बर्दियाको राजापुर, गुलरिया र बढैयातालमा शैक्षिक सामाग्री वितरण

  ।   २०७७ पुष २४, शुक्रबार २०:४९


सिराज खान
नेपालगञ्ज । बर्दियाको राजापुर, गुलरिया र बढैयातालका विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई बाँके युनेस्को क्लबले १२ लाख रुपियाँ भन्दा बढीको शैक्षिक सामाग्री, ट्रयाक सुट र विद्यालय पोशाक वितरण गरेको छ ।

प्लान इन्टर नेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालित बाल विवाह, चाँडो हुने विवाह र जबरजस्ती विवाह परियोजना अन्तर्गत सो शैक्षिक सामाग्री वितरण गरिएको हो ।

राजापुर, बढैयाताल, गुलरिया र बाँसगढीमा २०१ जना विपन्न बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको तथा राजापुर, बढैयाताल र गुलरियाका ६७ जनालाई चिसोमा न्यानोका लागि ट्रयाक सुट वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

राजापुरमा विहिबार आयोजना गरिएको एक समारोहमा भेरी मावि राजापुर, नेरामावि नयाँ गाउँ राजापुर र पदम कुमारी मावि राजापुरका ४० जना बालबालिकालाई सो शैक्षिक सामाग्री, ट्रयाक सुट र विद्यालय पोशाक वितरण गरियो ।

क्लबका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजापुर नगरपालिकाका उपमेयर मनकला चौधरी र वडा नम्बर ८ का वडा अध्यक्ष चिन्तामणी आचार्यले शैक्षिक सामाग्री वितरण गर्नुभयो ।

सो अवसरमा राजापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख र सामाजिक विकास शाखा प्रमुखको पनि उपस्थिति रहेको थियो ।
उक्त अवसरमा ४० जना बालबालिकालाई जनही एउटा व्याग, एउटा स्वेटर, एक सेट ट्रयाक सुट, एउटा टोपी, एक जोड विद्यालय पोशाक, पेन्सिल, कपी र पोशाक सिलाउन नगद रकम प्रदान गरिएको थियो ।

यसैगरि सोही अवसरमा राजापुरकै विद्यालय बाहिरका तथा जोखिममा रहेका २५ जना बालबालिकालाई न्यानोका लागि ट्रयाक सुट वितरण गरिएको थियो ।

त्यसअघि गुलरियामा आयोजित एक कार्यक्रममा गुलरिया नगरपालिकाका उपप्रमुख सुशिला गिरीले १८ जना बालबालिकाहरुलाई ट्रयाक सुट वितरण गर्नुभयो ।

सोही प्रकारले बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा गौतमले पनि सो गाउँपालिकाका बालबालिकालाई ट्रयाक सुट र शैक्षिक सामाग्री वितरण गर्नु भएको थियो । सो अवसरमा पनि शिक्षा शाखा र सामाजिक विकास शाखाका प्रमुखको उपस्थिति रहेको थियो ।

बर्दियाका विभिन्न स्थानमा आयोजना गरिएका वितरण कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, क्लबका कर्मचारी अनुप बर्मा लगायतको सहभागिता रहेको थियो ।

Next Post

यसपालि माघिको दिन सार्वजनिक विदा

२०७७ पुष २४, शुक्रबार २०:४९
सरकारले माघ १ गते माघि तथा माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।   आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको सिफारिसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।