एकीकृत जाँच चौकी सञ्चालन अनिश्चित

  ।   २०८० फाल्गुन २०, आईतवार १८:११

सिराज खान

नेपालगन्ज । पश्चिम नेपालकै आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिएको नेपालगन्ज एकीकृत भन्सार जाँच चौकी (आईसिपी) को सञ्चालन अनिश्चित बनेको छ। गत जेठमा नेपाल र भारतका प्रधानमन्त्रीले ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरे पनि जाँच चौकी अझै सञ्चालनमा आउन नसकेको हो।

आईसिपी सञ्चालन कहिलेदेखि हुन्छ भन्ने निश्चित नभएको सङ्घीय आयोजना कार्यान्वयन इकाई बाँकेका प्रमुख विजयकेशर खनालले बताउनुभयो । आईसिपीभित्र निर्माण भएका भौतिक संरचना हस्तान्तरणको काम हुन नसकेकोले सञ्चालनमा ढिलाइ भएको उहाँको भनाइ छ।

आईसिपीको भारततर्फको सबै निर्माण कार्य पुरा भए पनि नेपालतर्फको निर्माणका केही काम अझै पुरा नभएकोले हस्तान्तरण र सञ्चालनमा ढिलाइ भइरहेको प्रमुख खनालले बताउनुभयो।

नेपाल र भारत सरकारबिच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी सञ्चालन हुन ढिलाइ हुँदा स्थानीय उद्योगी व्यवसायी निराश बनेका छन्।

हतारमा उद्घाटन भए पनि सञ्चालनमा नआउँदा उद्योगी, व्यवसायीले समस्या खेप्नु परिरहेको नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले बताउनुभयो। सोही प्रकारले नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले निकै लामो समयको प्रतीक्षापछि उद्घाटन गरिएको आईसिपी अझैपनि सञ्चालनमा नआउँदा उद्योगी व्यवसायी निराश बनेको बताउनुभयो।

आईसिपी निर्माणका लागि भारतको ‘राजदिप कन्स्ट्रक्सन कम्पनी’ ले १ अर्ब ४७ करोड भारतीय रुपियाँमा ठेक्का पाएको थियो। सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएकोमा उक्त कम्पनीले दुई वर्षभित्रमा सबै काम सम्पन्न गर्ने समय पाएको थियो। तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेको उक्त ठेकेदार कम्पनीले अहिलेसम्म दुई पटक म्याद थपिसकेको छ।

आईसिपी निर्माणका लागि नेपालकोतर्फबाट सहजीकरण गर्ने जिम्मा पाएको सङ्घीय आयोजना कार्यान्वयन इकाई कार्यालय बाँकेले भौतिक पूर्वाधारका ठुला काम सम्पन्न भएपनि नेटर्वकिङ, सिसी क्यामेरा जडान जस्ता काम बाँकी रहेकोले हस्तान्तरण हुन नसकेको जनाएको छ।

नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आईसिपी निर्माण गरिएको छ। कार्यालयका अनुसार दुई हजार २०० मिटर लम्बाई र ६० मिटर चौडाइमा छुट्टै आईसिपीका लागि ‘एप्रोज रोड’ निर्माण गरिएको छ।

आईसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैङ्क काउण्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ। माल सामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक सयौँको सङ्ख्यामा ट्रक, ट्याङ्कर तथा कन्टेनर आवत–जावत गर्छन्। समयमा आईसिपी सञ्चालन नहुँदा अहिलेसम्म सडकमै सवारी साधन रोकेर भन्सार जाँचपास गर्नुपर्ने बाध्यता छ। (गोरखापत्रबाट)

Next Post

सुखानी सहिदका परिवारसँग भेट, कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

२०८० फाल्गुन २०, आईतवार १८:११
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुखानी सहिदका परिवारसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्रीले सहिद सप्ताहका अवसरमा उहाँहरुलाई भेट गर्नुभएको हो । तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो […]