कोभिड संगै अन्य रोगका बिरामीले अस्पताल भरिएपछि बेड पाउन समस्या
संवाददाता
नेपालगंज । बाँकेमा कोरोना संक्रमितको संख्या थपिने क्रम जारी छ । गत २४ घन्टामा १८३ वटा नमुना परिक्षण गरिएकोमा १२७ जनामा कोरोना संक्रमण भेटिएको छ, जसअनुसार संक्रमण दर ६९.४ प्रतिशत हुन आउँछ ।
भेरी अस्पतालको पीसीआर प्रयोगशालाले दिएको जानकारी अनुसार एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो । कोरोनाका बिरामीहरु बढ्न थालेपछि नेपालगंज सहित वरपरका क्षेत्रमा कडाई गरि मास्क अनिवार्य गरिएको छ । तर पनि केहि सर्वसाधारणहरुले अटेरी गरी हिँडडुल गरिएका दृष्यहरु देखिन्छ ।
कोभिड मात्र नभई अन्य स्वास्थ्य समस्या लिई अस्पतालमा पुग्ने बिरामीहरुको संख्या पनि बढेपछि अस्पतालहरुमा बेड पाउन समस्या हुन थालेको छ । उता बर्दियामा पनि कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ ।
५० बेडको बर्दिया अस्पताल गुलरियामा पनि कोभिड बाहेकका बिरामी बढेपछि अरु बिरामी भर्ना लिन समस्या भएको जनाएको छ ।