सोसल मिडिया : नियमन गर्ने कि सचेत बन्ने ?

  ।   २०७९ फाल्गुन १२, शुक्रबार ११:३५

समय परिवर्तनशिल छ, र त्यही गतिमा विश्व पनि परिवर्तन भईरहेको छ । परिवर्तन सगै प्रविधिको कुरा गर्दा इन्टरनेटको तिब्र विस्तारले सोसल मीडिया (सामाजिक सञ्जाल) का प्रयोगकर्ता पनि दिनानुदिन थपिदै गएका छन ।

टेलिफोनको विल, विद्युतको विल, खानेपानीको विल जस्तै अब इन्टरनेटको विल पनि नियमित तिर्नु पर्ने, प्राय : सबै घरपरिवारको बाध्यता भइसक्यो । मेरो अनुभवमा करिब १२ बर्षअघि फोन गर्नलाई मात्र मोबाइल किन्नेहरु भेटिन्थे । तर आज फोन सगैं इन्टरनेट चलाउन मोबाइल किन्नेहरुको जमात बढीराछ । इन्टरनेटले हाम्रो दैनिक जनजीवनमा यति छिटो र सहजै तिब्र गतिमा प्रभुत्व जमाउन सफल भएको देख्दा लाग्छ, अबको १२ बर्षपछि एकै घरका परिवार भित्रै पनि एकले अर्कोलाई हाल खबर बुझ्ने, सोध्ने फुर्सद पनि हुदैन की होला, भन्ने चिन्ता थपिदै छ ।

नेपाल मीडिया सर्वे २०२२ को एउटा रिपोर्टलाई आधार मान्ने हो पनि सामाजिक सञ्जालको प्रयोगले रेडियो, टिभी, छापाखानालाई अझै पछाडि पारेको देखिन्छ । सेयरकाष्ट इनिसियटिभ नेपालले १८ बर्षभन्दा माथिका ५ हजार ५ सय ८२ उत्तरदाता बीच आमने–सामने अन्तवार्ता गरी सर्वेक्षण गरेको थियो ।

यद्धपी नकारामत्क सगैं सामाजिक सञ्जालका केही सकारात्मक पक्ष पनि छन । त्यसकारण अब सोसल मीडिया (सामाजिक सञ्जाल) लाई राम्ररी नबुझी, नसिकी, नपढी सुखै छैन ।

हिजोआज सोसल मीडिया (सामाजिक सञ्जाल) मा आउने बिषयबस्तु छिनभरमै चर्चा परिचर्चाको सवाल बन्छन्, । चाहे त्यो फेसबुक, ट्विटर, इन्स्ट्राग्राम, टिकटक, भाइबर, लिंकेडीन, वाट्सएफ, युट्टुव, स्नापच्याट जस्ता गनी नसकिने सोसीयल नेटवर्क छन । जो इन्टरनेट प्रविधिको मद्दतले सहजै चलाउन सकिन्छ । यि सोसीयल नेटवर्कमा जोडिन, न कुनै लाइसेन्स (अनुमति पत्र) नै लिनुपर्छ । न त कुनै निश्चित शैक्षिक योग्यता, उमेर नै चाहिन्छ । मात्र एउटा मोबाइल नम्बर, इन्टरनेटकै भरमा यहाँ उल्लेखित सोसल मीडिया (सामाजिक सञ्जाल) सहित अन्य धेरै सोसीयल नेटवर्कमा सहजै जोड्न सकिन्छ ।

सबै सोसीयल नेटर्वकका आ–आफनै किसिमका नीति नियम त छन । तर सबैले उपयोगीतालाई बुझेर, सिकेर, पढेर सोसीयल नेटवर्कमा जोडिएका भने हुदैनन । त्यसकारण मनमस्तिष्कले जे सोच्यो, जस्तो मनमा लाग्यो, त्यस्तै क्रियाकलाप, अभिब्यक्ति, फोटो, भिडियो लगायतका डिजिटल सामाग्री सम्प्रेषण (प्रकाशित) गरिरहेको देखिन्छ ।

हाम्रो गाउँ–घरतिर एउटा भनाई छ, ‘भर्खर–भर्खरैको जोगीले धेरै खरानी घस्छ,’ हिजो आजका सामाजिक सञ्जाल प्रयोगकर्ताको आनीबानीलाई हेर्दा त्यसै लाग्छ । लाइक, कम्मेन्ट, सेयर गर्ने बानी पनि असाध्यै केटाकेटी पारा (बालबच्चा) को जस्तो । यसो…. विचार गर्दा, सोसल मीडिया (सामाजिक सञ्जाल) मा आम मानिसहरुले आफुलाई एकदमै स्वतन्त्र महसुस गर्दा रहेछन ।

सोसल मीडिया (सामाजिक सञ्जाल) लाई अहिले मानिसहरुको अभिब्यक्ति स्वतन्त्रताको अधिकार सँग जोडेर हेर्न पनि थालिएको छ । त्यसैकारण पनि सोसल मीडिया (सामाजिक सामाजिक) लाई नियमन गर्ने वा नगर्ने भनेर नेपाल सहितका विभिन्न मुलुकहरुमा तिब्र बहस, छलफल चलिराखेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत रुना महर्जन भन्नुहुन्छ्, ‘सोसल मीडियालाई नियमन भन्दा सचेत गर्नुपर्छ ।’ पत्रकार तथा अनुसन्धानकर्ता रविराज बरालको भनाई भने अलि फरक छ । उहाँ भन्नुहुन्छ्, ‘नियमन के हो ? जस्तो की ब्यापार हो भने ठिक छ । तर कसले के गर्यो ? के लेख्यो ? भनेर निगरानी गर्नुहुन्छ भने अभिब्यक्ति स्वतन्त्रता हनन गर्नु हो ।’

सूचना र प्रविधिको ब्यवस्थापनलाई लिएर अनेकन किसिमका चर्चा भईरहेका छन । तर एक ब्यक्ति वा निकायको पहलले मात्रै डीजिटल राइटलाई सुरक्षित गर्न असम्भव छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्मा भने मीडिया सूचना साक्षरताको यथेष्ट परिभाषा आए शैक्षिक सामाग्रीमा सुधार गरी पाठ्यक्रममा समावेश गर्न सकिने बताउनुहुन्छ्, ।

मीडिया सूचना, साक्षरता सवालमा क्रियाशिल इन्टरनेशनल युथ मीडिया समिटका अध्यक्ष इभेल्यान सेयुवर्ट भन्नुहुन्छ्, ‘सूचनाको महामारीले त्रास र क्रोध पैदा गर्छ । र हामीलाई एक अर्कोको विरोधी बनाउँछ । नोवेल पीस प्राइजका बिजेता मारिया रेसाका भनाई उदृत गर्दै उहाँ भन्नुहुन्छ्, मीडिया साक्षरताले जीन्दगी नै बचाउँछ । र यो गणतन्त्र, दिगो शान्तिका लागी अपरिहार्य छ । कतिपय अधिनायकवादी शासकहरुले सोसल मीडियालाई हतियार जसरी प्रयोग गरिरहेका छन । किन भने एउटा झुठलाई बराम्बार दोहोराईयो भने त्यो तथ्य बन्न जान्छ । र टेक्नोलोजीले त्यसलाई सत्यको ताज पहिराईदिन्छ । र वास्तविक सत्य कता–कता भुईँमा गाडिएर जान्छ । र यो गणतन्त्रको लागी ठुलो समस्या हो । तसर्थ मीडिया र सूचना साक्षरताका उपकरणहरु प्रयोग गरी गणतन्त्रका रक्षक, सुप्पर हिरो बन्न आग्रह गर्दछु ।’

एकै बुझाई र बिज्ञको धारणा :

सोसल मीडिया (सामाजिक सञ्जाल) र अन्य सञ्चार माध्यम जस्तै पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन पनि एउटै हुन भन्ने धेरै मानिसहरुको बुझाई रहेको पाईन्छ ।

नेपालमा सम्भवत : पहिलो पटक युनेस्को नेपाल र इन्टरनेशनल युथ मिडिया समिट सँगको सहकार्यमा चितवन, २३–२४ मंसिर २०७९ मा सम्पन्न ‘सूचना महामारीको सामना गरौं’ सञ्चार तथा सूचना साक्षरता सम्बन्धी राष्ट्रिय सम्मेलनमा पनि सोसल मीडिया र अन्य मीडियाका बारेमा सर्वपक्षिय छलफल र बहस भयो । जहाँ मैले पनि सहभागी हुने अवसर प्राप्त गरेको थिए ।

