नोबेल पुरस्कार विजेता मलालाको वैवाहिक जीवन सुरु

  ।   २०७८ कार्तिक २४, बुधबार १८:००

संवाददाता, काठमाडौँ ।

नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गर्नु भएको छ । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरूले गोली प्रहार गरेपछि चर्चामा आउनु भएकी मलालाले पाकिस्तानकै एक युवकसँग बिहे गर्नु भएको हो ।

उहाँले आफ्नो वैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मङ्गलवार बेलायतको बिर्मिङ्घममा भएको जानकारी दिनु भएको छ ।

तालिबान विद्रोहीहरूको आक्रमणकै कारणले असुरक्षा महसुस गरी उहाँ अहिले बेलायतमा बस्दै आउनु भएकोले बेलायतमा वैवाहिक कार्यक्रम भएको हो । सामाजिक सञ्जालहरूमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सबैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गर्नु भएको छ । “मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नु भएको छ,” उहाँले सामाजिक सञ्जाल ट्विटरमा लेख्नु भएको छ ।

इस्लामिक परम्पराअनुसार विवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ । उहाँले अहिले निकाह गर्नु भएको हो । यसको कानुनी हैसियत भने रहँदैन । महिला अधिकारको पक्षमा लागेको र मुस्लिम छात्रालाई पढाएकोप्रति रुष्ट हुँदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए ।

पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरूले मलाला चढेको स्कुल बसमा हमला गर्दा उहाँसहित तीन जना घाइते भएका थिए । त्यसपछि उहाँको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाउनुभयो । उहाँ अहिलेसम्म नोबेल पुरस्कार पाएका व्यक्तिहरू मध्ये सबैभन्दा कान्छी हुनुहुन्छ । उहाँले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गर्नु भएको छ भने विश्वभरि मानवअधिकारकर्मीको पहिचान बनाउनु भएको छ ।

रासस, रेडियो नेपाल

Next Post

मूल्य वृद्धिका विरुद्ध कार्तिक ३० गते विप्लवको नेपाल बन्द

२०७८ कार्तिक २४, बुधबार १८:००
संवाददाता, नेपालगंज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले सङ्गघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार देशब्यापी प्रर्दशन, चक्काजाम, मशाल जुलुस, सिट्ठी जुलुस सहित कार्तिक ३० गते नेपाल बन्द सम्मको कार्यक्रम तय गरिएको महासचिव विप्लव द्धारा हस्तारक्षित वक्तब्यमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार