प्रेम विश्वकर्मा, बाँके
विश्वब्यापी रुपमा एक स्वास्थ्य अवधारणाको बहस चलिरहेकै बेला पशु कल्याणको क्षेत्रमा क्रियाशिल अनुसन्धानकर्तालाई सफलता हात परेको छ । लामो समयको अनुसन्धानबाट हाल सम्म कुनै पनि उपचार, खोप विकास नभएको ग्ल्यान्डर्स नामक हर्स डिजिज पत्ता लागेपछि पशु र मानवीय रुपमा हुन सक्ने संम्भावित क्षतिलाई कम गर्न मद्दत पुग्ने विश्वास लिईएको छ ।
लामो समयको अनुसन्धान पछि नेपालमा ग्ल्यान्डर्स नामक एउटा रोग (हर्स डिजिज) फेला परेको छ ।
ग्ल्यान्डर्स रोग घोडा, खच्चर र गधा लगायतका अश्व प्रजातिमा बुर्खोल्डेरिया म्यालाई नामक जीवाणुबाट लाग्ने र मान्छेमा समेत सर्न सक्ने (जुनोटिक) रोग भएको अनुसन्धानकर्ता, बिज्ञहरुले बताएका छन ।
पशु कल्याणको क्षेत्रमा क्रियाशिल एनिमल नेपाल (नेपालगंज) का वरिष्ठ पशु चिकित्सक अतिश कुमार यादवले भन्नुभयोे, ‘यसको अनुसन्धान सन २०१४ देखी अनुसन्धान शुरु भएको थियो, र २०२१ को अप्रिल महिनामा आइपुग्दा ग्ल्यान्डर्स रोग रहेको पुष्टि भयो । यस रोगका सम्बन्धमा थप अनुसन्धान अहिले चलिरहेको छ, नेपाल सरकारले पनि यस रोगका बारेमा धेरै चासो दिएको छ ।’
वरिष्ठ पशु चिकित्सक अतिश कुमार यादवका अनुसार यो अनुसन्धानलाई वल्र्ड अर्गनाइजेशन फर एनिमल हेल्थले पनि मान्यता दिइसकेको छ ।
बाँके जिल्ला वरपरका क्षेत्रमा यो रोग संक्रमणको स्थिती बारे भने, यादवले केही खुलाउनुभएन, मात्र यति भन्नुभयोे, ‘संक्रमण छ, कहाँ कति छ ? क्षति कति भएको छ ? भनेर विस्तृत अनुसन्धान हुदैछ ।’
कुनै प्रभावकारी उपचार र खोपको विकास नभएको ग्ल्यान्डर्स रोग एक पशुबाट अर्को पशुमा सजिलै छिटो सर्ने भएकाले घोडा, खच्चर, गधा लगायत अश्व प्रजातिमा आश्रित ब्यक्तिहरुले ठूलो आर्थिक क्षति ब्यवर्होर्नुपर्ने स्थिती हुन सक्ने आंकलन गरिएको छ ।
ग्ल्यान्डर्स रोगबारे सचेतना जगाउन र प्रचार प्रसार गर्न पशु सेवा विभागले एफ.ए.ओ.को प्राविधिक सहयोग, एनिमल नेपाल सँगको सौजन्यमा प्रकाशित गरेको केही जानकारी मुलक पुस्तिका विवरण अनुसार घोडा, खच्चरको हेरचाह गर्ने ब्यक्ति, घोडा ब्यापारी, तबेलामा काम गर्ने कामदार, घोडसवार, टाँगा चालक, पशु स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने प्राविधिक लगायत यो रोगको उच्च जोखिममा रहेका छन ।
खच्चर, गधामा यो रोग लागे उच्च ज्वरो आउने, नाकबाट सिंगान, आँखाबाट कचेरा निस्कने, सास फेर्न कठिनाई हुने र शरीरमा जीवाणुको अत्याधिक बृद्धि भई मृत्यु समेत हुन सक्छ ।
यस्तै घोडामा रोगको संक्रमण फैलिए ज्वरो बिराएर आइरहने, खोकी लाग्ने, श्वास–प्रश्वासमा कठिनाई हुने, नाकबाट बाक्लो सिंगान बगिरहने, रोगी पशु जिङग्रिङ्ग देखिने र दुब्लाउदै जाने, पछाडिको खुट्टाको मध्य जोर्नी सम्म सुन्निने, छाती, घाँटी र पछाडिको फिलामा गाँठागुँठी, गिर्खा तथा घाउहरु देखिने, छालामा गिर्खाहरु देखिने र क्रमशः निको हुदै तारा आकारको डाम बस्ने, गिर्खा फुट्दा संक्रामक पाकेको, पहँेलो-सेतो पिप निस्कने लगायतका लक्षणहरु देखिने गर्छन ।