मीडिया सूचना साक्षरताका विभिन्न सन्र्दभमा केन्द्रित बहसले अब निर्माण हुने पाठ्यक्रमहरुमा ब्यवहारिक ज्ञान उपलब्ध हुने खालका शैक्षिक सामाग्रीहरु निर्माण गर्ने र आमसञ्चार तथा पत्रकारिकता बिषयमा पाठ्यक्रमलाई केही सुधार गरी लैजानुपर्नेमा जोड दिईएको थियो ।

अब यसले एक तहको नीतिगत बहस त सिर्जना गरिदिएको छ । मीडिया बुझाई बारे सञ्चारिका समूहका पूर्व अध्यक्ष नितु पण्डितको भनाईमा आधिकारिक रुपमा दर्ता भएका सञ्चार माध्यम नै मीडिया हुन भने आधिकारिक रुपमा दर्ता नभएका सोसल मीडिया हुन ।

सञ्चारमाध्यमहरुको नियमक निकाय प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत भन्नुहुन्छ्, ‘हामी सबैभन्दा पहिला माध्यम मात्र होस अथवा सञ्चार माध्यम सदुपयोग गर्ने तर्फ लागौं । सदुपयोग गर्यौं भने हामीले अपेक्षा गरेको र साँच्चीकै देशको विकास, समृद्धि हुन्छ । दुरुपयोग गर्यांै भने हामी आफै चुर्लुम्मै डुब्छौं । अलिकति हामी सोसल मीडिया र मीडियामा रनभुल्लमा छौं जस्तो लाग्छ । सोसल मीडियामा आएका गालीलाई पत्रकारिताकै गाली भनेर बुझ्न अलि भएन । हामी प्रयोगकर्ता, उपभोक्ताले बुझ्न पर्यो । सोसल मीडियाको ब्यवस्थापन बारे राज्य, र सरोकारवाला सबै निकायको चासो हुनुपर्छ, पत्रकारिताको मात्र नभई अब सोसल मीडियाको पनि सर्वमान्य आचारसंहिता हुनुपर्छ, ताकी आम नागरिक सबैले थाहा पाउन ।’

सूचनाले विभिन्न उमेर समूहलाई कसरी प्रभाव पार्छ, भन्ने बिषयलाई लिएर युनिसेफ र चाइल्ड सेभ नेटले सन २०२० मा गरेको एउटा सर्भे रिपोर्ट अनुसार ८३ प्रतिशत किशोरकिशोरी, युवाजवानहरुले दैनिक ४ घण्टा भन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेको पाईएको कार्यक्रम अधिकृत प्रिति महर्जनले जानकारी दिनुभयो । जुन कोभिड–१९ अघि दैनिक ४ घण्टा भन्दा बढी इन्टरनेट चलाउने दर ४६ प्रतिशत मात्र रहेको थियो ।

युनेस्कोका नेपाल प्रतिनिधि माइकल क्ररोप्ट भन्नुहुन्छ्, ‘अब मोबाइल चलाउनु भनेको, मोबाइल मात्र नचलाएर संसारलाई बुझ्ने साधान पनि यही मोबाइल भएकाले मीडिया सूचना, साक्षरतालाई हामीले बुझ्नुपर्ने हुन्छ । मीडिया सूचना साक्षरतालाई राम्ररी बुझ्नका लागी हामी बहुसरोकारवाला एक भएर काम गर्नुपर्ने हुन्छ । मीडिया सूचना साक्षरताका अवसर सगैं चुनौति पनि छन । चुनौतिलाई हामीले अवसरमा बद्ल्न सक्नुपर्छ ।’

नबुझी, नसिकी, नपढी सुखै छैन :

