‘कर्णाली स्याहार्न’ जुटेका डाक्टर नवराज

  ।   २०७७ श्रावण ८, बिहीबार १०:२२

मंगलगढी चोकबाट पश्चिम (करिब २.४१ किमि) पुगेपछि सडकको बायाँपट्टि बगैंचाले घेरिएको सुन्दर घर भेटिन्छ। जहाँ चराचुरुगीले निःसंकोच आफ्ना गुड लगाउँछन्। बच्चा हुर्काउँछन् र त्यहीं कुनै एक रूखमा फेरि बसाउँछन्। बगैंचाको त्यो दृश्यझै घरमा पनि त्यहाँ धेरै युवायुवतीले आफ्नो भविष्यका रेखा कोरेका छन्।
शिक्षाका लागि गाउँदेखि सहर छिरेका उनीहरूले त्यही घरमा आफ्नो बास पाए। सुखदुःख त्यहीं साटे। कयौं अभिभावकविहीन युवायुवतीले त्यहीं आफ्नो अभिभावक पाए।

उतिबेला घरमुली स्व. नेत्रबहादुर केसी सबैका सहारा बनेका थिए। प्रकृतिप्रेमी केसी गाउँबाट सहर पसेका विद्यार्थी, अभिभावक गुमाएका बालबालिकालगायत सबैका मनमा बास गर्थे। उनको घरमा विद्यार्थीले सकेसम्म भाडा तिर्नु पर्दैनथ्यो। विद्यार्थी जीवनको दुःखका सारथि थिए उनी।

सुर्खेतको जन उच्च माध्यमिक विद्यालयमा ३२ वर्ष प्राचार्यमा क्रियाशील रहेका उनमा युवाहरूलाई शिक्षातर्फ अभिप्रेरित गर्ने खुबी थियो। उनका व्यवहारहरू त्यस्तै थिए। उनी त्यसै गर्थे।

युवापुस्तामा शिक्षाको ज्योति बाल्ने केसीले आफ्ना सन्तानलाई पनि आफूजस्तै बनाए। ‘धेरै पढाए, धेरै सिकाए अनि असल बनाए।

स्व. नेत्रबहादुर केसी र टीका केसीको कोखबाट तीन सन्तान जन्मिए। पहिलो सुपुत्री शिक्षिका बनिन्। बुवाको शिक्षण पेसालाई उनले पनि आफ्नो पेसा बनाइन्। घरका जेठा सुपुत्र इञ्जिनियर छन्। जर्मनमा उनी विभिन्न योजनामा काम गरिरहेका छन्।

रोगले बर्बराइरहने कर्णालीको उपचारमा उनका कान्छा छोरा डा. नवराज केसी चिकित्सक भएरै सेवा गर्न थालेको वर्षौं भइसकेको छ।

तलबबिनै सुरु भयो स्वास्थ्य जाँच 

नेत्रबहादुरका कान्छा छोरा डा. नवराज बालरोग विशेषज्ञ बनेर सुर्खेत आए। चिकित्सासम्बन्धी अध्ययनपछि पाल्पा मेडिकल कलेजमा बिरामीको सेवा गरिरहेका डा. केसीलाई तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल)मा मासिक बैठकमा आमन्त्रित गरिएको थियो।

बैठकमा महिनाभर अस्पतालमा विभिन्न कारणवश मृत्यु भएका नवजात शिशुको अवस्थाबारे छलफल हुन्थ्यो। डा. केसी पनि त्यही छलफलमा सहभागी थिए। अस्पतालमा महिनाभरको बालशिशु मृत्युदर अवस्था निकै दयनीय थियो।

त्यही समय डा. केसीले सुर्खेतमै बस्ने निधो गरे। साथीलाई फोन गरेर सामान पठाइदिन भने। बन्दोबस्तीको सामान पाल्पा मेडिकल कलेजबाट फोनकै भरमा सुर्खेत आइपुग्यो। उनी सम्झन्छन्, ‘अस्पतालको अवस्था दयनीय थियो। बालशिशु मृत्युदर उच्च थियो। त्यही अवस्थाले मलाई जन्मस्थान सुर्खेतमा सेवा गर्न तान्यो।’

बुवालाई प्रेरणास्रोत मान्ने डा. केसीले विगत सम्झिए, ‘बुवाको मृत्युपहिले उहाँ सधै भन्नुहुन्थ्यो, डाक्टर भएपछि ६ महिना भए पनि सुर्खेतमा काम गरेस्। यहाँका नागरिकको स्वास्थ्य जाँच गराउनु र बाँकी जीवन आफैं जिउनु।’

उनीलगायत प्रदेश अस्पताल आइपुगेका डा. केएन पौडेल र डा. रुपकले तीन महिनासम्म पारिश्रमिक लिएनन्। अस्पताल व्यवस्थापन समितिसँग चिकित्सकलाई पारिश्रमिक दिनसक्ने बजेट शीर्षक नै थिएन। चिकित्सकहरूले बिना शुल्क स्वास्थ्यजाँच गरिरहे।

