अध्यक्ष विपुल पोखरेल द्धारा महासंघको विधान अनुसार सदस्यता शुद्धिकरण गर्न निर्देशन

(१३ बुँदे नेपालगंज घोषणापत्र-२०७९) समेत हेर्नुहोस ।

  ।   २०७९ पुष २५, सोमबार १९:१९

संवाददाता, नेपालगंज

नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले महासंघको विधान अनुसार सदस्यता शुद्धिकरण गर्न निर्देशन दिनुभएको छ ।

शनिबार नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औं साधारण सभालाई सम्बोधन गर्नुहुर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, ‘शाखाबाट सदस्यता प्राप्त सगैं समाप्त पनि गर्न सकिन्छ । मीडियाको कन्टेण्ड अनुगमन गर्ने, प्रहरीले होइन प्रेस काउन्सिलले गर्नुपर्छ ।‘

प्रेम विश्वकर्मा सहित १४ जना पत्रकार पुरस्कृत :

रेडियो मर्निङ्ग स्टार ९० मेगाहर्जका समाचार प्रमुख प्रेम विश्वकर्माले ‘बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९’ प्राप्त गर्नुभएको छ ।

शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँके, १३ औं साधारण सभाको अवसर पारी पुरस्कार वितरण गरिएको हो । प्रेम विश्वकर्मा सगैं अन्य १३ जना पत्रकारलाई पनि एकै समारोहमा विभिन्न विधाका पुरस्कारहरु वितरण गरिएको छ ।

विवेक रेग्मी, सुविता थारुलाई क्रियाशील पत्रकारिता पुरस्कार, यदुराज मिश्र, आलम खानलाई राम आधार–रामप्यारी पत्रकारिता पुरस्कार, मिसन टुडे दैनिकलाई आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार, जी नेपाल टेलिभिजन, स्वास्थ्य पेज डटकमका विनोेद गौतमलाई पनि पुरस्कृत गरिएको छ ।

यस्तै रेजिना मल्ललाई रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कार, नन्दलाल शाहुलाई बेलमति शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कार, कृष्ण खनाललाई सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार, यादव आचार्य र कमल खत्रीलाई माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

५ हजार रुपैयाँ नगद, सम्मान पत्र समेत रहेका यि पुरस्कारहरु ४ बर्षपछि वितरण गरिएको हो । यस्तै नेपाल पत्रकार महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अलिको सम्मानमा स्थापना गरिएको ३ हजार राशीको लियाकत अली पत्रकारिता सम्मानबाट शाखाका पूर्वअध्यक्ष प्रेम केसीलाई नगद सहित पुरस्कृत गरिएको छ ।

पुरस्कार छनोट समितिका संयोजक एवम् नेपाल पत्रकार महासंघका पुर्वकेन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्यले पुरस्कार छनोटका क्रममा अपनाइएको विभिन्न मापदण्डबारे औल्याउँदै पुरस्कृत हुने ब्यक्तिको नाम घोषणा गर्नुभएको थियो । पुरस्कार वितरण सम्बन्धि कार्यको लागी एउटा छुट्टै छनौट समिति निर्माण गरिएको थियो ।

जसमा विभिन्न संगठनका प्रतिनिधि, महासंघका शाखा अध्यक्ष समेतको प्रतिनिधित्व रहेको थियो । साधारण सभामा अग्रज पत्रकार सम्मानबाट बासुदेव श्रेष्ठ, गणेश जिसी, नरेन्द्रजंग पिटर र पूर्णलाल चुकेलाई सम्मान गरिएको छ । सोही समारोहमा पुरस्कार र अक्षयकोष स्थापना गर्नमा योगदान पु¥याउनुभएका डाक्टर कौशल वर्मा, जीवन शर्मा, माधवराम वर्मा, सुशिला गौतम, गोपाल बैरागी, फत्तेबाल आँखा अस्पताल लगायतलाई सम्मान गरिएको छ ।

कोभिड–१९ को महामारीका क्रममा पत्रकारहरुको स्वास्थ्य उपचारमा निशुल्क स्वास्थ्य परामर्श दिई सहयोग गर्नुभएका डाक्टर सुवास योगीलाई पनि सम्मान गरिएको छ । पुरस्कृत हुने र सम्मान प्राप्त गर्ने सबैलाई नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेल, लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी लगायतले सम्मान गर्नुभएको छ ।

देशकै पहिलो शाखाको साधारण सभामा नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपाने, पत्रकार महासंघका पुर्वकेन्द्रिय सदस्य प्रेम केसी, प्रेस स्वतन्त्रता सेनानी नरेन्द्रजंग पिटर, पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष यादव आचार्य, महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, पुर्वअध्यक्ष रुद्र सुवेदी, नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह, खजुरा गाउँपालिका अध्यक्ष डम्बर बि.क, सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, बाँके जिल्ला प्रहरी प्रमुख सन्तोषसिंह राठौंर, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द पाण्डे, पत्रकार महासंघका लुम्बिनी प्रदेश सचिव शिव सुनार, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रगतिशिल पत्रकार संघ बाँकेका संयोजक तिलक गाउँले, प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली लगायत नेपाल पत्रकार महासंघ बाँके शाखाका सदस्य, शुभेक्छुकहरुको उपस्थिती रहेको थियो । साधारण सभामा सदस्यता शुद्धिकरण, पत्रकार आचारसहिंता पालन, नीजि क्षेत्रका सवालमा साझेदारी लगायतका बिषयहरु जोडतोडले उठेका थिए ।

