बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज खड्का बहादुर रोकाले गाउँपालिकाका जनतालाई खोप नलगाएर अन्यत्रबाट आफ्ना निकटतम व्यक्तिहरुलाई बोलाएर लगाएको र केहि स्वास्थ्यकर्मीले ५ देखि ८ भेक्सिन आफ्नो घरमा लागेको कुरा बाहिरए पछि लुम्बिनी प्रदेश सरकारले छानबिन गर्न जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन दिएको छ ।
स्वास्थ्यकर्मीले कोभिड भ्याक्सिन आफन्तलाई लगाइएको आरोप स्थानीयले लगाएको समाचार सार्वजनिक भएपछि लुम्बिनी प्रदेशका कृषि तथा सहकारी मन्त्री बिजय बहादुर यादवले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सत्य तथ्य बुझि आइतबार सम्म प्रतिवेदन पठाउन निर्देशन दिनु भएको छ ।
सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर पहुँचको आधारमा गाउँपालिका वाहिरका व्यक्तिलाई बोलाएर कृते ठेगाना राखेर सहपुर्वा स्वास्थ्य केन्द्रले खोप दिइएको थियो ।
यस विषयमा जनस्वास्थ्य कार्यालय बाँके र जिल्ला प्रशासन कार्यालयले अनुसन्धान थालेको छ ।
चीनबाट अनुदानमा आएको १० लाख डोज खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाउन स्थानीय निकायलाई निर्देशन भए पनि डुडुवा ४ का स्वास्थ्य चौकी इन्चार्जले मनोपरी तरिकाले खोपको दुरुपयोग गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार लक्षित समूह बाहेकका व्यक्तिलाई खोप लगाएको पाइएमा खोप दुरुपयोग गर्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने बताउदै खोप लगाउने व्यक्तिहरूको विवरण, खोप केन्द्र र खोप लगाउने कार्यमा संलग्न कर्मचारीको समेत विवरण संकलन सुरु गरिएको जनाएको छ ।
बाँकेको डुडुवामा मात्र नभएर देशैभरका धेरैजसो जिल्लामा खोपको दुरुपयोग बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जनस्वास्थ्यको ध्यानाकर्षण गराएका छन् ।
देशभर खोप दुरुपयोग बढेको जनगुनासो आएपछि स्वास्थ्य सेवा विभागले अनुसन्धान सुरु गरेको छ । विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले खोप अनियमितताको खबर धेरै ठाउँबाट आएको भन्दै छानबिन गरिने जानकारी दिए । खोपको अनियमितता भएको पुष्टि भएमा कानुन अनुसार कारबाही गरिने उनको भनाइ छ ।
विभागले लक्षित समूहको आधारमा ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई खोप लगाउन निर्देशन दिएको थियो । तर लक्षित समूहभन्दा बाहिर पहुँचको आधारमा खोप लगाइएको पाइएमा सम्बन्धित कर्मचारीमाथि कारबाही हुने बताए । उनले भने डुडुवा गाउँपालिकाको वडा नं ४ का इन्चार्जले फोन गरिगरि बोलाएको र गाडी रिजर्भ गरि गाउँपालिका बाहिरबाट व्यक्तिहरू आएर खोप लगाएको र केहि स्वास्थ्यकर्मीहरुले खोप आफ्नो घरमा लगेको समाचार मार्फत जानकारी प्राप्त भएकोले छानबिन सुरु गरिएको बताउँदै गलत कार्यमा संलग्न कर्मचारीलाई कानुनी दायरामा ल्याउने बताए ।
यस्तै डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले आइतबारबाट खोप अनियमितताका बारेमा छानबिन सुरु गर्ने स्वास्थ्य संयोजक धन बहादुर बुढाले बताए ।



