बेलायतमा लकडाउन अन्त्यको तयारी : नयाँ प्रतिबन्ध भने लागू हुने

  ।   २०७७ मंसिर १६, मंगलवार ०७:०४

एजेन्सी । बेलायत सरकारले कोरोना सङ्क्रमण जोखिमका कारण गरेको लकडाउन हटाउने तयारी गरेको छ ।

साथै सङ्क्रमणको जोखिम रहेका क्षेत्रमा केही प्रतिबन्धहरू भने लागू हुनेछन् । बेलायत सरकारले डिसेम्बर २ अर्थात् भोलिदेखि राष्ट्रिय लकडाउन अन्त्य गरी जोखिम र सङ्क्रमण वृद्धिका आधारमा क्षेत्रगत प्रतिबन्ध लागू गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लकडाउन हटाउने गरेर अघिल्लो हप्ता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘कोभिड विन्टर प्लान’ को घोषणा गर्नुभएको थियो । जसअनुसार सङ्क्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी प्रतिबन्ध लागू गरिनेछ ।

अहिले बन्द रहेका व्यवसाय, रेष्टुरेन्ट, जीमखाना लगायत सञ्चालन हुने भएका छन् । बेलायतले क्रिसमस पर्वका बेला लकडाउन खुकुलो बनाउन लागेको हो । कोभिड(१९ को सङ्क्रमण फैलिने क्रम बढेसँगै बेलायत सरकारले गएको नोभेम्बर ५ देखि डिसेम्बर २ अर्थात् भोलिसम्मका लागि राष्ट्रिय लकडाउन गरेको थियो ।

यसअघि सरकारले मार्च अन्तिम हप्तादेखि पहिलो पटक झन्डै तीन महिनासम्म लकडाउन गरेको थियो । बेलायतमा झण्डै १६ लाख २९ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ ५८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Next Post

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, विश्वभर ४१ लाख श्रमिक जबर्जस्ती जोखिमपूर्ण काम गर्न बाध्य

२०७७ मंसिर १६, मंगलवार ०७:०४
काठमाण्डौ । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयूक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ । सन् १९४९ देखि यो दिवस मनाइँदै आएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनका अनुसार अहिले पनि संसारभर ४१ लाख श्रमिकलाई जबर्जस्ती […]