काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आईसीयूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या ह्वात्तै बढेको छ।
काठमाडौं उपत्यका, प्रदेश नं. २ लगायत देशभर दिनप्रतिदिन कोरोना भाइरस संक्रमित बढ्ने क्रमसँगै गम्भीर र लक्षणसहितका बिरामीको संख्या बढ्न थालेको हो। गम्भीर खालका र लक्षण देखिएका बिरामीहरुलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएकाले सबैतिर मेडिकल सामग्रीहरुको अभाव समेत देखिन थालेको छ।
आइतबारसम्मको तथ्यांक अनुसार देशभर १ सय ६१ जना कोरोना संक्रमित बिरामीहरुको देशका विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो।
त्यसमध्ये १७ जना भेन्टिलेटरमा र १ सय ४४ जना संक्रमित आइसीयूमा रहेका छन्। प्रवक्ता गौतमका अनुसार आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिरहेका सबैभन्दा धेरै संक्रमितहरु बागमती प्रदेशमै रहेका छन्।
आइतबारसम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा ७० जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै, प्रदेश १ मा १७ जना आइसीयू र ३ जना भेन्टिलेटरमा रहेका छन्। प्रदेश २ मा ३८ जना र गण्डकी प्रदेशमा ३ जना आइसीयूमा रहेका छन्।
त्यस्तै प्रदेश ५ मा १६ जना आइसीयू र २ जना भेन्टिलेटरमा रहेको प्रवक्ता गौतमले बताउनुभयो। सबैभन्दा धेरै आइसीयू र भेन्टिलेटरमा उपचाररत बाग्मती प्रदेशमा छन् थोरै गण्डकी प्रदेशमा संक्रमित रहेका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिरहेका बिरामीहरु छैनन्। ( हल्करा न्युजबाट )