खजुरा ।
बाँकेको खजुरा गाउँपालिकाले गत वर्ष कार्तिक ६ र ७ गते आयोजना गरेको बृहत खजुरा सम्मेलनको स्मारिका प्रकाशन गरी विमोचन गरेको छ ।
खजुराको विकास र समृद्धिको महत्वपूर्ण आधारका रुपमा रहेको स्मारिका खजुरा गाउँपालिकाले आफ्नो सम्पत्तीका रुपमा ग्रहण गरेको हो ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, बृहत खजुरा सम्मेलन व्यवस्थापन समिति संयोजक भक्त बहादुर केसीले आज गाउँपालिकामै आयोजित कार्यक्रममा संयुक्त रुपमा स्मारिकाको विमोचन गर्नुभएको हो ।
स्मारिका विमोचन कार्यक्रममा बोल्दै खजुरा खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले खजुरा सम्मेलनबाट पारित २१ बँुदे घोषणापत्रमा टेकेर खजुराको समृद्धि र विकासमा अगाडि बढ्ने बताउनुभयो ।
उहाँले १५ वर्षमा खजुराको काँचुली फेर्न गाउँपालिकाले १५ वर्षे गुरुयोजना बनाएर अगाडि बढाएको बताउनुभयो ।
अध्यक्ष कक्षपतिले सम्मेलनमा सहभागी भई विभिन्न भूमिकामा रहने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बृहत खजुरा सम्मेलन २०७६ स्मारिका खजुराको इतिहासको रुपमा रहेको उल्लेख गर्नुभयो ।
खजुरामा निर्माण भइरहेको औद्योगिक ग्राम, खेलकुद ग्राम, कृषि, शिक्षा स्वास्थ्य लगायतका पूर्वाधार विकास १५ वर्षे गुरुयोजना अनुसारै अगाडि बढेको बताउनुभयो ।
बृहत खजुरा सम्मेलन व्यवस्थापन समितिका संयोजक भक्तबहादुर केसीले स्मारिका गाउँपालिकाको महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्नुभयोे ।
कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले खजुरा गाउँपालिकाको भविष्यको जग विकास र समृद्धिको आधारका रुपमा स्मारिका रहेको बताउनुभयो ।