सोसल मीडिया चर्हादै गर्दा छिनभरमै केही डरलाग्दा सूचना पनि भेटिन्छन्, मेरो सोसल साइट ह्याग भयो । अरु कसैले चलाईरहेको छ । मेरो चरित्र हत्या गरियो । सोसल मीडियामा आएर भन्नु, नभन्नु भन्यो । यि र यस्तै–यस्तै धेरै । हो पक्कै पनि सोसल मीडिया (सामाजिक सञ्जाल) लाई राम्ररी नबुझ्दा, प्रयोग गर्ने तरिका नसिक्दा, सोसल साइटमा आएका सूचना, जानकारी राम्ररी नपढ्दा, फोटो, भिडियो नहेरी लाइक, कम्मेन्ट, सेयर, ट्याग गर्दा जुनसुकै बेला पनि डिजिटल दुर्घटनामा पर्ने जोखिम रहन्छ ।

सूचना प्रविधिको द्रुत विकास र बढ्दो प्रयोगसंगै अपराधिक क्रियाकलापमा समेत यसको दुरुपयोगका कारण अपराधका नयाँ–नयाँ शैली र प्रवृतिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ ।

यस्ता चुनौतीहरुको सामना गरी वर्तमान र आगामी दिनमा प्रविधिको प्रयोग भई घट्न सक्ने अपराधहरुको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रहरी भित्र रहेका संयन्त्रहरुलाई समयानुकूल परिमार्जन गरी थप सुदृढ बनाउने क्रममा साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्नका लागि नेपाल सरकारको २०७५-०२-२७ गतेको निर्णय बमोजिम प्रहरी प्रधान कार्यालय अन्तर्गत, साइबर ब्यूरोको स्थापना गरिएको छ ।

तत्काल प्रहरी महानिरीक्षकद्वारा साइबर ब्यूरो कार्य संचालन कार्यादेश २०७५ जारी भई कार्य संचालन हुँदै आएकोमा २०७७-०६-१९ गते नेपाल राजपत्रमा प्रहरी नियमावली २०७१ को आठौं संशोधन भई साइबर ब्यूरो सम्बन्धी ब्यवस्था भएको हुँदा सोही बमोजिम कार्य संचालन हुँदै आएको नेपाल प्रहरीले आफनो वेवसाइडमा विवरण उल्लेख गरेको छ ।

त्यसकारण सबैभन्दा महत्वपूर्ण कुरा भनेको अब आफनो नामको सिमकार्ड भएको मोबाइल नम्बर मात्र प्रयोग गर्ने । जुन मोबाइल नम्बरले तपाई र मलाई सोसल मीडिया (सामाजिक सञ्जाल) मा सहजै जोड्न सहयोग गर्छ । र अरुलाई आफनो नामको सिमकार्ड रहेको मोबाइल नम्बर प्रयोग गर्न नदिने । सोसल मीडिया (सामाजिक सञ्जाल) मा धेरै समय नबिताउने ।

आफनो सोसीयल एकाउण्टहरु निश्चित मोबाइल, कम्युटर, ल्यावटपहरुमा मात्र खोल्ने । (अंक, अक्षर, अल्फाबेट, फिङ्गर, फेस) लगायतको प्रयोग गरी बलियो पासवर्ड सिर्जना गर्ने । सगैं पासवर्ड सुरक्षित गर्ने अन्य विभिन्न तरिकाहरु अपनाउने ।

यसैगरी आफ्नो नागरिकता, लाइसेन्स, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात विश्वासपूर्ण स्थान बाहेक फोटोकपी नगर्ने, नागरिकता, पासपोर्ट, एटीएम, लाइसेन्स, बैंक खाता सम्बन्धीका अति महत्वपूर्ण विवरणहरु सुरक्षित राख्ने बानीको विकास गर्न जरुरी छ ।

जुनसुकै बेला पनि तपाईको सोसल मीडिया (सामाजिक सञ्जाल) को एकाउण्ट अर्को कुनै ब्यक्ति, गिरोहको हातमा पुग्न सक्छ । फ्रेन्ड रिक्वेष्ट आउँदा, फ्रेन्ड रिक्वेष्ट पठाउँदा, म्यासेज वक्समा आएका विभिन्न खाले लिंकहरु खोल्दा एक दम ध्यान दिई राम्ररी बुझेर मात्र खोल्ने गर्नुपर्छ ।

तपाईकै चिनेजानेका वा अपरिचत ब्यक्तिको माध्यमबाट ह्याकर सोसल मीडिया (सामाजिक सञ्जालका चोर) हरु तपाईको एकाउण्ट सम्म पहुँच राख्न सक्छन । कति फेक एकाउण्ट, गलत, भ्रमपूर्ण सूचना, अफवाह हल्ला मात्रै हुन सक्छन ।

