
संवाददाता, नेपालगंज।
बाँकेको नेपालगंज सहित वरपरका क्षेत्रमा असिना, हावाहुरी सहितको पानी परेको छ । मध्य माघमा परेको असिना, पानीले गरेको क्षतिका बारेमा अझै केही विवरणहरु बाहिरीएका छैन्न ।
अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । बुधवार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभावले आउँदो तीन दिनसम्म मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
शुक्रवार पनि देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिवार देशभरि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।
आउँदो शनिवार पनि पश्चिमी वायुको प्रभाव रहने र आइतवारदेखि मौसममा क्रमिक रूपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



