
संवाददाता, बाँके ।
धान उत्पादन लागी बाँके, बर्दिया उर्वरभुमि मानिन्छ । बर्खेधानको रोपाई बर्दियामा छिटो हुने गर्छ भने बाँकेमा ढिलो गरी हुने गर्दछ ।
बर्दियामा ५० हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएकोमा आज (बुधबार) सम्म ३ हजार ९ सय ३७ हेक्टर अर्थत ७.८३ प्रतिशत क्षेत्रफलमा रोपाई गरी सकिएको छ ।
एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय, बर्दियाका बागवानी विकास अधिकृत सन्तोष पाठकले गत बर्ष यही अवधि (असार पहिलो साता) सम्म २९ प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिएको जानकारी दिनुभयो ।
यसपालि पानी नपरेकोले गेरुवा, राजापुर लगायतका क्षेत्रमा मात्रै थोरै रोपाई भएको छ । यता बाँकेमा भने अहिले सम्म रोपाई शुरुको जानकारी कतैबाट नआएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि अर्थ विज्ञ जिवन केसीले बताउनुभयो ।
उहाँका अनुसार नहरको सिंचाई, खोला, मोटरबाट पानी तानेर केही ठाउँमा छिटै रोपाई गर्ने गरिएपनि समग्रमा बाँकेमा असार अन्तिमपछि नै रोपाई शुरु हुने गर्दछ ।
३६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएकोमा अहिले ब्याड तयार हुदै गरेको र पानी पनि नपरेकाले रोपाई शुरु हुन नसकेको कृषि ज्ञान केन्द्र बाँकेका कृषि अर्थ विज्ञ जिवन केसीले जानकारी दिनुभयो ।
गत बर्ष बाँके, बर्दियामा राम्रै धान उत्पादन भएपनि भित्रउने बेलामा आएको बाढीका कारण किसानले ठूलो नोक्सान ब्यर्होर्नु परेको थियो ।
#धान_रोपाई_बाँके_बर्दिया



