रन्जित कुमार चौधरी, नेपालगंज ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले यो बर्षको विपद्बाट २५ हजार घर परिवारको १ लाख ५० हजार मानिसहरू प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ ।
मनसुनबाट करिब १० हजार घर परिवारका ५० हजार मानिस प्रभाबित हुने आकलन गरी सवै विषयगत कार्यालयले तयार पारेको योजनालाई समावेश गरी जिल्लाको विपद पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ र मनसुन पुर्वतयारी तथा प्रतिकार्य योजना २०७९ समेत स्विकृत गरेको छ ।
मनसुन शुरु भैसकेको अवस्थामा बाढीजन्य विपदको खोज तथा उद्धारमा प्रयोग हुने सामाग्रीहरुको प्रयोग गरी डुडुवा गाँउपालिकाको कम्दी स्थित राप्ती नदिमा प्रदेश सरकार, सबै सुरक्षा निकाय, पालिका, रेडक्रसको सहभागितामा असार ६ गते विहान ११ वजे कृत्रिम घटना अभ्यास गर्ने तयारी गरेको छ ।
बाँकेका पाालिका प्रमख, उपप्रमुख समेतको उपस्थितिमा भएको बैठकमा अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले यस वर्षको मनसुनमा विगतमा भन्दा वढी वर्षा हुने आकलन अनुसार सबै सुरक्षा निकाय, विषयगत समितिलाई तयारी अवस्थामा राखेको वताउनु भयो ।
वाढीजन्य विपद्बाट उच्च जोखिमयुक्त्त क्षेत्र, परिवार सख्या र सुरक्षित स्थानको पहिचान अविलम्व गर्ने, पालिका भित्र भएको विपदमा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने, विपद सर्वेक्षणका लागि आवश्यक पर्ने जनशक्तिको पहिचान, प्रारम्भिक द्रुत लेखाजोखा र घरधुरी सर्वेक्षण फारम तयारी अवस्थामा राख्ने, नदि तथा खोलामा पानीको सतह बढेको अवस्थामा माछा मार्न, दाउरा छोप्न जाने, पौडी खेल्ने जस्ता कार्यहरु रोक्ने निर्णय गरेको छ ।
अत्यावश्यक सामाग्री खानेकुरा, कपडा, औषधी, पानीहरुको आवश्यक भण्डारण गर्नेे निर्णय पनि गरेको छ । नजिकको नदी, नालामा पानीको वहावको सूचना लिई नदिको सतह बढेको तल्लो तटीय क्षेत्रका वासिन्दाहरुलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय भएको सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले वताउनु भयो ।
त्यसै गरी बाँकेको बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला, डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रहरुमा हुन सक्ने कटान तथा वाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटवन्धको लागि कार्य गर्न सम्वन्धित कार्यालयहरुलाई निर्देशन दिने निर्णय पनि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले गरेको छ । #जिल्ला_विपद्_व्यवस्थापन_समिति_बाँके
#विपदमा_बाँके