अस्ताएका ‘जनप्रिय व्यापारी नेता’

नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा आचार्यकै पालापछि वाम वर्चश्व छ

  ।   २०७८ चैत्र ८, मंगलवार १३:३२

नेपालगन्ज :

देशमा नेकपा गठबन्धनको सरकार थियो । जताततै नेकपाकै बोलाबोल थियो । यस्तो बेला नेपालगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि अधिवेशनको तयारी हुँदै थियो ।

आन्तरिक रुपमा प्यानल त बनिसकेको थियो तर उम्मेदवार घोषणा गर्न एक जनाको प्रतिक्षा हुँदै थियो । ती व्यक्ति न पार्टीका केन्द्रीय नेता नै थिए, न कुनै उच्च ओहोदामा पदासिन व्यक्ति नै । तर, संघको निर्वाचनका लागि प्रभावशाली व्यक्तित्व थिए, दामोदर आचार्य ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्र्वअध्यक्ष आचार्य भारतको दिल्लीमा क्यान्सरको अप्रेशन गरेर फर्कँदै थिए । उनी नफर्कँदासम्म प्यानल घोेषणा हुनसकेको थिएन । क्यान्सरले थलिए पनि उनकै नेतृत्वमा संघमा वाम नेतृत्वको संयुक्त प्यानलको उम्मेदवारी घोषणा भयो ।

संघको निर्वाचनमा राजनीतिक दलभन्दा धेरैै माथि आचार्य हावी हुन्थे । लामो समय लोकतन्त्रवादीको पकडमा रहेको नेपालगन्ज उद्योग वाणिज्य संघमा आचार्यकै पालादेखि चेन ब्रेक भएको थियो ।

उनीपछि वामगठबन्धनबाट कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र वर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले नेतृत्व गरे । त्यसयता वाम पकड निरन्तर छ । आचार्यले जसलाई धाप मारे, उही नेता बन्ने अवस्था थियो । उनले ज–जसलाई उद्योगी व्यवसायीको नेता बनाएर पठाए उनीहरुले नेतृत्वमा पुगेपछि आचार्यलाई बिर्से । उनीसँगै सामान्य सल्लाहसमेत लिँदैनथे ।

पेटको क्यान्सरको अप्रेशन गरेर पनि सक्रिय राजनीतिक जीवन निर्वाह गरिरहेका आचार्यले पछिल्लो दुई साता यता भारतमा किमो थेरापी गरेर नेपालगन्ज फर्के लगत्तै अस्वस्थ बने । लगातार पखाला लागेपछि घरमै राखेर उपचार भइरहेको थियो । क्रमशः शरीरका धेरै अंगले काम गर्न छोडेपछि भेरी अस्पताल नेपालगन्जको आइसीयुमा उपचार हुँदा हुँदै आइतबार सदाका लागि अस्ताए ।

श्रद्धाञ्जली सभामा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, खेलकुद मन्त्री महेश्वर गहतराज अथक, पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी, लुम्बिनी प्रदेश सांसद आइपि खरेल, कृष्णा केसी लगायत नेताहरु नेपालगन्ज पुगेका थिए । लोकप्रिय छविकै कारण विभिन्न पेशा व्यवसाय र क्षेत्रका व्यक्तिले सामाजिक सञ्जालमाथि उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।

श्रद्धाञ्जली दिन नेपालगन्ज पुगेका अर्थमन्त्री प्रभाकरले फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समाजसेवी बौद्धिक व्यक्तित्व आदरणीय दामोदर आचार्यको निधनले स्तब्ध बनाएको छ ।’

त्यसैगरी खेलकुद मन्त्री अथकले ‘हाम्रो पार्टीका नेता बाँकेका प्रतिष्ठित व्यवसायी, सामाजिक व्यक्तित्व’को रुपमा श्रद्धाञ्जली दिएका छन् ।

प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले फेसबुकमा लेखेकी छन्,‘शब्द छैनन् दाइ तपाईलाई कसरी श्रद्धाञ्जली लेखँु । तपाईको निष्ठा, स्वाभिमान र आदर्श सधैं जिउँदो रहनेछ । अल विदा दामोदर दाइ…।’ माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बमले ‘माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अकलबहादुर बम भन्छन्, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (मओवादी केन्द्र ) प्रदेश कमिटी सदस्य, नेपालगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन केन्द्रीय उपाध्यक्ष समाजसेवी ब्याक्तित्व कमरेड दामोदर आचार्यको असामयिक निधन प्रति दुःख व्यक्त गर्दै उहा“ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

