमा टे«किङ्गको विकास गर्न सकिन्छ भनेर शुरुमा १९ वटा होमस्टे (घरवास) हरु स्थापना गरेका छौं । स्थानीय समुदायले चलाई राख्नुभएको छ । यो टे«किङ्गका लागी ७ दिन लाग्छ र, चार-चार घण्टाको फरकमा होमस्टेहरु छन । ति होमस्टेहरुको क्षमता अभिवृद्धि गर्ने, होमस्टे घरका कोठा, भन्साको सुधार गरेर पर्यटकलाई बस्न लायक बनाएका छौं ।

यसमा स्थानीय समुदाय सँग हातेमालो गरिएको छ । त्यस क्षेत्रका महिलाहरुलाई लक्षित गरी उनीहरुको आर्यआर्जनमा सहयोग पुग्ने गरी बचत तथा ऋण कार्यक्रममा सामेल गरिराखेका छौं । यसैगरी हात्तिलाई बस्तीमा छिर्न नदिन निर्माण गरिएको ३० किलोमिटर विद्युतीय तारबारहरुको मर्मत संम्भारका लागी आवाश्यक पर्ने सामाग्रीहरुमा सहयोग गरिरहेका छौं ।

यसमा स्थानीय समुदायहरुले पनि श्रमदान गर्नुहुन्छ । झन्डै ३ वटा जति बाघको उद्दार गरिएको छ । त्यसैगरी बैतडिदेखी चितुवाको उद्दार गरिएको छ भने केही गोहीहरुको पनि विभिन्न ठाउँबाट उद्दार भएको छ । कुनै ठाउँमा बाघ निस्किरहेको छ, भने क्यामेरा प्रविधिबाट नियमित निगरानी गरी स्थानीय प्रशासन, निकुञ्ज, डिभिजन वन कार्यालयहरुलाई आवाश्यकता अनुसार प्राविधिक सल्लाह पनि दिईरहेका छौं । गत आर्थिक बर्षमा बाघ गणना पनि भयो ।

नेपालको बाघ गणनामा बर्दिया, बाँके कम्पलेक्समा प्राविधिक र लजस्ष्टिक हिसावले सहयोग गरेका थियौं । बर्दियामा गैडा अनुगमन चलिराखेको छ । त्यसलाई पनि प्राविधिक रुपमा सहयोग गरिरहेका छौं । बर्दियामा झन्डै १२० वटा भन्दा बढी हात्ति छन । त्यसमध्ये पनि १० वटा जति समस्या ग्रस्त, अलिकति एक्ला हात्तिहरु छन । तिनको पहिचान पनि गरेका छौं ।

झन्डै १७ जना युवाहरुलाई आयआर्जन सँग जोड्न सहयोग गरिरहेका छौं । विगतका बर्षहरुमा २ हजार ४ सय युवाहरु आबद्ध हुनुहुन्थ्यो भने गत आर्थिक बर्षको तथ्यांक अनुसार झन्डै ३ हजार ३ सय जना जति युवाहरु बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा आबद्ध भएर काम गरिरहनुभएको छ ।

यसका अलवा हामीले बाघ तथा वन्यजन्तु संरक्षण सम्बन्धीका गोष्टिहरु संञ्चालन गर्ने लगायतका नियमित क्रियाकलापहरु भइरहेका छन ।

४. यहाँले दातृ निकायको कुरा गर्नुभयो । कोभिडपछि दातृ निकायहरु घटे भनेर विश्लेषण भईरहेको सुनिन्छ ? गत आ.व.मा कति बजेट थियो ?

यसो छ, हाम्रो हिसावले गर्दा हाम्रो दातृ निकायका कार्यक्रमहरु बढेकै छन । किन भने हाम्रो अन्र्तराष्ट्रिय पार्टनरहरु दुई किसिमका हुनुहुन्छ । एउटा चाँही उहाँहरुले नै प्रस्ताव गरेर काम गर्न पर्यो भन्नुहुन्छ, हामी उहाँहरु सँग मिलेर काम गछौं । अर्को चाँही उहाँहरुले प्रस्ताव आब्हान गर्नुहुन्छ्, र त्यसमा हामीले फिल्डमा आधारित प्रस्तावनाहरु पेश गरेर काम गरिराखेको अवस्था छ ।

गत बर्ष हाम्रो झन्डै ७ करोड रुपैयाँ विभिन्न क्रियाकलाप, प्रशासनिक रुपमा खर्च भएको छ । र यो बर्ष पनि यही हाराहारीका कार्यक्रम, बजेट हामी सित रहेको छ ।

५. भनेपछि यहाँहरुको राजस्वमा योगदान हुन्छ की हुदैन ?

यो काम निकुञ्जबाट हुने भएकाले हाम्रोबाट हुदैन । तर अन्नपुर्ण, मनास्लु, गौरीशंकर संरक्षण क्षेत्र, काठमाडौंको सदरचिडिया खानाको राजस्व उठाउने दायित्व नेपाल सरकारले दिएको छ ।

६. तपाईहरुलाई नेपाल सरकारको बजेट कार्यक्रम आउँछ्, आउदैन ?

त्यसरी ठयाक्कै आउने भन्ने हुदैन । तर कहिले कही सहकार्यहरु गरिराखेका छौं । सरकारी कार्यालयलाई हामीले यहाँबाट बजेट पनि दिन्नौं । तर सहकार्य गरेर गर्न सकिन्छ, बिशेष गरेर हामी मध्यवर्ति क्षेत्र, सामुदायिक वन, उपभोक्ता समितिमै केन्द्रित हुन्छौं । हाम्रो राष्ट्रिय प्रकृति संरक्षण कोषको कुरा गर्दा सिधै लिन पनि गाहे हुन्छ र दिन पनि गाहे हुन्छ ।

७. अब अन्त्यमा, निकुञ्ज वरपरका क्षेत्रमा होस वा आम नागरिक जो कसलाई समस्या परे, गुनासो गर्नु परे कसरी गर्ने ?
राष्ट्रिय प्रकृति संरक्षण कोषको सम्बन्धमा सिधै हामीलाई नै सम्र्पक गर्न सक्नुहुन्छ । हामी वेवसाइट, फेसबुकमा पनि छौ । कार्यालय प्रमुखको सम्र्पक नम्बर ९८५८०२५१०७ रहेको छ ।

हामीले काम गरिरहेका समुदाय, उपभोक्ता समितिका अध्यक्ष ज्यूहरु मार्फत पनि कुराहरु पठाउन सकिन्छ । यसका साथै निकुञ्जमा निकुञ्ज कार्यालय, वनमा डिभिजन वन कार्यालय वा मातहतका कार्यालयमा सम्र्पक, समन्वय गर्न सकिन्छ । हामीले पनि संयुक्त साझेदारीमा नै काम गर्ने हो ।

 

Next Post

माओवादी केन्द्र बाँकेको तेस्रो बैठकका निर्णय

२०७९ भाद्र १५, बुधबार १५:४१
नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेको तेस्रो पुर्ण बैठक होटल ग्यालेक्सीमा सम्पन्न भएको छ । बुधबार भएको सो बैठकले नेकपा माओवादी केन्द्र बाँके जिल्ला समितिले एक महिने संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान  संचालन गर्ने निर्णय गरेको छ । बैठकले मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचन लक्षित कार्यक्षेत्र […]