बर्खामा चार अर्ब युनिट बिजुली बिहार पठाउन प्रस्ताव, हिउँदमा आयात गरिने

  ।   २०७८ भाद्र २७, आईतवार १४:४६
unn.prixa.net

काठमाण्डौ | नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको (Mutual Seasonal Power Exchange ) प्रस्ताव गरेको छ ।

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको प्रस्ताव गरेको हो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ ।

बर्खाका ६ महिना नेपालबाट विद्युत् बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदान–प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।

‘बर्खाका महिनामा २४ सै घण्टा २ सय मेगावाट एवम् राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युतकाे मूल्य तय गरिने छ’, घिसिङले भन्नुभयो, ‘यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केही वर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ, यदि पारस्परिक विद्युत् आदानप्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई देशबीच विद्युत् कारोबारको कोशेढुङ्गा हुने छ, यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौँ, केही दिनभित्रमा यसबारेमा निर्णय आउने विश्वास छ ।’

घिसिङकाअनुसार यस वर्षको बाँकी तीन महिनामा नेपालमा खपत गरेर बढी हुने झन्डै ७० करोड युनिट र अर्को वर्ष तीन अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ । हिउँदयाममा त्यति नै बराबरको विद्युत् आयात गर्न सकिन्छ । यसले गर्दा वर्खामा खेर जाने विद्युतको उच्चतम प्रयोग हुनेछ ।

अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर, रामनगर विन्दुबाट २४ सै घण्टा विद्युत् नर्थ बिहार पावर डिस्ट्रिब्युशन कम्पनी लिमिटेडलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । साथै, राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिने छ । यसबाट सञ्चालमा रहेका दुई देशबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुनेछ ।

बर्खामा उत्पादित विद्युत् आन्तरिक रूपमा खपत गर्न नसकी खेर जाने अवस्था आइ प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाउनुभएको थियो । बुधवार, बिहीवार र शुक्रवार भारतका ऊर्जा सम्बन्ध विभिन्न निकायमा छलफल गरेको टोलीमा विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारी र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन हुनुहुन्थ्यो ।

टोलीले बिहीवार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध–निर्देशक सन्जीव हान्सलाई भारतको पटनामा भेटेर विद्युत् आदान–प्रदानका विषयमा छलफल एवम् प्रस्ताव पेस गरेको थियो । साथै, विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरिएका आयोजनाको सङ्ख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था, दुई देशबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीहरूसँग विस्तृत छलफल गरेको थियो ।

प्राधिकरणले अहिलेसम्म ३ सय ४६ आयोजनासँग ६ हजार १ सय ७६ मेगावाटको पीपीए गरेको छ । यसमध्ये १ सय ११ आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा  छन् । आयोजनाहरूको जडित क्षमता १ हजार ३ सय मेगावाट छ । ३ हजार ३४ मेगावाट जडित क्षमता भएका १ सय ३६ आयोजना वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन् । १ हजार ८ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजना वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन् ।

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत् बिक्री गर्न सहमतिका लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारीहरू, केन्द्रीय विद्युत प्राधिकरणका पदाधिकारीहरू एवम् नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय (Nodal Agency) एनटीपीसी विद्युत् व्यापार निगम र पावर ट्रेडिङ कर्पोरेशन (पीटीसी) का पदाधिकारीहरूसँग विस्तृत छलफल गरिएको थियो । घिसिङले भन्नुभयो, ‘यसको  नतिजा केही दिनमा आउन सक्छ ।’ -उज्यालो अनलाइन

Next Post

संवादमा आउन सभामुखले गरेको आह्वान एमालेद्वारा अस्वीकार, लगातार तेस्रो दिन पनि संसद बैठकमा अवरोध प्रतिनिधि सभा बैठक लगातार अवरुद्धः सत्ता र प्रतिपक्षीबीच संवादमै समस्या

२०७८ भाद्र २७, आईतवार १४:४६
काठमाडौं । सभामुख अग्नि सापकोटाले संवादमा आउन आह्वान गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि प्रतिनिधि सभाको बैठक चल्न दिएनन् । तीन दिनदेखि लगातार संसद अवरोध गर्दै आएको एमालेका सांसदले आइतबार पनि सभा अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । नाराबाजीकै बीचमा सभामुख सापकोटाले एमाले सांसदलाई संबोधन गर्दै वार्ता […]