विशेषज्ञ चिकित्सकको अभाव झेलिरहेको अस्पतालको बजेट शीर्षकमध्ये अन्तिममा चिकित्सकलाई दैनिक एक हजार भक्त दिन सकिने भेटियो। थोरै भए पनि विशेषज्ञ चिकित्सकले पारिश्रमिक पाए।

नवजातको उपचारमा सहुलियत

नवजात शिशुको मृत्युदर घटाउन अस्पतालमा एउटा परिवर्तन आयो। पहिले आमाको स्वास्थ्य उपचारमा सहुलियत भए पनि शिशुको उपचारमा भने कुनै सहुलियत थिएन। अस्पतालका चिकित्सकहरूले छलफल गरे। योजना बन्यो।

सचिवस्तरीय एक कार्यक्रममा डा. केसीबाट सो प्रस्ताव अघि सारियो। अहिले प्रदेश अस्पतालमा नेपालकै नमूना सेवाका रूपमा एनआईसियु कक्ष निर्माण गरी विशेष सेवा प्रदान गरिएको छ। जहाँ बालशिशुको उपचारमा पूर्ण ख्याल राखिन्छ।

यसका साथै एफबिआईएमएनसिआई (देशकै पहिलो) कार्यक्रम, नवजात शिशु केयर कार्यक्रम, अस्पताल ट्रेनिङ सेन्टरलगायतका कार्यक्रम लागू भइरहेका छन्। जहाँ नवराज केसी जस्ता चिकित्सकको ठूलो योगदान छ। कर्णालीको स्वास्थ्य क्षेत्रमा यसले महत्वपूर्ण भूमिका खेलेको छ।

संगीतको भूत

२०३९ साल भदौ २९ मा जन्मिएका डा. केसी बाल्यकालदेखि नै औपचारिक शिक्षामा अब्बल थिए। गितारलाई तबला हो कि भनेर प्रश्न गर्ने समयमा उनी गीतारका विद्यार्थी भइसकेका थिए। विशेषगरी संगीतमा उनको रुचि निकै थियो। उनी सम्झन्छन्, ‘कलेज लाइफमा संगीतकार पनि बन्छु कि भन्ने थियो। संगीतमा ज्यादै रुचि थियो। तर बालापनदेखि डाक्टर नै बन्छु भन्ने मेरो लक्ष्य अगाडि उमेरमा छाएको संगीत बाटो छेकेन। डाक्टर नै भएँ।’

५ कक्षामा पढ्दाताका नै उनी जिल्ला उत्कृष्ट भए। ८ कक्षामा जिल्लाका दोस्रो उत्कृष्ट बने। नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दा छात्रवृद्वि कोटामा उत्तीर्ण डा. केसी बालरोग विशेषज्ञता लिँदासम्म पाँचौं स्थनबाट कहिल्यै तल झरेनन्। उनी भन्छन्, ‘फुर्सदको समयमा बुवा सधैं पढेरै बिताउनु हुन्थ्यो। पढेको पढ्यै गर्ने। म पनि त्यस्तै भएँ।’

एसओएस हर्मन माइनरबाट माध्यमिक शिक्षा, निस्ट कलेज काठमाडौंबाट उच्च माध्यमिक शिक्षा, नेसनल चिल्ड्रेन हस्पिटल, फिलिपिन्सबाट बालरोगमा विषेज्ञता र अमेरिकाको बोस्टन युनिभर्सिटीबाट न्युट्रिसन फेलोसिप (अनलाइन) सम्बन्धी औपचारिक ज्ञानलाई उनी समाजसेवामा पनि खर्चन्छन्।

ग्रीन सिटीदेखि अपाङलाई निःशुल्क थेरापी

समाज सुधारोन्मुख सेवामुखी वातावरणमा हुर्किएका डा. केसी विद्यार्थी जीवनदेखि नै सेवामुखी कार्यक्रमको साथमा हुन्थे। उनी विभिन्न कार्यक्रमको रचना गर्थे, खेस्रा बनाउँथे।

नेपालगञ्ज मेडिकल कलेजमा एमबिबिएस अध्ययनताका त्यहाँको अस्पतालमा पैसाको अभावले उपचार गर्न नसक्ने नागरिकको संख्या धेरै हुन्थ्यो।

डा. केसीले सुनाए, ‘पैसा अभाव भएर उपचारबाट फर्कने देख्दा मन कटक्ट खान्थ्यो।’

उनीलगायत चिकित्सा शिक्षा अध्ययन गरिरहेका उनका साथीहरूले ‘एनजिएमसी हेल्पिङ हेन्ड्स’ गठन गरेरै अस्पतालमा उपचारको खर्च बेहोर्न नसक्ने नागरिकका लागि उपचार सुरु गरे।

