पहिरोमा परी ४ को निधन, ६ अझैं बेपत्ता
कालीकोट । जिल्लाको तिलागुफा–१ नाग्ममा आइतबार बिहान आएको पहिरोले ४ घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ६ जना अझैं बेपत्ता छन्।
नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन भासिएर पहिरो जाँदा तिलागुफा–१ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किएका हुन्। घरभित्र पुरिएको अवस्थामा नाग्मा बजारमा व्यापार गर्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा, ५ वर्षका छोरा निराजन र डेढ महिनाका छोरा अक्कल शाहीको मृत्यु भएको छ।
घटनास्थलबाट जीवितै उद्धार गरिएका २ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले डोजर लगाएर पहिरो पन्छाउँदै बेपत्ताको खोजी गरिरहेको बताउनुभयो। खोजीमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना संलग्न छन्। नाग्म बजारमा मोबाइल नेटवर्क नहुँदा ढिलो गरी घटनाको जानकारी आएको उहाँले बताउनुभयो।
पहिरो गएको सूचना पाएपछि जुम्ला सदरमुकाम खलंगा र सदरमुकाम मान्मबाट उद्धार टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे बताउनुभयो। उहाँका अनुसार घरभित्र कति जना थिए भन्ने अझैं एकीन हुन सकेको छैन।
प्रहरीले जीवितै उद्धार गरेका अर्जुन हमाल र पुन्नी शाहीको अवस्था सामान्य रहेको छ। प्रहरीका अनुसार पहिरोमा पुरिएर घाइते भएकी पुन्नी शाही पतिसहित ३ छोराछोरीको मृत्यु भएकाले बेला–बेलामा बेहोस हुने गरेकी छिन्। प्रहरीले उनीबाट अन्य व्यक्तिबारे जानकारी लिइरहेको छ । कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्म तिलागुफा नगरपालिका, जुम्लाको हिमा र तिला गाउँपालिकाको व्यापारिक केन्द्र हो।
स्थानीय प्रशासनले भदौ २० गतेसम्म निषेधाज्ञा जारी गरेकाले बिहान पहिरो जाने बेला सबै घरभित्रै भएको हुनसक्ने स्थानीयबासीको भनाई छ। पहिरोका कारण कर्णाली राजमार्ग पनि अवरुद्ध छ।