एजेन्सी ।
भारतीय मिडियाको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला स्वतन्त्र मिडियाको निधन भएको भन्दै समवेदना अर्थात् शोकसन्देश प्रकाशित भएको छ ।
भारतीय अंग्रेजी दैनिक द हिन्दुको आजको संस्करणमा भारतमा स्वतन्त्र मिडियाको अवसान भएको भन्दै शोक सन्देशको छापिएको हो । विगत केही वर्षयता भारतीय मिडियामाथि स्वतन्त्र पहिचान गुमाउँदै सत्तापक्षको पक्षपोषण गरेको आरोप लाग्दै आएको छ ।
आमनागरिकका मुद्दालाई भन्दै पनि कुनै निश्चित उद्देश्य र स्वार्थबाट प्रेरित भएर समाचारहरु संप्रेषण गरेको आरोप पनि स्वतन्त्र अलोचकहरुले लगाउने गरेका छन् । केहीले त अनौपचारिक संकटकाल समेत भन्ने गरेका छन् ।
विशेषगरी भारतीय टीभी च्यानलको भूमिकाप्रति प्रश्न उठ्ने गरेको छ । बलिउडका कलाकार सुशान्तसिंह राजपुतको ‘आत्महत्या’ प्रकरणपछि भारतीय टीभी च्यानलहरु थप आलोचित बनेका छन् ।
आज नै अम्मु कन्नाम पिल्लीले समाचार संस्था एएफपीमा एक जना बलिउड कलाकारको मृत्युपछि भारतीय मिडियाको भूमिकाबारे चर्चा गर्नुभएको छ ।
उहाँले भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको र चीनसँगको सीमामा तनाव हुँदा पनि भारतीय मिडियाले ती विषयलाई पन्छाएर सुशान्तको मृत्यु कसरी भयो भन्ने विषय खोतल्न कम्मर कसेर लागेको अम्मुले बताउनुभएको छ ।
सुशान्त लागुपदार्थ दुब्र्यसनीमा थिएनन् भन्ने ठोकुवा गर्ने र उहाँकी प्रेमिका रिया चक्रवर्ती दोषी नै हुन् झैं गरी भारतीय सञ्चारमाध्यमले सामग्री प्रकाशन प्रसारण गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
सुशान्तसिंह मृत्यु प्रकरणमा भारतका तीन प्रमुख जाँच एजेन्सीले अनुसन्धान गरिरहेको भए पनि केही सञ्चारमाध्यमले भने ’मिडिया ट्रायल’ नै चलाइरहेका छन् ।
आज प्रकाशित विज्ञापनलाई हाल भारतीय मिडियामा देखिएको तिनै बेथिति र विसंगति विरुद्धको प्रहारका रुपमा हेरिएको छ ।
वर्गीकृत विज्ञापन अन्तर्गत छापिएको उक्त शोक सन्देशमा सांकेतिक रुपमा ‘स्वतन्त्रताकी छोरी एवं सत्यकी पत्नी मिडियाको निधन भएकोमा परिवार तथा मित्रको तर्फबाट समवेदना प्रकट’ गरिएको छ ।
उक्त विज्ञापन शिक्षा, अर्थतन्त्र, नीति र राजनीतिमा चासो राख्ने कार्तिक सहनीले छपाउनुभएको हो । भारतीय अनलाइनहरुका अनुसार दिल्लीको स्टेफन कलेजका पूर्व विद्यार्थी सहनी पब्लिक पोलिसीमा मास्टर्स गर्न हार्वर्ड जाने तयारीमा हुनुहुन्छ ।
‘अचम्मित, अलमलमा छु तर पनि प्रकाशित गरेकोमा हिन्दुप्रति आभारी छु,’ कार्तिकले ट्विटमा भन्नुभएको छ । करिब ४५ वर्षअघि लोकतन्त्रको निधन भएको भन्दै यस्तै किसिमको मिडियामार्फत् समवेदना प्रकट गरिएको थियो ।
सन् १९७५ को जुन २८ मा पनि यस्तै किसिमको विज्ञापन छापिएको थियो । भारतीय अनलाइनहरुका अनुसार तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएपछि २६ वर्षीय अशोक महादेवनले टाइम्स अफ इन्डियाको बम्बई संस्करणमा प्रजातन्त्रको २८ जुनमा निधन भएको भन्दै समवेदना छपाउनुभएको थियो ।
गान्धीले २५ जुन मध्यरातमा संकटकाल घोषणा गर्नुभएको थियो । संकटकाल लागेपछि सरकारले मिडियामाथि अकुंश लगाइएको थियो । संकटकालको विरोधमा त्यस्तो विज्ञापन छपाउने महादेवनपछि गएर चर्चित म्यागजिन रिडर्स डाइजेस्टको सम्पादक बन्न सफल हुनुभयो ।
इकान्तिपुरबाट