आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी हुने

  ।   २०७७ मंसिर २८, आईतवार ०७:०५

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने हुनुभएको छ।

यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित हुनु भएन। उहाँले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गर्नुभएको थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत उहाँले पत्रमा उल्लेख गर्नुभएको थियो।

स्थायी कमिटी बैठकको एजेन्डा पार्टीमा देखिएका समस्याबारे छलफल गर्ने भन्ने तय भएपछि प्रधानमन्त्री पनि सहभागी हुने उहाँ निकट स्रोतले जनाएको छ ।

‘स्थायी कमिटीका एजेन्डा कुनै पनि प्रस्तावमा छलफल गर्ने भन्ने छैन। सबै प्रस्ताव व्यक्तिगत रूपमा प्रस्तुत हुनेछन्’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘आइतबारको बैठक बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्रीको स्वास्थ्यको दृष्टिकोणले धुम्बाराहीमा बैठक बस्न उपयुक्त छैन भनेर चिकित्सकले सुझाव दिएका छन्। प्रधानमन्त्री सहभागी हुने भएर नै बालुवाटारमा बैठक बस्न लागेको हो।’

प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर एक नेताले पनि प्रधानमन्त्री बैठकमा सहभागी हुने जानकारी आफूले पाएको बताउनुभयो।

‘प्रधानमन्त्री बैठकमा सहभागी हुने भन्ने सुनेको छु। उहाँ निकटका केही नेताहरू अझै पनि रोक्ने पक्षमा छन्।तर धेरै नेता बैठकमा जानुपर्ने पक्षमा छन्,’ ती नेताले भन्नुभयो, ‘प्रधानमन्त्री बैठकमा सहभागी नहुँदासम्म उहाँको भर छैन। उहाँ बैठकमा सहभागी नभए पनि भोलिको बैठक हुन्छ।’

गत आइतबार स्थायी कमिटी बैठक एक साता स्थगित हुँदा सहमतिका लागि प्रयास गर्ने भनिएको थियो। प्रधानमन्त्री ओली पक्षधर नेताहरूले सहमतिका लागि १० दिन समय मागेका थिए।

यो बीचमा सहमतिका लागि गम्भीर रूपमा छलफल हुन सकेन। एकपटक मात्रै दुई अध्यक्षको भेटघाट भयो भने प्रधानमन्त्री निकट नेताहरूसँग प्रचण्डको सामान्य छलफल भएको छ।

पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डलाई भेटेका छन् भने लुम्बिनी प्रदेश मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेल शनिबार प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो। स्रोतका अनुसार प्रचण्ड र पोखरेलबीच केहीबेर मात्रै छलफल भएको थियो।

आइतबार बिहान प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटघाट हुने बताइएको छ।

यसअघि दुई अध्यक्षबीच विवाद बढ्दा दोस्रो पुस्ताका नेताहरू सक्रिय हुने गरेका थिए। यसपटक भने उनीहरूको पनि गतिविधि देखिएको छैन। सेतोपाटी

Next Post

नेपालगन्ज उद्योग वाणिज्य संघ : भण्डारी र पौडेललाई स्वागत

२०७७ मंसिर २८, आईतवार ०७:०५
योगेश पाण्डे नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज भन्सार कार्यालय प्रमुख जय बहादुर भण्डारी र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत शरद चन्द्र पौडेलसंग आईतवार परिचायत्मक भेटघाट एवं स्वागत कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भन्सार एवं करका समस्या समाधानका समसामयिक विषयमा छलफल भएको थियो । संघका अध्यक्ष अब्दुल […]