मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषदबाट हटाउन जेलेन्स्कीको माग

  ।   २०७८ चैत्र २३, बुधबार १६:२०

संवाददाता ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट अलग गरिनुपर्ने माग गर्नुभएको छ ।

आफ्नो देश विरुद्ध रुसले आक्रमण गरे यता पहिलोपटक राष्ट्रसङ्घको सुरक्षा परिषद्मा उहाँले सम्बोधन गर्नुभएको हो । यसैबीच रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्को विरुद्ध थप प्रतिबन्धहरू घोषणाको तयारी गरेका छन ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले रुसमा नयाँ लगानीमाथि प्रतिबन्ध लगाउने साथै रुसी वित्तीय संस्थाहरू, क्रेम्लिनका अधिकारी र तीनका परिवारमाथि थप प्रतिबन्ध घोषणा गर्ने बताउनुभयो । वाल स्ट्रिट जर्नलका अनुसार वासिङ्टनले रुसको सबैभन्दा ठूलो ब्याङ्कमाथि पनि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

युरोपेली राजदूतहरूले आज प्रतिबन्धहरूको पाँचौँ किस्ता घोषणा गर्दैछन् जसमा कोइलाको आपूर्तिमा रोक लगाउने र रुसको स्वामित्व र सञ्चालनमा रहेका पानी जहाजहरूलाई इयुभित्रका बन्दरगाहको प्रयोग गर्न नदिने सहितका कदम छन ।

यसअघि भिडिओ लिङ्कबाट राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सम्बोधन गर्नुभएका जेलेन्स्कीले आफ्नो देशमा हमला गरेका फौजहरूले गरेका भनिएका अत्याचारहरूको विस्तृत विवरण उपलब्ध गराउनुभएको थियो । देशको उत्तरी भागबाट रुसी फौज फिर्ता भएपछि त्यसबारे जानकारी आएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले युक्रेनी भूभाग कब्जा गरेका फौजहरूले ’मनोरञ्जन लिनका लागि मात्र समेत’ मानिसहरूको हत्या गरेको र तिनीहरूलाई यताना दिएको जानकारी दिनुभयो । जेलेन्स्कीले एउटा ग्राफिक्स भिडिओ पनि प्रस्तुत गर्नुभएको थियो जसमा मृत युक्रेनीहरू देखाइएको थियो । तर बीबीसीले स्वतन्त्र रूपमा ती तस्बिरहरू पुष्टि गरेको छैन ।

जबाफदेहिताको माग गर्दै जेलेन्स्कीले मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्बाट हटाउनुपर्ने माग समेत गर्नुभएको छ । तर रुसले पुन आफूविरुद्धका आरोप अस्वीकार गरेको छ ।

राष्ट्रसङ्घका लागि रूसी राजदूत भासिली नेबेन्जियाले युक्रेनी र पश्चिमा सञ्चारमाध्यममा आएका विवरणमा इक रूपता नरहेको र त्यो नियोजित रहेको टिप्पणी गर्नुभयो । बुचामा फेला परेका शव रुसी फौजहरूले उक्त शहर छाड्दा त्यहाँ नरहेको उहाँले दोहो¥याउनुभएको थियो । बीबीसीले भूउपग्रहबाट खिचिएका तस्बिरका आधारमा मस्कोको उक्त दाबीलाई गलत भनेको थियो ।

न्यूयोर्कमा भएको राष्ट्रसङ्घीय बैठकमा रुसी कदमको पुनः निन्दा गरिएको छ । संयुक्त राज्य अमेरिकाले रुसलाई राष्ट्रसङ्घको मानवअधिकार परिषद्बाट हटाइनुपर्ने माग फेरी राखेको छ । राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा टमस ग्रिनफिल्डले युक्रेनमा भएका अत्याचारका लागि रुसलाई एक्लाउन र जबाफदेही बनाउन लागिरहने प्रतिवद्धता जनाउनुभयो ।

रुसी आक्रमणलाई निन्दा नगरेको चीनले गैरसैनिकहरूको मृत्यु ज्यादै दुःखद भएको भन्दै कुनै पनि आरोप प्रमाणित तथ्यका आधारमा लगाइनुपर्ने टिप्पणी गरेको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा मानिसहरूको तीब्र विस्थापन उक्त युद्धले निम्त्याएको बताउनुभएको थियो । बीबीसीसँग बोल्दै राष्ट्रसङ्घका लागि ब्रिटिस राजदूत बारबरा वुडवार्डले राष्ट्रसङ्घले रुसलाई जबाफदेही बनाउन प्रमाण सङ्कलन गरिरहेको र रुसी मिथ्या सूचनाको पर्दाफास गरिरहेको बताउनुभयो । रुसी फौजहरू फिर्ता भएका युक्रेनी क्षेत्रहरूबाट विध्वंस र सम्भावित युद्ध अपराधका आरोप सम्बन्धी थप विवरणहरू आइरहेका छन ।

किएभको उत्तरमा अवस्थित बोरोड्यान्का नगरका प्रहरीले बमले उडाइएका छतका भग्नावशेष मुनी सयौँ मानिसहरू फसेको हुनसक्ने बताउनुभयो ।

पुरिएकाहरूलाई खनेर निकाल्ने प्रयास गरिरहेका मानिसहरूमाथि रुसी फौजले गोली चलाएको स्थानीयवासीले जनाएका छन । उक्त नगर पुगेका एक जना बीबीसी संवाददाता भन्नुहुन्छ्, ’त्यहाँ भीषण गोलाबारी गरिएको थियो जसका कारण ठूलो विध्वशं भएको छ ।’

बीबीसी नेपालीबाट

Next Post

गुलरियामा कसको सत्ता आउँला ? सत्तासिन काग्रेंसका संम्भावित उम्मेदवार हेर्नुहोस ।

२०७८ चैत्र २३, बुधबार १६:२०
३० बैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनपछि बर्दियाको पहिलो सदरमुकाम गुलरियाको नेतृत्व कसले पाउँला ? नेपाली काग्रेंस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले वा अन्य राजनीतिक दल । यतिबेला नगरका १२ वटै वडामा यो बिषयले निकै चर्चा पाईरहेको छ । गुलरियाको स्थानीय सरकारमा अहिले नेपाली काग्रेंसको सत्ता छ । काग्रेंस […]