क्षुद्रग्रहको चट्टान ल्याएको जापानी अन्तरिक्ष यानको अङ्ग अस्ट्रेलियामा भेटियो

  ।   २०७७ मंसिर २१, आईतवार १४:४८

संवाददाता  ।
एउटा खोजी टोलीले अस्ट्रेलियाको मरुभूमीमा क्षुद्रग्रहबाट पहिलोपटक उल्लेखनीय मात्रामा चट्टान ल्याएको अन्तरिक्ष यानको टुक्रा भेट्टाएको छ ।

ड्यूगु नामक क्षुद्रग्रहबाट सङ्कलन गरिएको चट्टानको नमुना बोकेको भाग दक्षिण अस्ट्रेलियामा खसेको थियो । ती नमुना जापानी अन्तरिक्ष यान हायाबुसा २ ले ड्यूगुबाट सङ्कलन गरेको थियो ।

सो यानले एक वर्ष सो क्षुद्रग्रहको अध्ययन गरेको थियो । चट्टानको नमुना बोकेको भाग पछि यानबाट छुट्टिएर पृथ्वीतर्फ झारिएको थियो । शनिवार सो भाग पृथ्वीमा प्रवेश गर्दा आगोको गोला जस्तो देखिएको तस्बिर खिचिएको थियो ।

प्रतिसेकेन्ड ११ किलोमिटर गतिमा झरेको सो भागको गतिलाई कम गर्न प्यारासुट प्रयोग गरिएको थियो । त्यसपछि सो भागले आफ्नो स्थानका बारेमा तथ्याङ्क प्रवाह गर्न थालेको थियो ।

सो भाग अस्टेलियाको सेनाको नियन्त्रणमा रहेको विशाल वूमेरा क्षेत्रमा अवतरण गरेको थियो । सो अवतरणको स्थान पत्ता लागेपछि हेलिकप्टरबाट त्यसलाई खोजिएको थियो ।

भेट्टिएको भागलाई अस्ट्रेलियामा निरीक्षण गरेपछि जापान पठाइएको थियो । सो टुक्रा १६ किलोको भएको र त्यसलाई जापानी अन्तरिक्ष एजेन्सीले अध्ययन तथा भण्डारण गर्नेछ ।

हायाबुसा २ ले क्षुद्रग्रहबाट एक सय मिलिग्रामभन्दा बढी नमूना सङ्कलन गर्ने अपेक्षा गरिएको थियो ।

क्वीन्स विश्वविद्यालयका प्राध्यापक एलान फिट्जसिमोन्सले सो नमुनाले ’हाम्रो सौर्य प्रणालीको इतिहासको बारेमा मात्रै नभई त्यो क्षुद्रग्रहको बारेमा पनि धेरै कुरा बताउने’ बताउनुभयो ।

क्षुद्रग्रहहरू सौर्य प्रणाली बन्दा बाँकी रहेका साना निर्माण सामग्री जस्तै मानिन्छन । तिनमा पृथ्वीजस्ता कुनै ग्रहमा समाहित हुन नसकेका सामग्री रहेको मानिन्छ ।

“ड्यूगुजस्ता क्षुद्रग्रहका नमुना हाम्रो क्षेत्रको अध्ययनका लागि उत्साहजनक कुरा हो ।

ड्यूगु एकदमै पुराना चट्टानले बनेको र यसले हामीलाई सौर्य प्रणाली कसरी बन्यो भन्ने कुराको जानकारी दिनेछ,“ लन्डनको न्याचुरल हिस्ट्री म्युजियमकी प्राध्यापक सारा रसेलले बताउनुभयो ।

बीबीसी नेपालीबाट

Next Post

अगाडि घरका आहा... ओहो... भन्ने खालका तला, पछाडि नाक थुन्नु पर्ने बाध्यता

२०७७ मंसिर २१, आईतवार १४:४८
यी फोटोहरु नेपालगंज २ न्युरोड भानुभक्त चोक पश्चिमतिरका हुन । अगाडि घरका आहा… ओहो… भन्ने खालका तला थपिने क्रम रोकीएको छैन । पछाडि तिरको हालत भने यस्तो छ । घरबारी टोल र न्युरोड जोड्ने सडक छेउ पुगेकाहरु मानिसहरु नाक थुन्दै आउजाउ गर्छन । तर यो नालाको सरसफाईंमा कसैको ध्यान पुगेको […]