जे एस धिताल
उहिले उनकै सल्लाहले दरबार र घरबार चल्थे,
आज फेरि तिनै कसरी “नयाँ” कहलिन्छन् त ?
अहिले उनिहरुकै आशीर्वादमा
वडा देखि पालिकाका प्रमुख भए,
माननीय देखि मन्त्री सम्म गए ।
बिगत देखि वर्तमान सम्म
राजतन्त्र देखि गणतन्त्र सम्म।
गाउँमा पाटिका प्रमुख
जिल्लामा पार्टी प्रमुख।
यता लाटिको तिघ्रो चिमोट्ने
उता पाठिको घिच्रो निमोठ्ने ।
गाउँघर र दराखोला खाएका
पेशा, व्यवसाय, रोजगार कुनै गर्न नचाहेका।
सोझा निमुखा गरिबहरुलाई साह्रै सताएका।
घुसखोरी, कमिसनखोरी नामै पचाएका
ठेकेदार र बफादार सबै नचाएका।
घर-घडेरी जोड्दै अकुत सम्पत्ति बचाएका
स्थानीय देखि मन्त्रालयसम्म सधैं धाइरहेका।
बिना श्रमका पुलैपुला पैसा खाइरहेका
नेतागिरी र कुखुरे तन्त्रमा जिन्दगीभर रमाइरहेका।
अचम्म छ-ती कसरी “नयाँ” भएछन् ?
अनुहार उही, व्यवहार उही, इतिहास उही,
फेरिएको त केवल बोतलको लेबल मात्र हो।
नयाँ बोतलको पुरानो रक्सीलाई
भर्जिन नेता मानी दिनु पर्ने।
इतिहासका दागीलाई त्यागी मानी दिनु पर्ने,
यही हो आजको राजनीतिक विडम्बना
बेला आएको छ जनताले सोच्नु पर्ने सोह्नै आना ।





