तीनवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, पाँचवटा प्रदेशमा भारी वर्षा हुने

  ।   २०७८ भाद्र १०, बिहीबार ०६:३७

काठमाडौं । पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको देखिन्छ । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैबीच आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

प्रदेश १, प्रदेश २, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

केही दिनदेखि मनसुन थप सक्रिय हुँदा देशका धेरै भागमा पानी परिरहेको छ । “नेपालको पूर्वी तराईको भू–भाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण केहीदिन अगाडिबाट मनसुन केही सक्रिय रहेको छ । बुधबार रातीबाट न्यून चापीय रेखा अझ तराई भू–भाग नजिक आएको र केही दिनसम्म सोही क्षेत्रमा रहने सम्भावना रहेको छ,” विभागले भनेको छ, “सो प्रणालीका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र झरीको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।”

Next Post

बाँकेमा बढ्दै कोभिड संक्रमित

२०७८ भाद्र १०, बिहीबार ०६:३७
संवाददाता, नेपालगंज। कोभिड–१९ संक्रमित भएका ब्यक्तिहरुको संख्या केही बढेको पाईएको छ । बाँकेमा रहेका ३ वटा पीसीआर ल्यावले गत २४ घण्टाको अवधि गरेको पीसीआर जाँचका क्रममा संक्रमितको संख्या केही बढेको पाईएको हो । जसअनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा १४१ जनाको पीसीआर जाँच गरिएकोमा ४० जना संक्रमित फेला परेका छन । […]