म्याडग्यास्करमा चरम भोकमरी : चार वर्षदेखि भएन वर्षा, बाच्नका लागि किराफट्याङ्ग्रा खाँदै स्थानीय

  ।   २०७८ भाद्र १०, बिहीबार ०६:३६

एजेन्सी । पूर्वी अफ्रिकी मुलुक म्याडग्यास्कर जलवायु परिवर्तनका कारण उत्पन्न भोकमरीको सँघारमा पुगेको छ ।

चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू डरलाग्दो भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो । यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन् । उनीहरू बाँच्नका लागि किराफट्याङ्ग्रा खान बाध्य भएका छन् ।

राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालले भोकमरीजस्तो अवस्था द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको बताउनुभयो । अहिले ३० हजार मानिसले पाँचौं तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसंघको आँकलन छ ।

खेती सुरु गर्ने र बालीनाली भित्र्याउने बेलाबीचको अभाव हुने समय सुरु भएपछि म्याडग्यास्करमा प्रभावितको संख्या ह्वात्तै बढ्ने चिन्ता व्याप्त छ । एम्बोआसरी जिल्लाको दुर्गम फ्यान्डिओभा गाउँमा गएको डब्ल्यूएफपीको टोलीलाई मानिसहरूले आफूले टिपेर खाने गरेका किराफट्याङ्ग्राहरू देखाएका थिए ।

बाली बिग्रेकाले मानिसहरू किरा र सिउँडीको पात खान बाध्य भएका छन् । निरन्तरको अनावृष्टिले देशको दक्षिणी भेगमा माटो सुकेको छ । अहिले सुक्खाको प्रभाव दक्षिण म्याडग्यास्करका ठूला सहरहरूमा पनि देखा पर्न थालेको छ । त्यहाँ धेरै बालबालिकाहरू सडकमा खानेकुरा माग्दै हिँडेको देखिन्छ । बजारमा मूल्य बढिरहेकाले मानिसहरू खानेकुरा किन्न आफ्नो जग्गाजमिन बेचिरहेका छन् ।

Next Post

तीनवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, पाँचवटा प्रदेशमा भारी वर्षा हुने

२०७८ भाद्र १०, बिहीबार ०६:३६
काठमाडौं । पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना […]