नेपालगन्ज। बाँके युनेस्को क्लबले बर्दियाको राजापुर र मधुवन नगरपालिकाका शिक्षकहरुका लागि आत्मसुरक्षा सम्बन्धि प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा कार्यान्वयन गरिरहेको सुरक्षा परियोजना अन्तर्गत शिक्षकहरुका लागि सो पाँच दिने प्रशिक्षक प्रशिक्षणको आयोजना गरेको हो ।बिशेषगरि विद्यालयका शिक्षकहरूलाई आत्मसुरक्षा प्याकेजमा पाँच दिने प्रशिक्षक तालिम दिनका लागि आयोजना गरिएको सो प्रशिक्षणमा बेचबिखन सम्बन्धी विषयहरू समावेश गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
उहाँले तालिमको मुख्य उदेश्य र लक्ष्य शिक्षकहरूको क्षमता, ज्ञान र सीपमा अभिवृद्धि गर्नु रहेको जनाउँदै तालिम लिएर प्रशिक्षक बनेका शिक्षकहरुले विद्यालयका विद्यार्थीहरूलाई आत्मसुरक्षा सम्बन्धि प्याकेज सहज रुपमा दिन सक्ने बताउनुभयो ।
बर्दियाको मधुवन र राजापुर नगरपालिकाका १० वटा विद्यालयका २७ जना शिक्षकहरू सो प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भइरहेका छन् भने तालिममा पाँच दिनसम्म विभिन्न सत्रहरुमार्फत आत्मसुरक्षा र बेचविखन रोकथाम सम्बन्धि जानकारी प्रदान गरिने छ । प्लान इन्टरनेशनल नेपालकी संरक्षण विशेषज्ञ सबिना रावत, बाँके युनेस्को क्लबका परियोजना संयोजक महेश नेपाली, कार्यक्रम अधिकृत ईश्वर बीक, फिल्ड सुपरभाइजर साबित्रा भट्टले संयुक्त रूपमा तालिमलाई सहजीकरण गरिरहनु भएको छ । सो प्रशिक्षणमा प्राथमिक स्रोतको रूपमा स्टिक एण्ड स्टोन्स तालिम पुस्तिका प्रयोग गरिँदैछ । राजापुर र मधुवन नगरपालिका भित्रका छनोट गरिएका विद्यालयहरूका कुल २७ जना सहभागीहरूले आफुलाई प्रशिक्षक बनाउन सो तालिम लिईरहनुभएको छ ।