यसैगरी मान्छेमा संक्रमण भए, ज्वरो आउने, काप्ने, पसिना आउने, टाउको दुख्ने, छाति दुख्ने, माँसपेशी दुख्ने तथा कडा हुने, नाकबाट पानी बग्ने, उज्यालोमा हेर्न गाहे भई आँखाबाट आँसु झर्ने संक्रमण हुने माध्यम अनुसार उच्च ज्वरो आउने, नाक तथा मुख वरिपरी घाउ हुने, लसीका ग्रन्थिहरु सुन्निने, छालामा फोकाहरु उठ्ने, निमोनिया हुने र कहिलेकहीँ मृत्यु समेत हुन सक्ने हुुन्छ ।
पशुहरुको लसपस, दानीपानी, भाँडाकुँडा, प्रदुषित खानेपानी ठाउँ, सामुहिक चरन क्षेत्र, कुपोषित वा कमजोर ब्यवस्थापनमा पालिएका जनावरबाट यो रोग पशुहरुमै सर्छ भने रोगी पशु, तिनबाट दुषित बस्तुहरुको सम्र्पक, रोगी पशुहरुको स्याहार सुसार, उपचार, हेरचाहबाट यो रोग मान्छेमा सर्ने गर्दछ ।
पशुहरुमा यस रोग विरुद्ध सामान्यता उपचार गर्न सिफारिस गरिदैन । किनकी संक्रमण मान्छे र अन्य जनावरमा समेत फैलिन सक्ने भएकाले संक्रमित पशुलाई मानवीय तरवरले नष्ट गर्नुपर्ने हुन्छ ।
तर मानिसमा रगत, थुक, पिसाव वा छालाको घाउको नमूना कल्चर गरी बुर्खोल्डेरिया म्यालाईको पहिचान गरेर, एग्लुटिनेशन परीक्षण गरेर, कम्प्लिमेन्ट फिक्सेशनको टेष्ट विधिबाट (विश्वस्त परीक्षण विधि), छातिको एक्सरे, दुबै फोक्सोमा निमोनिया, घाउ तथा गिर्खागिर्खीको पहिचान गरेर उपचार परामर्श सल्लाह दिईन्छ ।
यसमा स्ट्राङ्गल्स, लसिका ग्रन्थिको सुजन, बिफर, क्षयरोग र सिउडो क्षयरोग छुट्टाउनु पर्ने हुन्छ ।
पशु कल्याणको क्षेत्रमा क्रियाशिल एनिमल नेपाल (नेपालगंज) का वरिष्ठ पशु चिकित्सक अतिश कुमार यादवले भन्नुभयो, ‘हामीले ग्ल्यान्डर्स फेला पारेपछि नेपाल सरकार, प्रत्येक जिल्लाको पशु बिज्ञ केन्द्रहरुलाई सुचित गरिसकेका छौं, कसरी हुन्छ, यसको उन्मूलन तर्फ जानुपर्छ । कतिपय रोगहरु जनावरबाट मान्छेमा सर्छ ।
समुदायमा स्वस्थ जनावर छ भने मान्छेहरु पनि स्वस्थ हुन्छन्, जब सम्म जनावर स्वस्थ हुदैन्, तब सम्म मान्छेहरु स्वस्थ छु भनेर भन्न मिल्दैन । त्यही भएर वान हेल्थ (एक स्वास्थ्य) को अवधारणा नै स्वस्थ जनावर, स्वस्थ मानिस र स्वस्थ वातावरण हो, अनि मात्र तपाई, हामी आफुलाई सुरक्षित महसुस गर्न सक्छौं ।’
ग्ल्यान्डर्स रोग नियन्त्रणका लागी घोडा, खच्चर पालक ब्यक्ति, ईट्टा भट्टामा काम गर्ने कामदार, ढुवानी कर्ता, संम्बन्धित स्थानीय प्रशासन लगायत अन्य सरोकारवाला विभिन्न निकायको महत्वपुर्ण भूमिका हुने बिज्ञहरुको भनाई छ ।
बिज्ञहरु भन्छन्, वान हेल्थको कन्सेप्टलाई पुर्ण रुपमा कार्यन्वयन नगरी सुखै छैन । पशु चौपाय रोगी भए, समुदायमा मानिसहरु पनि रोगी हुने, र वातावरण पनि दुर्गन्धित हुने बिज्ञहरुको तर्क छ ।
#Horse #disease #Glanders #Nepal #animalNepal