बाँकेमा कोरोना संक्रमण तथ्याङ्क विश्लेषण

लकडाउन खुलेपछि जिल्लाका सहरी क्षेत्रमा कोरोना संक्रमण र मृत्यु वृद्धि

  ।   २०७७ भाद्र १६, मंगलवार २०:०२

फोटो : कोरोनाबाट निधन भएका व्यक्तिको शव व्यवस्थापन गर्दै नेपाली सेनाको टोली । -बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर लिम्बु कुरुम्वाङको फेसबुकबाट  साभार 

११ भदौमा बाँके जिल्लामा नेपालगन्ज उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भयो । ३ भदौमा छातीमा समस्या भएर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना हुनुभएकी उहाँको दुबै फोक्सोमा निमोनिया भएको थियो ।

अहिल्लो दिन मात्र अर्थात १० भदौमा नेपालगन्ज उपमहानगरपालिका १ का ३७ वर्षका पुरुषको कोरोनाबाट मृत्यु भएको थियो । दुबै फोक्सोमा निमोनिया भएको उहाँको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा निधन भएको हो ।

उहाँ ८ भदौको बिहान १० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा छाती समस्या भएर भर्ना हुनुभएको थियो ।
१ भदौमा नेपालगन्ज उपमहानगरपालिका ५ का ६२ वर्षका पुरुषको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा निमोनियाका उपचारको क्रममा उहाँको मृत्यु भएको हो । ३० साउनमा कोरोनाको लक्षण देखिएपछि ३२ साउनमा उहाँ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना हुनुभएको थियो ।

२५ साउनमा कोहलपुर नगरपालिका २ की ७० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना हुनु भएकी ती महिलाको निमोनियाका अलावा सीबीए (रक्त सञ्चालन) को समस्या पनि थियो ।
बाँके जिल्लामा साउन २५ देखि भदौ ११ गतेसम्मका १९ दिनमा मात्र ४ जनाको ज्यान गयो । यी सबै सहरी क्षेत्रका हुन् । जिल्लामा यसअघि नरैनापुर र बैजनाथ गाउँपालिकाका एक एक जनाको मृत्यु भएको थियो ।

जिल्लामा कोरोनाबाट मृत्युको अवस्था विश्लेषण गर्दा ६ जनामध्ये ४ जना त शहरी क्षेत्रकै छन् । जुन कूल मृत्युको ६६.६६ प्रतिशत हुन आउँछ । मृत्युको आँकडाबाट पनि कोरोनाको शहरमा जोखिम आँकलन गर्न सकिन्छ ।

भदौ महिनाको दुई साता अर्थात १४ भदौसम्म मात्र जिल्लामा एक हजार २ संक्रमित पुगेका छन् । जसमध्ये २ साताको अवधिमा मात्र २ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् । जुन जिल्लाको अहिलेसम्मको कूल संक्रमणको २६.३४ प्रतिशत हो ।

भदौ महिनामा औसत १९ जनाका दरले नयाँ संक्रमित थपिएका छन् । जुन अधिकांश सहरी क्षेत्रकै हुन् । साउन महिनामा त्यो पनि लकडाउन खुलेपछि, जिल्लाको कूल कोरोना संक्रमणको ९५ प्रतिशत त शहरी क्षेत्रकै छ ।

साउन महिनामा जिल्लामा तीन सय ४९ जनामा कोरोना संक्रमण भएको थियो । जसमध्ये बन्दाबन्दी खुलेपछि (७ साउनदेखि साउन मसान्तसम्म) जिल्लामा दुई सय ९१ जनामा कोरोना पुष्टि भए ।

यही अवधिमा बाँकेका दुई सहर (नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका) मा दुई सय ७६ नयाँ व्यक्तिमा कोरोना र दुई जनाको मृत्यु भयो । अर्थात बन्दाबन्दी खुलेपछि साउन महिनामा जिल्लाको कूल कोरोना संक्रमणको ९४.८४ प्रतिशत सहरी क्षेत्रमा मात्र भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार साउन महिनामा नेपालगन्ज उपमहानगरपालिकामा एक सय ४४ (बन्दाबन्दीमा २), कोहलपुरमा ३१ (बन्दाबन्दीमा १) र नेपालगन्जमा कार्यालय रहेका सरकारी, गैरसरकारी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्था लगायतका क्षेत्रमा १ सय ५० जना गरी शहरमा मात्र तीन सय २५ जनामा कोरोना संक्रमण भयो ।

बन्दाबन्दी खुलेपछि शहरमा कोरोना जोखिम बढेको कुरा एक महिनाको अवधिमा २५ साउनमा कोहलपुर–२ की ७० वर्षीया महिला र १ भदौमा नेपालगन्ज–५ का ६२ वर्षका पुरुष गरी २ जनाको कोरोनाबाट मृत्यु भएको घटनाबाट पनि प्रष्ट हुुन्छ ।

यसअघि ४ जेठमा नरैनापुर गाउँपालिका ५ का २५ वर्षका पुरुष र १ असारमा बैजनाथ गाउँपालिका–६ की ४६ वर्षकी महिलाको कोरोनाबाट ज्यान गएको थियो ।

बाँकेमा कूल ८ स्थानीय तहमध्ये नेपालगन्ज र कोहलपुर बाहेक सबै गाउँपालिका हुन् । कोरोनाबाट मृत्यु हुने संख्या ६७ प्रतिशत शहरको छ । संक्रमितको संख्या त झन्डै अधिकांश सहरी क्षेत्रको देखिन्छ ।

साउन महिनामा जिल्लामा सबैभन्दा बढी कोरोना पुष्टि भएको छ । जुन वैशाख, जेठ र असार महिनाको कूल संक्रमणको झण्डै आधा हिस्सा ४७.८० प्रतिशत हो । अर्थात औसत रुपमा साउन महिनामा मात्र प्रतिदिन १३ जना नयाँ व्यक्तिमा कोरोना भएको छ ।

समुदाय स्तरमा कोरोना फैलिएको सहर भने नेपालगन्ज हो । जिल्लाको कूल कोरोना संक्रमितमध्ये नेपालगन्जका मात्र तीन सय ३७ जना छन् । जुन जिल्लाको कूल कोरोना संक्रमणको ४६.१६ प्रतिशत हो ।

अपडेट विवरण :
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मंगलबारसम्म जिल्लाभर एक हजार ६७ जना व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

जसमध्ये ७ सय ५५ जना कोरोना निको भएर घर फर्किसकेका छन् भने ३ सय १५ जना आइसोलेसनमा उपचार गराइरहेको छन् ।

-गुडन्युज साप्ताहिकमा खबर छ ।

 

Next Post

बाँकेमा ४२ जनामा कोरोना पुष्टि

२०७७ भाद्र १६, मंगलवार २०:०२
बाँके । बाँकेमा ४२ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल PCR ल्याबबाट ४१ र बागेश्वरी ल्याबबाट १ जना गरेर ४२ जनामा कोरोना पुष्टि भएको फोकल पर्शन नरेश श्रेष्ठको रिपोर्टमा उल्लेख गरिएको छ । फोकल पर्शन श्रेष्ठका अनुसार संक्रमितहरु महिला १७ र पुरुष २५ छन् । जिल्लामा संक्रमितको कुल […]