यसैबीच, नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औं साधारणसभाबाट सचिव, कोषाध्यक्षको प्रतिवेदन पारित गर्दै १३ बुँदे नेपालगंज घोषणापत्र समेत जारी गरिएको छ । हेर्नुहोस घोषणा पत्र यस्तो छ ।

नेपालगन्ज घोषणापत्र–२०७९
नेपालगन्जमा २०७९ पुष २३ गते सम्पन्न नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औं साधारणसभा सचिव, कोषाध्यक्ष प्रतिवेदन पारित गर्दै यो घोषणापत्र जारी गर्दछ ।

१. पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप काम गर्न र पत्रकार आचार संहिता पूर्ण रुपमा पालना गरेर उच्च व्यवसायिक अभ्यास गर्न सबै पत्रकारहरुसँग आव्हान गर्दछ ।
२. पत्रकारलाई स्वतन्त्र र भयरहीत वातावरणमा समाचार संकलनको वातावरण बनाउन र पत्रकारको सुरक्षा ग्यारेन्टी गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
३. मोफसलका मिडियालाई संरक्षण गर्न समानुपातिक विज्ञापन उपलब्ध गराउन नेपाल सरकारसँग माग गर्दछ ।
४. पत्रिका, रेडियो र टेलिभिजनलाई जस्तै अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापनलगायतका सरकारी सेवा सुुविधाको व्यवस्था गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहसँग माग गर्दछ ।
५. जिल्लाका स्थानीय तहले टेण्डर र सूचना राष्ट्रिय मिडियामा मात्र प्रकाशित गर्दै आएकोमा स्थानीय मिडियालाई पनि अनिवार्य रुपमा त्यस्ता सूचना प्रकाशित गर्ने व्यवस्था गर्नका जोडदार रुपमा माग गर्दछ ।
६. पत्रकारिता पेशालाई समावेशी बनाउन महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यकलगायतलाई सहभागिता बृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न तीन तहकै सरकारसँग माग गर्दछ । साथै महिलाले मात्र सञ्चालन गरेका सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापनको रकममा थप २५ प्रतिशत रकम दिने भनिए पनि कार्यान्वयन नभएकोमा कार्यान्वयन गर्न नेपाल सरकारसँग साधारणसभा माग गर्दछ ।
७. संघीय, प्रदेश र स्थानीय सरकारले बनाउने सञ्चार नीति र कानुन प्रेस स्वतन्त्रता र मिडियामैत्री बनाउन जोडदार माग गर्दछ ।
८. पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न बाँकेका स्थानीय सरकारसँग जोडदार माग गर्दछ ।
९. पत्रकारिता पेशालाई मर्यादित र व्यवसायिक बनाउन नेपाल पत्रकार महासंघले सदस्यता शुद्धिकरणको अभियान सञ्चालन गर्न संयन्त्र बनाएर तत्काल काम गर्न बाँके शाखालाई निर्देशन दिन्छ ।
१०. नेपाल पत्रकार महासंघ बाँकेका पूर्वसभापति तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तको नाममा सडक र चोक नामाकरण गर्न नेपालगन्ज उपमहानगरपालिकाले प्रतिबद्धता जनाइसकेकाले कार्यान्वयन गर्न स्थानीय सरकारसँग माग गर्दछ । ११. श्रमजीवी पत्रकारलाई नेपाल सरकारले तोकेको न्यूनतम् पारिश्रमिक उपलब्ध गराउन सञ्चार माध्यमसँग माग गर्दछ ।
१२. बाँकेको आर्थिक समृद्धिकाको लागि ८ वटै स्थानीय तहमा भएका आर्थिक, सामाजिक, धार्मिक सहिष्णुता, पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न जिल्लामा कार्यरत पत्रकार र सञ्चार माध्यमसँग आग्रह गर्दछ ।
१३. नेपाल पत्रकार महासंघ बाँके शाखाको १३औं साधारणसभामा प्रमुख अथितिको रुपमा आउनु भएका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, स्थानीय तहका प्रमुख,पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, अग्रज पत्रकार, पत्रकार सम्बद्ध बिभिन्न संघसंगठनका प्रमुख सहित सम्पूर्ण अतिथीलाई धन्यवाद ज्ञापन गर्दै यो साधारणसभा पुरस्कृत एवं सम्मानित हुनुहुने सबैलाई हार्दिक बधाई सहित सहयोग गर्नुहुने सबै निकायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

कमल डाँगी
सचिव
मिति – २०७९-०९-२४

Next Post

पहिलो पटक बर्दियामा युवा लक्षित मीडिया सूचना, साक्षरता सम्बन्धि कार्यशाला

२०७९ पुष २५, सोमबार १९:१९
संवाददाता, बढैयाताल । ‘म सक्छु’ नामक परियोजना अन्र्तगत मीडिया सूचना, साक्षरता सम्बन्धि MIL : TEA TALK SIRES कार्यशाला आइतबार बर्दियाको बढैयाताल गाउँपालिका स्थित मैनापोखरमा सम्पन्न गरिएको छ । कार्यशालाको उद्दघाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले गर्नुभएको हो । बर्दियाका ८ वटै स्थानीय तहका युवाहरुको सहभागीता रहेको कार्यशालामा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी […]

सम्बन्धित शीर्षक