एक बर्षमा १ सय ४४ जना नागरिकलाई सिमा नाकाबाट उद्धार

  ।   २०८० पुष २८, शनिबार २०:४५

नेपालगन्ज । मानव ओसारपसार तथा बेचबिखनविरुद्ध बाँकेमा क्रियाशिल गैरसरकारी संस्था शुभ सन्देश सभा नेटवर्क (ज्ञान) नेपालले गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेको शङ्कास्पद १ सय ४४ जना नागरिकलाई सिमानाकाबाट घर फिर्ता गरेको जनाएको छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत तिलकबहादुर नेपालीले उक्त कुराको जानकारी दिनुभएको हो ।

नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १ सय ४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत नेपालीले बताउनुभयो ।

उहाँका अनुसार उक्त बर्षमा तीन जनालाई शक्ति समुहको सेल्टर होममा पठाइएको र एक हजार ७ सय ७३ जनालाई सिमानाकाको बुथमै सुचना तथा परामर्श सेवा प्रवाह गरिएको छ । यो आर्थिक बर्षको पुुससम्ममा ६ सय ६७ जनालाई सुचना तथा परामर्श सेवा प्रवाह गरिएको र दुई जना महिलालाई उद्दार गरि साथी संस्थामा पठाइएको छ । बाँके, बर्दिया, दाङ, कपिलबस्तु र जुम्ला जिल्लाका दलित, सिमान्तकृत, विपन्न, असहाय तथा प्राकृतिक विपद पीडितहरुलाई लक्षित गरि विभिन्न सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै आइरहेको संस्थाका उपाध्यक्ष डा.डक्टप्रसाद धितालले जानकारी दिनुभयो ।

संस्थाले लक्षित वर्गको आर्थिक विकास, सामुदायिक सशक्तिकरण, प्रत्यक्ष सहयोग तथा सेवामुखी कार्यक्रम अन्तर्गत गत आर्थिक बर्षमा बाँके, बर्दिया, दाङ, कपिलबस्तु र जुम्लाका अत्यन्तै विपन्न तथा असहाय अवस्थाका १ सय १९ जना बालबालिकालाई अध्ययनका लागि छात्रबृत्ति प्रदान गरेको छ । वैकल्पिक रोजगारस्वरुप विपन्न तथा कमजोर आर्थिक अवस्था भएका १० परिवारलाई विभिन्न व्यवसायिक लघु परियोजना अन्तर्गत बङ्गुरपालन, बाख्रापालन, किराना पसल सञ्चालन, फ्रेस हाउस सञ्चालनलगायतमा सहयोग पुराइरहेको उपाध्यक्ष धितालले बताउनुभयो ।

उहाँका अनुसार संस्थाले गत बर्षमा बर्दियामा एक विपन्न एवं दलित परिवार र बाँकेको नेपालगन्जमा एक जना असहाय तथा एकल महिलालाई बस्नका लागि आवास निर्माण गरेको छ । खानेपानीको अभाव भोगिरहेका बर्दियाको एउटा वस्ती र दाङको दुईवटा वस्तीका बासिन्दाहरुलाई सामुहिकरुपमा खानेपानी उपभोग गर्नका लागि मोटरजडित पानीट्याङ्की निर्माण गरि खानेपानीको व्यवस्था गरिदिएको उहाँले जानकारी दिनुभयो ।

संस्थाले जुम्लाको सिँजामा दृष्टिविहिन तथा विपन्न विद्यार्थीहरुलाई छात्रबाससहित शैक्षिक सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त छात्रबासमा ५ देखि २१ बर्ष उमेर समुहका ६ महिला र १० पुरुष गरि १६ जना दृष्टिविहिनहरुले विभिन्न कक्षामा निरन्तर शिक्षा हासिल गर्दै आइरहेको ज्ञान नेपालले जनाएको छ । गतबर्ष मुगु र जुम्लामा गएको पहिरोमा परि पीडित बनेका जुम्ला सिँजाक्षेत्रका ६७ पहिरो पीडित घरपरिवार र छायानाथ रारा ११, मुगुका ७० पहिरो पीडित घरपरिवारलाई खाद्यान्न तथा लत्ताकपडा राहतस्वरुप वितरण गरिएको संस्थाले जानकारी दिएको छ ।

त्यसैगरी यो आर्थिक बर्षको पुस महिना सम्ममा मानव ओसारपसार तथा बेचबिखनविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको, विभिन्न जनचेतनामूलक नाटक, रेडियो बहस, समय सान्दर्भिक र लोककल्याणकारी सुचना प्रसारण तथा प्रकाशन गर्दै आएको छ ।

गत कार्तिक १७ गते राति गएको भूकम्पका कारण पीडित बनेका जाजरकोटको भेरी नगरपालिका ४ मुलपानी र बोहोरा गाउँमा पुगी त्यहाँका ३ सय ६७ घरपरिवारलाई बाक्लो कम्बल, पीफोर्म तथा लगाउने लत्ता कपडासमेत वितरण गरिएको संस्थाका उपाध्यक्ष धितालले जानकारी दिनुभयो । संस्थाले सञ्चलान गर्दै आएका कार्यक्रमहरुलाई निरन्तरता दिदै आगामी दिनमा मानव ओसारपसार तथा बेचबिखनको जोखिममा रहेका महिलाहरुलाई उद्दारपश्चात् आपतकालिन ट्रान्जिटका लागि यथाशिघ्र सेफ हाउस निर्माण कार्य सञ्चालन गरिने उहाँले बताउनुभयो ।

Next Post

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानीको प्रक्रिया आजै अगाडि बढ्ने

२०८० पुष २८, शनिबार २०:४५
काठमाडौं। निर्माण व्यवसायीहरूलाई नेपाल सरकारको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल भुक्तानी हुने भएको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष सिंहदरबारमा भएको छलफलपछि निर्माण व्यवसायीहरूले भुक्तानी पाउनुपर्ने रकम निकासाको प्रक्रिया आजै अगाडि बढाउने निर्णय भएको हो। अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. बैकुण्ठ […]

सम्बन्धित शीर्षक