सल्यान । सल्यानको सल्लीबजारदेखि रुकुम-पश्चिम जोड्ने सडक खण्डको ट्रयाक खोलेको करिब २० वर्ष पुग्दा समेत सडकको स्तरोन्नति हुन सकेको छैन।
दुई जिल्ला जोड्ने सडक स्तरोन्नति नहुँदा यस क्षेत्रका सर्वसाधरणले लामो समयदेखि जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। करिब ४० किलोमिटरको चौरजहारी(सल्ली सडकखण्ड वर्षा याममा अवरुद्ध हुने भएकाले यस क्षेत्रका बासिन्दा जाजरकोटबाट ६२ किलोमिटरको दूरीमा रहेको सडक प्रयोग गर्न बाध्य छन्।
सडक स्तरोन्नति रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट रेफर गरिएका बिरामीहरुको ज्यान समेत जोखिममा पर्ने गरेको स्थानीय आशीष आचार्यले बताए। कुमाख गाउँपालिका सल्यान, रुकुम पश्चिमको चौरजहारी नगरपालिका, चौरजहारीका व्यावसायीले लाखौं रकम खर्च गरे पनि सडक बाह्रै महिना चल्न नसकेको चौरजहारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तेजबहादुर विष्टले बताए।
सल्ली(चौरजहारी सडक जोखिमयुक्त हुँदा कोभिड १९ कोरोना भाइरसबाट संक्रमित सल्यान वनगाड कुपिन्डेका ११ जना युवा चौरजहारीको आइसोलेसनमा उपचार गर्न आउन करिब ६ घण्टाको पैदल हिँडेर पुगेका थिए।
सल्यान थारमारे बडागाउँ चौरजहारी सडकखण्ड पनि वर्षातका कारण अवरुद्ध बनेको छ। रुकुम पश्चिमलाई जोड्ने दुईवटै बाटो अवरुद्ध हुँदा स्थानीयबासी यातायात सेवाबाट बञ्चित भएका छन्। सडक स्तरन्नतिका लागि ९ किलोमिटर सडक अहिले कालोपत्रे भइरहेको र बाँकी सडकका लागि पनि ठेक्का प्रक्रियामा पुगेको कर्णाली प्रदेश सरकारले जनाएको छ। थाहाखबर