यदी तपाई वा तपाई सँग जोडिएको कुनै पनि साथिको सोसल मीडिया (सामाजिक सञ्जाल) का एकाउण्टहरु ह्याक भएको शंका लागे एकले अर्कोलाई खबर गरी सहयोग गर्नुहोस, ताकी तुरुन्त समाधानको विकल्पमा जान सकियोस ।

आफनो सोसल मीडिया (सामाजिक सञ्जाल) को खाता (एकाउण्ट) ह्याक, दुरुपयोग भईरहेको वा हुने शंका लागेमा तुरुन्त पासवर्ड परिवर्तन गर्ने, रिपोर्ट गर्ने, ब्लक गर्ने, खाता डीलेट गर्ने जस्ता विभिन्न उपायहरु पनि हुन्छन्, यि उपायहरु भनेका बिर्सनै नहुने र जानी राख्नु पर्ने अनिवार्य सोसल मीडियाका डीजिटल टुल्स एण्ड टेक्निक्स् हुन ।

पछिल्लो समय डिजिटल खोज र तथ्य जाँचमा आफ्नो ध्यान केन्द्रित गर्र्नुभएका नेपाल चेकका सम्पादक दीपक अधिकारी भन्नुहुन्छ्, ‘निरक्षरलाई जसरी नेपालमा साक्षर बनाउने उद्देश्यले प्रौढ शिक्षा सञ्चालन गरियो । त्यसै गरी मीडिया सूचना साक्षरतालाई पनि समुदायमा लैजादा राम्रै उपलब्धी हासिल गर्न सकिन्छ ।’

पहुँच, विश्लेषण र बुझाई, आलोचनात्मक मूल्यांकन, प्रयोग, सिर्जना र संलग्नता लाई जोडेर दीपक अधिकारी मीडिया सूचना साक्षरताका सीपहरु ५ क्षेत्रमा विभाजन गर्न सकिने बताउनुहुन्छ्, ।

उसो भए, मीडिया सूचना साक्षरता के हो त ? भन्दा डिजिटल संसारमा बाँच्न, सिक्न र काम गर्ने सीपहरू, डिजिटल जानकारी संकलन गर्न, व्यवस्थापन गर्न, पहुँच गर्न र प्रयोग गर्ने क्षमता, डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र मोबाइल उपकरणहरूमा जानकारी निगरानी र विश्लेषण गर्ने क्षमता, यसको उद्गम, सान्दर्भिकता, मूल्य र विश्वसनीयताको रूपमा जानकारीको मूल्याङ्कन गर्न एक महत्वपूर्ण दृष्टिकोण, सामाजिक, राजनीतिक र शैक्षिक उपकरणको रूपमा मिडियाको बुझाइ, लेखन (पाठ), छविहरू, भिडियोहरू र डिजाइनहरू उत्पादन गर्न डिजिटल उपकरणहरू प्रयोग गर्ने क्षमता नै मीडिया सूचना साक्षरता हो ।

लेखक खोज र मल्टिमीडिया पत्रकारितामा क्रियाशिल हुनुहुन्छ । यो लेख केही संपादित भएर प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन पुस, २०७९ । अङ्क ५५ मा समेत प्रकाशित भएको छ ।

Next Post

राँझा विमानस्थलमा आपतकालिन अभ्यास

२०७९ फाल्गुन १२, शुक्रबार ११:३५
संवाददाता, नेपालगंज । नेपालगंज नागरिक उड्डयन कार्यालय, राँझा बाँकेले आज आपतकालिन अभ्यास गरेको छ । विमानस्थलमा हुन सक्ने घटना, दुर्घटनालाई मध्येनजर गरी विमानस्थल सँग सम्बन्धित सरोकारवालाहरुको सहभागीतामा आपत्तकालिन अभ्यास गरिएको हो । आपत्तकालिन अभ्यासका क्रममा विमानस्थल परिसरमा धुँवाको मुसलो, दमकल, एम्बुलेन्स, सुरक्षाकर्मी, रेडक्रस, स्वास्थ्यकर्मी, सर्वसधारण लगायतको बाक्लो उपस्थिती रहेको थियो […]