उद्योगी व्यवसायीले त एक अभिभावक गुमाएको बताएका छन् । संघका महासचिव चिरञ्जीवी ओली र बरिष्ठ उपाध्यक्ष आदेश अग्रवालले संघका पूर्वअध्यक्ष तथा अभिभावकको स्वर्गवास भएको लेखेका छन् । संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले ‘पितातुयल्य मेरो आदरणीय दाजु, राजनीतिक गुरु’को निधनले सम्पूर्ण उद्योगी व्यवसायी तथा नगरवासीलाई मर्माहित बनाएको उल्लेख गरेका छन् । संघले आचार्यको शोकमा शनिबार सम्पूर्ण उद्योग, व्यवसाय (व्यवसायिक प्रतिष्ठान) बन्द गरी शोक मनाएको थियो ।

संघमा उनी भिजनरी नेताको रुपमा गनिन्छन् । उनले नै सडक विभागको जग्गा ५० वर्षका लागि लिजमा लिएर नेपालगन्जमा प्रदर्शनीस्थल र सभागृह बनाउने कामको सुरुवात गरेका थिए । उनीपछिका नेतृत्वले त्यसको भेउ पाएनन् । उनीपछिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले प्रदर्शनी हल र सभागृहको अवधारणालाई साकार नबनाएरै कार्यकाल बिताए । हरेक वर्ष त्यसैका नाममा मेला आयोजना गरे तर सभागृह र प्रदर्र्शनीस्थल बनाएनन् । बरु सरकारले लिज नै फिर्ता लिएको पत्तो पाएनन् ।

प्युठानमा जन्मिएका आचार्य नेकपा मसालबाट वाम राजनीतिमा प्रवेश गरेका थिए । नेपालगन्जमा आएर राजनीति भन्दा व्यापार व्यवासायमा लागे । ०४९ सालदेखि नेपालगन्जको घरवारी टोलमा आचार्र्य इम्पोरियम नाममा फेन्सी कपडाको होलसेल व्यापार गर्न थाले र छोटो समयमै सफलता पाए ।

जनयुद्धरततत्कालीन नेकपा (माओवादी)लाई सघाएको आरोपमा सेनाले उनलाई पक्राउ गरेर यातना पनि दियो । त्यत्तिबेलासम्म उनी माओवादीको सक्रिय राजनीतिमा थिएनन् । माओवादी शान्ति प्रक्रियामा आएपछि आचार्य माओवादी पार्टीबाटै उद्योग वाणिज्य संघको अध्यक्ष हुँदै राजनीतिमा छिरे ।

नेकपा एकीकृत केन्द्रका लुम्बिनी प्रदेश सदस्य समेत रहेका आचार्यकै कारण नगरमा माओवादी टप थ्रीको पोजिसनमा रहेको सम्बद्ध दलका नेताहरु बताउँछन् । बाँके क्षेत्र नं. २ बाट सांसद र नगर प्रमुख पदको उम्मेदवार बनेका थिए । दुबै निर्वाचनमा तेस्रो स्थानमा आएका थिए ।

स्थानीय तहको निर्र्वाचन नजिकिँदै गर्दा माओवादीलाई आचार्यको अभाव खड्किनेछ । नेपालगन्ज उद्योग वाणिज्य संघको हरेक निर्वाचनमा पनि आचार्यलाई ‘जनप्रिय व्यापारी नेता’को रुपमा सम्झना हुनेछ । गुड न्यूज साप्ताहिकलाई सधै माया गर्ने हामीले एक जना अभिभावक, शुभेच्छुक, पाठक र मार्गदर्शक गुमाएका छौं । अल विदा दामोदर दाइ…

 

Next Post

विद्यार्थीकाल देखी माओवादीको राजनीतिमा सक्रिय दिपेन्द्र धिताल (अर्थोक) वडा अध्यक्षको दाबेदार

२०७८ चैत्र ८, मंगलवार १३:३२
संवाददाता, नेपालगंज । राजनीति तर्फ युवा आकार्षण बढ्दो छ । विगतमा झै आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पनि धेरै नयाँ युवाले जनसेवा गर्ने इच्छा ब्यक्त गरिरहेका छन । सोही मध्येका एक दिपेन्द्र धिताल (अर्थोक) पनि हुनुुहुन्छ । राजनीति र जनसेवालाई नजिकबाट नियाली रहनुभएका २९ बर्षिय उहाँले यसपटक […]

सम्बन्धित शीर्षक