सबिता चन्द
खजुरा । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा बाँकेको खजुरास्थित पाटी प्यालेसमा सम्पन्न विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा विभिन्न अतिथि, विशिष्ट अतिथि र प्रमुख अतिथिहरुले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको छ । कार्यक्रममा सञ्चार, संगठन र समसामयिक राजनीतिक विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले व्यवस्थामाथि बुझिन नसकिने ढंगले प्रहार भइरहेकाले सञ्चारकर्मीहरू सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। “विकृत प्रचारको सन्दर्भमा व्यवस्थाका पक्षमा मिडिया क्याम्पेनिङ गर्ने हाम्रो स्पष्ट योजना छ,” उहाँले भन्नुभयो।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारी (प्रकाश)ले सञ्चारकर्मीहरूले व्यवस्था र संविधानको पक्षमा जिम्मेवार ढंगले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। उहाँले संगठनमा चित्त नबुझेको कुरा ठाउँको ठाउँ राख्न निर्देशन दिनुभयो । फ्याक्सन इन्चार्ज समेत रहनु भएका सचिव प्रकाशले देशमा घुमाउरो पाराले व्यवस्था माथी आक्रमण भैरहेको कुरालाई पत्रकारले गहिरो रुपमा लिनुपर्ने बताउनु भयो ।
महासचिव मनोज घर्तिमगरले प्रशिक्षण मुलक मन्तव्य दिनुभयो । संगठन र बाहिय मोर्चाका बिषयमा महासचिव घर्तिले बैठकमा स्पष्ट पार्नु भयो । संगठन नीतिविधि अनुसार चल्ने भन्दै सबै सदस्यहरू एकताबद्ध भएर लाग्न निर्देशन दिनुभयो । सबै साथीहरूलाई समेटेर अगाडि बढ्ने भन्दै संगठनका सदस्यहरुलाई पछाडि नभएर फोरममै कुरा राख्न उत्साह दिनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक (तुफान)ले खजुराको विकास बारे प्रकाश पार्दै पत्रकारिता क्षेत्रले स्थानीय तहमा सकारात्मक प्रभाव पारिरहेको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्दै आएको र बाँकि कार्यकालमा बाँकि काम गर्ने बताउनु भयो ।
उपाध्यक्ष रामसिंह ठगुन्ना, र केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्काले पनि प्रशिक्षणात्मक मन्तव्य दिंदै संगठन विस्तार, सञ्चारकर्मीको क्षमतावृद्धि र जनपक्षीय पत्रकारिताको आवश्यकता औंल्याउनुभयो ।
अन्य अतिथिहरु—केन्द्रीय प्रचार विभाग सदस्य उदय जि.एम, केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य, केन्द्रीय सचिव मानसिंह बिक लगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभयो ।
कार्यक्रमको समापन प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष प्रदीप वाग्लेले गर्नुभयो। उहाँले भविष्यका योजनामा पुराना साथीहरूलाई पुनः भूमिकामा ल्याउने, कार्यालय टिम तथा सचिवालय सदस्य निर्माण गर्ने विषय उल्लेख गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्थित केन्द्र, प्रदेश र जिल्ला प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।



