
सबिता चन्द
नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट जनताको दैनिकीसँग जोडिएका समस्या सुन्न टोल–टोलमा आफैँ पुग्ने अभियानमा सक्रिय देखिनुभएको छ। वडा नं. २० सहित नेपालगन्जका विभिन्न टोलमा पुगेर उहाँले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै बाटो, बत्ती र खानेपानीजस्ता आधारभूत समस्याबारे गहिरो संवाद गर्नुभएको हो।
घरआँगनमै पुगेका उम्मेदवार बिष्टले स्थानीयका गुनासा ध्यानपूर्वक सुन्दै ती समस्या कागजमा मात्र सीमित नराखी व्यवहारिक समाधानतर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कतै धुलाम्मे र बिग्रिएको बाटो, कतै साँघुरो बस्ती, कतै खानेपानीको अभाव—यी सबै समस्या जनताले खुलेर राखेका थिए।
“विकास भाषणमा होइन, टोलको पीडामा देखिनुपर्छ,” भन्दै बिष्टले आधारभूत सेवा सुनिश्चित गर्नु जनप्रतिनिधिको पहिलो दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले स्थानीय सरकारसँग समन्वय गर्दै दीर्घकालीन समाधान खोज्ने र आवश्यक परे संसदमा समेत यी विषय उठाउने आश्वासन दिनुभयो।
टोलवासीहरूले उम्मेदवार बिष्टको सजिलो पहुँच, धैर्यतापूर्वक सुन्ने शैली र संवेदनशील व्यवहारले मन छोएको प्रतिक्रिया दिएका छन्। धेरैले पहिलो पटक कुनै उम्मेदवार आफ्नै टोलमा आएर समस्या सुनेको अनुभूति व्यक्त गरेका छन्।
नेपालगन्जका विभिन्न टोलमा भइरहेको यो भेटघाटले चुनावी प्रचारलाई मात्र होइन, जनता र नेतृत्वबीचको भरोसा र सम्बन्धलाई अझ गहिरो बनाएको देखिन्छ।





