धार्मिक सहिष्णुताको एक अब्बल नमूना बाँके

  ।   २०८० कार्तिक २९, बुधबार १८:०१

नेपालगन्ज । पर्वहरु विशेषगरी धर्म र समाज अनुसार रहेको र सोही बमोजिम मनाउने गरिन्छ । तर फरक धर्म र समुदायका मानिसहरुले पनि अर्को धर्म वा समुदायको पर्वलाई सहर्ष स्वीकार गरी सम्मानका साथ मनाउँदा धार्मिक सहिष्णुता र भाइचारा सम्बन्ध अझ बलियो भएको पाइन्छ ।

बाँकेको नरैनापुरका मुस्लिम समुदायका केही युवाले हिन्दु समुदायले मनाउने तिहार मनाउँदै आएका छन् । उनीहरुले यस वर्षको तिहारमा पनि हिन्दु परम्परा अनुसार हिन्दु धर्म मान्ने दिदीको हातबाट भाइटीका लगाएका हुन् ।

नरैनापुर गाउँपालिका वडा नं ३ का साकिर खान र सोही ठाउँका राज खान मुस्लिम समुदायको हुनुहुन्छ उहाँहरुले हिन्दुधर्म मान्ने राप्तीसोनारी ५ कि तारा ओलीसँग भाइटीका लगाउनुभएको हो ।

हिन्दुहरुको तिहार पर्व दाजुभाई र दिदीबहिनीहरूको आत्मियता जोड्ने पर्व भएको हुनाले विगतका केही वर्षदेखि तारा दिदीसँग तिहारको सप्तरङ्गी टीका लगाउँदै आएको साकिर खानले बताउनुभयो । उहाँले आफूलाई तिहार पर्व अति नै मन पर्ने बताउनुभयो ।

उहाँले आफूले रक्षा बन्धनमा हिन्दु समुदायका दिदीबहिनीको हातबाट राखी बाँध्ने, दसैंको टीका पनि लगाएर आशीर्वाद थाप्ने र तिहारमा दिदीको हातबाट भाइटीका लगाउँदै आएको बताउनुभयो । “७ वर्ष पहिला नरैनापुरमा हिन्दु मुस्लिम समुदायबिच द्वन्द्व हुँदा दुई जना मुस्लिम समुदायका व्यक्तिको ज्यान गएको थियो । सामाजिक सदभाव कायम राख्नका लागि हामीहरुले टीका लगाउन सुरु गरेका हौं ।” सामाजिक अभियन्ता समेत रहनुभएका साकिरले भन्नुभयो ।

“नरैनापुरमा हिन्दु र मुस्लिम समुदायको मिश्रित बसोबास छ, त्यसैपनि नेपाल बहुजाती, बहुभाषी र बहुधार्मिक र भौगोलिक विविधतामा रहेको मुलुक हो । सामाजिक सद्भाव कायम राख्न एक अर्काका धार्मिक चाडपर्वहरु सबै मिलेर मनाउनुपर्छ ।” नेपाली कांग्रेस बाँके क्षेत्र नं। १ का सदस्यसमेत रहनुभएका राज खानले भन्नुभयो । उहाँले सामाजिक सदभाव कायम राख्न सबैले सबैको धर्म र आस्थाको सम्मान गर्नुपर्ने बताउनुभयो ।

दिदी तारा ओलीले आफ्ना दाजुभाइ जस्तै मानेर हरेक वर्ष उहाँहरुलाई तिहारको टीका लगाइदिँदै आएको बताउनुभयो । सम्बन्ध जोड्नलाई कुनै जात तथा धर्मले नरोक्ने भन्दै उहाँले धर्मभन्दा पहिला मानव भएको बताउनुभयो । हरेक वर्ष मुस्लिम समुदायका भाईहरुलाई भाइटीका लगाउन पाउँदा आफू अत्यन्तै खुशी भएको उहाँले बताउनुभयो ।

बाँके सामाजिक सद्भाव बोकेको जिल्ला हो । यहाँ विभिन्न धर्म मान्ने समुदायबिच सामाजिक एकता छ । यहाँ हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्ध तथा शिख धर्म मान्ने समुदायहरु मिलेर बसेका छन् ।

हिन्दुधर्मका समुदायका केही व्यक्तिले मुस्लिम समुदायले मनाउने मोहर्रम पर्व मनाउने गर्दछन् । मोहर्रममा हिन्दु समुदायका केही व्यक्तिले मुस्लिम समुदायले जस्तै घरघरमा ताजिया राख्ने र सेलाउने गर्दछन् ।

त्यसैगरी मुस्लिम समुदायका केही व्यक्तिहरुले पनि हिन्दु समुदायले मनाउने दसैं तिहारलगायतका चाडपर्व मनाउँदै आएका छन् ।

Next Post

नेपालगन्ज म्याराथनमा पन्त र प्रधान आउने

२०८० कार्तिक २९, बुधबार १८:०१
नेपालगन्ज । पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली महिला पाइलट भावना पन्त र मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुनुहुने भएको छ । नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन उहाँहरु दुबै जना नेपालगन्ज आउन लाग्नुभएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो । नेपाल एयरलाइन्समा […]