चीन : कोरोना प्रभावित क्षेत्रबाट बेइजिङतर्फ यात्रा गर्न प्रतिबन्ध

  ।   २०७८ श्रावण २५, सोमबार ०८:१५


एजेन्सी । कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ।

ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि टिकट बिक्री तत्कालका लागि रोकिनेछ।

बेइजिङका अधिकारीहरूले मध्यम र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरूका लागि स्वास्थ्य कोडलाई अझै जोखिमको क्षेत्र संकेत गर्ने ‘पहेँलो रङ’ मा राखिनेछ।

स्वास्थ्य संकेत हरियो भएका स्थानका मानिसहरूले भने कुनै अवरोध बिना बेइजिङतर्फ जाने विमान वा रेलमा चढ्न दिइने छ। चीनका विभिन्न प्रान्त वा सहरबाट नै राजधानी बेइजिङ जान हरियो संकेत हुनु जरुरी हुनेछ।

चीनका थुप्रै शहरहरूमा पुनः कोभिड–१९ सङ्क्रमित भेटिन थालेपछि र उनीहरूमा समुदायबाटै सङ्क्रमण सरेको पुष्टि भएपछि चीनको राजधानीमा उच्च सतर्कताका लागि यो कदम चालिएको हो।

चीनका १५ प्रान्त तथा नगरपालिकाहरूमा ५०० भन्दा बढी व्यक्तिमा ‘डेल्टा भेरियन्ट’ को प्रभाव देखिएको छ।

बेइजिङको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता सङ्क्रमित भेटिएका र सङ्क्रमित रहेको १५ शहरबाट उडान भर्न रोक लगाएको घोषणा गरेको छ।

विमानस्थलका उप महाप्रबन्धक वेन वुले भन्नुभएको छ, ‘बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता १५ सहरबाट उडान मार्गलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको छ।’ वुले उडानमा लगाइएको प्रतिबन्ध सङ्क्रमण बिस्तार नहोस भनेर गरिएको बताउनु भएको छ ।

यसैबीच, नयाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि बेइजिङ अन्तर्राष्ट्रिय फिल्म मेला स्थगित गरिएको स्पूतनिकले गत बिहीबारको घटनाको आधिकारिक बयान उद्धृत गर्दै रिपोर्ट गरेको छ।

‘देशका धेरै क्षेत्रहरूमा हालै महामारीको प्रकोपका कारण, सुरुमा अगस्त १४–२१ का लागि तय गरिएको ११ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल सामान्य सुरक्षा र स्वास्थ्यका कारण स्थगित गरिनेछ,’ मेला आयोजक समितिले जानकारी गराएको छ।

तथापि, आयोजकहरूले यो मेला कहिले हुनेछ भन्नेबारे केही नबताएका स्पूतनिकले उल्लेख गरेको छ।

Next Post

साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा आयोजना हुने

२०७८ श्रावण २५, सोमबार ०८:१५
संवाददाता । १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आज बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड–१९ सङ्क्रमणको […]