फोटो : नौबस्ता औद्योगिक क्षेत्रको स्केच । साथमा औद्योगिक क्षेत्रको शिलन्यास गर्दै संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ।
विशेष संवाददाता, नौबस्ता (बाँके) ।
११ फागुनको दिउँसो १ बजे नौबस्ता औद्योगिक क्षेत्रको शिलन्यास कार्यक्रम थियो । मञ्चले प्रमुख अतिथि संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई पर्खेर बसेको थियो ।
निर्धारित समयमा मन्त्री भट्ट नआएपछि कार्यक्रम सञ्चालक सञ्चारकर्मी निशु जोशीले पटक पटक नौबस्ता औद्योगिक क्षेत्रबारे सूचनामूलक जानकारी दिएर दर्शकलाई अल्झाइरहनुभएको थियो ।
मञ्चको माइकभन्दा कार्यक्रमको स्टेजभन्दा पूर्वतिर स्थानीयको विरोध प्रदर्शनको नारा चर्को स्वरमा थियो । नौबस्ता औद्योगिक क्षेत्र घोषणा भएको ५ वर्षपछि शिलन्यास हुँदैथियो । जुन बाँकेवासीको लागि खुसीको कुरा थियो ।
औद्योगिक क्षेत्र निर्माणाधीन क्षेत्रमा संवाददाता पुग्दा पूर्वतयारी बिना हतारहतारमा शिलन्यास गर्न खोजेको स्पष्टै देखिन्थ्यो । कतिसम्म भने औद्योगिक क्षेत्रमा अग्लो पहाड जस्तो जमिन र कतै गहिरो खाल्डो सम्याउने र पुर्ने काम पनि भएको छैन ।
औद्योगिक क्षेत्रको कागजी नक्सा बाहेक फिल्डमा छुट्टाउन सक्ने कुनै सीमारेखा र पर्खाल लगाएको छैन ।
विद्युत, खानेपानी, सडक जस्ता आधारभूत पूर्वाधार पनि बनाइएको छैन तर औद्योगिक क्षेत्रको शिलन्यास गर्न संघीय सरकारलाई हतार भएको थियो ।
अघिल्लो दिन कञ्चनपुरको दैजीमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग औद्योगिक क्षेत्रको शिलन्यास गर्नुभएका मन्त्री नौबस्ता औद्योगिक क्षेत्रको शिलन्यास कार्यक्रममा ढिलो गरी आउनुभयो ।
मन्त्री आएको खबर उद्घोषक जोशीले माइकबाट जानकारी गराउँदै गर्दा स्थानीयले जय जयकारको साटो सरकार विरोधी नारा लगाए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको २ लाइनको सुरक्षा घेराभित्र स्थानीयलाई सिमित गरियो ।
धर्मलाई अफिमका रुपमा ब्याख्या गरेर सशस्त्र संघर्ष गर्नुभएका मन्त्री भट्ट र त्यही पृष्ठभूमिका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बन्नुभएका नन्दकिशोर बस्नेतले पलेटी कसेर हिन्दु धार्मिक परम्परामा भूमिपूजा गर्नुभयो ।
त्यत्तिबेलासम्म आगन्तुकभन्दा धेरै सुरक्षाकर्मीहरु कार्यक्रमस्थलमा भरिएका थिए । प्रदर्शनकारीले नारा लगाउँदै मञ्चमा आउन खोज्दा सुरक्षाकर्मीले रोकेका थिए ।
भूमिपूजालगत्तै मन्त्री भट्टले हतारहतार औद्योगिक क्षेत्रको शिलापत्रको अनावरण गर्नुभएको थियो । अनि मात्र मञ्चमा औपचारिक कार्यक्रम सुरु गरिएको थियो ।
बैजनाथ गाउँपालिकाको वडा नं. २ र ३ पर्ने नौबस्तामा निर्माणाधीन औद्योगिक क्षेत्रमा तीन सय ३८ बिगाहा क्षेत्रफल छ । जसमा सशस्त्र प्रहरी बलका लागि २० बिघा, क्षेत्रीय कारागारका लागि १० बिघा र ३० बिघा क्षेत्रफलमा बस्ती छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका अनुसार सरकारले औद्योगिक क्षेत्र निर्णाणका लागि ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । स्रोतका अनुसार यो ९ अर्ब रुपैयाँ पनि अर्थ मन्त्रालयले निकासा दिइसकेको छैन ।
सैैद्धान्तिक सहमति मात्र दिएको हो । एकातिर बजेटको सुनिश्चिता नहुनु र अर्कोतिर औद्योगिक क्षेत्र परिसरमा रहेको मानव बस्ती व्यवस्थापन गर्न सकिएको छैन ।
यी आधारभूत कुराको सुनिश्चितता नभए पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जहाँ एक सय ११ वटा उद्योग सञ्चालन हुने डीपीआर तयार भने गरिसकेको छ ।
यो ५ वर्षको अवधिमा भएको उपलब्धी भनेकै औद्योगिक क्षेत्र घोषणा हुनु, लालपूर्जा आउनु र शिलन्यास गर्नु बाहेक अरु केही देखिँदैन, फिल्डमा गएर हेर्दा ।
तर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २ वर्षभित्र न्यूनतम् पूर्वाधार निर्माण गरिसक्ने र ५ वर्षभित्र सञ्चालन गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । त्यही गतिमा योजना सम्पन्न गर्ने कार्ययोजना भने अहिलेसम्म बनिसकेको छैन ।
तयारी बिना नै औद्योगिक क्षेत्रले यसअघि नै आशयपत्र माग गर्दा साढे २ सयको हाराहारीमा उद्योगीले चाउचाउ, दुग्ध पदार्थ, चिसो पेय पदार्थ, जडीबुटीजन्य, खाद्यान्न, फर्निचर उद्योग सञ्चालन गर्ने आशयपत्र औद्योगिक क्षेत्र व्यवस्थापनलाई बुझाइसकेका छन् ।
फेरि आशयपत्र माग्ने तयारी भइरहेको छ । त्यसपछि मात्र डीपीआर अनुसारको काम सुरु हुने बताइएको छ ।
औद्योगिक क्षेत्रको शिलन्यास कार्र्यक्रम पुगेर फर्कनुभएका नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली तयारी बिना नै औद्योगिक क्षेत्रको शिलन्यास गरेर नौबस्ता औद्योगिक क्षेत्रलाई अलपत्र नपार्न सरकारलाई खबरदारी गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘बस्ती व्यवस्थापनको काम सकेर शिलन्यास गर्नु पथ्र्यो । विरोध जारी रहँदा काम गर्न सकिएन भनेर बाहाना खोजेर औद्योगिक क्षेत्रको काम भने रोक्नु हुँदैन ।’
– गुडन्यूज साप्ताहिकबाट