उनी सम्झन्छन्, ‘नेपालगन्जमा म्युजिक कन्सर्ट गर्‌यौं। म्युजिक कोर्डिनेटर म नै थिएँ। स्थापनाकालमा एनजिएमसी हेल्पिङ हेन्ड्सको सचिव हुँ। २०६० सालतिरको समय हो। सो कार्यक्रमले धेरै सहयोग गर्‌यो। लाखौं रकम संकलन भयो। हामीसँग कोठाभर औषधी हुन्थ्यो। अस्पताल रकमको अभावले उपचार गर्न कठिन मानिरहेका बिरामी खोज्दै उपचार गर्थ्याैँ।’

हाल स्वाथ्यकर्मी, नागरिक, समाजसेवीलगायतको सहभागितामा विंग्स फाउन्डेसनले कर्णालीमा समाजसेवाको क्षेत्रमा समेत प्रभावकारी काम गरिरहेको छ।

वीरेन्द्रनगर नगरपालिकालाई ग्रीन सिटी बनाउनेदेखि अपाङ्ग बालबालिकालाई निःशुल्क फिजियोथेरापी सेवा, कर्णालीका विभिन्न स्थानमा विशेषज्ञ सेवासहितका निःशुल्क स्वास्थ्य क्याम्प, निःशुल्क औषधी वितरण कार्यक्रम सञ्चालन गर्नेसम्म फाउन्डेसन लागिरहेको छ। जसको अध्यक्षता डा. केसी आफैंले गरिरहेका छन्।

कर्णालीका हेल्थपोस्टमै विशेषज्ञ सेवा 

नागरिक प्रत्यक्ष जोडिने भनेको कर्णालीका हेल्थपोस्ट (स्वास्थ्यचौकी) हरूसँग हो। डा. केसी भन्छन्, ‘कर्णालीमा विशेषज्ञ डाक्टरको कमी छ। यहाँ सबै नागरिक विशेषज्ञ डाक्टरको पहुँचमा पुग्दैनन्। त्यसैलाई मध्यनजर गर्दै हामी ‘टेलिमेडिसिन सेवा’ सुरु गर्दैछौं।’

डा. केसीको समूहले कर्णालीका सुर्खेत, जाजरकोट, कालीकोट र हुम्लाका चारवटा स्वास्थ्यचौकीमा ‘टेलिमेडिसिन’ बारे प्रारम्भिक अध्ययन तथा परीक्षण गरिसकेको छ। उनले भने, ‘भिडियो कन्फ्रेन्समार्फत विशेषज्ञ डाक्टरले स्थानीय स्तरमा रहेका स्वास्थ्यचौकीसँग भएका स्रोत–साधन तथा जनशक्तिलाई प्रयोग गरेर नागरिकलाई विशेषज्ञसहितको स्वास्थ्य सेवा दिनु नै टेलिमेडिसिन सेवा हो।’

यसले बिरामीलाई फाइदा त पुग्छ नै, यसका साथै स्वास्थ्यचौकीमा रहेका जनशक्तिलाई थप तालिम तथा अनुभव र विशेषज्ञ डाक्टरलाई थप अध्ययनको मौका मिल्ने उनको धारणा छ।

कर्णालीको विकासमा ‘सिस्टम’ दोषी भएको धारणा राख्ने उनी राजनीतिक वातावरणभन्दा समाज परिवर्तनमा आफ्नो रुचि भएको जनाउँछन्। ‘समाजसेवासँगै राजीतिमा जाने कि?’, भन्ने प्रश्नमा उनले भने, ‘सिस्टम गलत छ। परिवर्तनका लागि राजनीतिमा लाग्नुपर्छ भन्ने छैन। आफू भएको स्थानबाट समाजलाई सकारात्मक उर्जा दिन सके परिवर्तन सम्भव छ। समाजसेवासँगै राजनीतिमा जान्छु जस्तो लाग्दैन मलाई।’

Next Post

किर्ते कागजपत्रबाट १५ लाखको अनियमितता

२०७७ श्रावण ८, बिहीबार १०:२२
कालीकोटको नरहरिनाथ गाउँपालिका-८ मा किर्ते कागजपत्र बनाएर १५ लाख रुपैयाँको अनियमितता गरेको पाइएको छ। वडामा बाटो निर्माण, खानेपानी योजना मर्मतसम्भारलगायत सवारीसाधन खरिदका लागि किर्ते कागजपत्र बनाई अनियमितता गरेको पाइएको हो । नरहरिनाथ गाउँपालिका-८ वडा सदस्य रमेश विष्टले भने, ‘हामीलाई जानकारी नै नदिई किर्ते माइन्यूटका आधारमा रकम हिनामिना गरिएको रहेछ।’ वडा […]

सम्बन्धित समाचार