सबिता चन्द
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले मुस्लिम समुदायको बीचमा पुगेर उनीहरूको विश्वास र आशीर्वाद माग्नुभएको छ। चुनावी प्रचारप्रसारका क्रममा गरिएको यो भेटघाटलाई समावेशी राजनीति, आपसी सम्मान र सामाजिक सद्भावको सशक्त सन्देशका रूपमा लिइएको छ।
भेटका क्रममा मुस्लिम समुदायका अगुवा, युवा र सर्वसाधारणले शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा, धार्मिक सहिष्णुता र राज्यका निकायमा समान सहभागिताका विषय उठाएका थिए। समुदायले भोग्दै आएका व्यवहारिक समस्या र अपेक्षालाई उम्मेदवार बिष्टले गम्भीरतापूर्वक सुन्नुभयो।
उम्मेदवार दिपेन्द्र बिष्टले मुस्लिम समुदायका मागहरू जायज र समयसापेक्ष रहेको बताउँदै ती विषयलाई संसदसम्म पुर्याएर नीतिगत र व्यवहारिक रूपमा सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकास कुनै एक वर्ग वा समुदायका लागि मात्र नभई सबैलाई समेट्ने हुनुपर्नेमा जोड दिनुभयो।
“राजनीति विभाजन होइन, एकताको माध्यम हुनुपर्छ,” भन्दै बिष्टले मुस्लिम समुदायको योगदानलाई सम्मान गर्दै सबै नागरिकका लागि समान अवसर र अधिकार सुनिश्चित गर्नु आफ्नो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। उहाँले शिक्षा, रोजगारी र उद्यमशीलताको माध्यमबाट युवालाई आत्मनिर्भर बनाउने योजना अघि बढाउने धारणा पनि राख्नुभयो।
भेटघाटपछि मुस्लिम समुदायका सहभागीहरूले उम्मेदवार बिष्टको सुनुवाइ गर्ने शैली, सरल भाषा र समावेशी सोचले भरोसा बढाएको प्रतिक्रिया दिएका छन्। उनीहरूले चुनावी समयमा मात्र होइन, निर्वाचित भएपछि पनि निरन्तर संवाद र सहकार्यको अपेक्षा व्यक्त गरेका छन्। यो भेटघाटले बाँके क्षेत्र नं. २ मा विश्वास, सम्मान र सहअस्तित्वमा आधारित चुनावी माहोललाई थप मजबुत बनाएको देखिन्छ।





