नेपालगन्ज । भारत उत्तरप्रदेशको राजधानी लखनउमा वरिष्ठ पत्रकार तथा लेखक सिराज खानसहित नौै जना नेपाली साहित्यकारहरुलाई सम्मानित गरिएको छ ।
भारत र नेपालबिचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि लखनउमा आइतबार आयाजना गरिएको नेपाल–भारत अन्तर्राष्ट्रिय साहित्यिक उत्सवमा वरिष्ठ पत्रकार खानसहित नेपाली साहित्यकारहरुलाई साहित्य श्री सम्मानबाट सम्मानित गरिएको हो ।
सम्मानित हुनेहरूमा गोरखापत्रका वरिष्ठ समाचारदाता खानसहित नेपालका वरिष्ठ साहित्यकाहरहरु डा. हरिप्रसाद तिमिल्सिना, कल्पना पौडेल, डा इन्द्रबहादुर बस्नेत, ईश्वरी रिजाल, मिना बराल, ऋषिराम सापकोटा, सीता रिजाल र कलाकार खगेन्द्र नेपाल हुनुहुन्छ । उहाँहरूलाई साहित्य श्री सम्मानबाट सम्मानित गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उत्तर प्रदेश सरकारका अल्पसङ्ख्यक मन्त्री दानिस आजाद अन्सारीले नेपालका वरिष्ठ साहित्यकार तथा लेखकहरुसहित भारतीय साहित्यकार र लेखकहरुलाई सम्मान पत्र र सम्मान चिन्ह प्रदान गरेर सम्मानित गर्नुभयो । सो अवसरमा बोल्दै अल्पसङ्ख्यक मन्त्री अन्सारीले भारत र नेपालको सम्बन्ध जनस्तर र सरकारीस्तर दुबै माध्यमबाट अतिनै घनिष्ठ तथा प्रगाढ रहेको जनाउँदै सीमाना खुला छाडिनु यसको प्रमाण भएको बताउनुभयो ।
उहाँले भारत र नेपालका कला, संस्कृति, भेषभुषा तथा धार्मिक परमपरा र रितिरिवाजहरु एक अर्कासँग मिल्ने भएकाले पनि दुबै देशका जनताबिच घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो । नेपाल र भारतको साहित्य र संस्कृतिको सङ्गमका रुपमा रहेको यो महोत्सवमा भारतीय र नेपाली साहित्यको समृद्ध इतिहासलाई उजागर गरिएको तथा दुबै देशका साहित्यिक परम्पराहरूको आदानप्रदान गरिएको कार्यक्रम आयोजक रुबरु फाउन्डेसनका अध्यक्ष तथा भारतका वरिष्ठ साहित्यकार ईरशाद राहीले बताउनुभयो ।
उहाँका अनुसार सो अन्तर्राष्ट्रिय साहित्यक उत्सवमा नेपाल र भारतको सम्बन्ध सुदृढ बनाउनका लागि निरन्तर कलम चलाउँदै आउनु भएका नेपाली साहित्यकार तथा लेखकहरूको सम्मान, कवि समेलन र सांस्कृतिक कार्यक्रमहरू गरिएको छ । कार्यक्रमको उद्देश्य साहित्य र संस्कृतिका विभिन्न विधाहरूको प्रवर्धन गर्नु रहेको जनाइएको थियो भने सो कार्यक्रममा सहभागिता जनाउने साहित्यकार र लेखकहरूले आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर पाएका थिए ।
दुई दिनसम्म चलेको साे कार्यक्रममा साहित्यिक संवाद, पुस्तकहरूको विमोचन र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू गरिएको थियो । यो कार्यक्रमले दुबै देशको साहित्यिक गतिविधिलाई समृद्ध बनाउनुका साथै दुवै देशका साहित्यकारहरूको बिचमा नयाँ सम्बन्ध र सहकार्यको सृजनामा पनि मद्दत गरेको नेपालका वरिष्ठ साहित्यकार डा हरि तिमल्सिनाले बताउनुभयो ।
लखनउ लगायत भारतका बिभन्न प्रदेशबाट आउनुभएका ठुलो संख्याका साहित्यकार तथा पत्रकारहरुले नेपाल भारत सम्बन्ध झनै प्रगाढ बनाउनुपर्नेमा जाेड दिएका थिए। साे अवसरमा नेपाली साहित्यकारहरुले आ आफ्नो रचना नेपाली र हिन्दी भाषामा वाचन गर्नुभएको थियो भने नेपाली कलाकारले हुड्के नृत्यसहित अन्य लाेकनृत्य प्रस्तुत गर्नुभएको थियो ।