प्रेम विश्वकर्मा, बर्दिया ।
बाढी पीडितका लागी निर्माण गरिएका घरहरुको शुक्रबार जिल्ला स्थित विभिन्न सरोकारवाला निकायहरुले अनुगमन, निरीक्षण गरेका छन । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित रामपुर टापु तथा कैलाशनगरका ४२ घरधुरीका लागी निर्माण गरिएका घरहरुको संयुक्त रुपमा अनुगमन, निरीक्षण गरिएको हो ।
अनुगमनमा जिल्ला समन्वय समिति बर्दियाका संयोजक सुर्य बहादुर विष्ट, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोला, गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव, उपप्रमुख सावित्रा गौतम, वडा अध्यक्ष सुरेश गौतम, प्रहरी प्रमुख (एसपी) विरेन्द्र शाही, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, महासंघका जिल्ला अध्यक्ष यादव आचार्य, गैससका अध्यक्ष प्रिज्मासिंह थारु, अन्य समाजसेवी बुद्धिजिवी लगायतको सहभागीता थियो ।
रामपुर टापु र कैलास नगरमा २०७१ सालका बाढी पीडितलाई लक्षित गरी कारितास नेपाल, गुलरिया नगरपालिका, जिल्ला विपद ब्यवस्थापन समितिको समन्वय, सहकार्यमा साढे ४ लाख रुपैयाँ भन्दा बढीको लागत र जनश्रमदानबाट भान्सा सहितको दुई कोठे घर निर्माण गरिएको छ ।
घर निर्माण कार्य करिब ९५ प्रतिशत सकिएकाले अब यसै चालु आर्थिक बर्ष भित्रमै बाढी पीडितलाई घरहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको अनुगमनका क्रममा जानकारी गराईएको छ ।
बाढीबाट पीडित स्थानीयहरु पक्की घर पाएपछि खुसी हुदै बर्दियाका तत्कालीन प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार सहित सहयोग गर्नुहुने सबैलाई बाढी पीडित स्थानीय र घर निर्माण उपभोक्ता समितिको तर्फबाट अध्यक्ष विमला विकले धन्यबाद दिनु भएको छ ।
#बाढी_पीडित #पक्की_घर