
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्नु भएको छ ।
शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले नेपाललाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायका मात्र नभई सम्पूर्ण नेपाली समाजका साझा चाडका रूपमा स्थापित हुँदै आएको बताउनु भएको छ । उहाँले भन्नुभयो, “हरेक चाडपर्वहरूको आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहन्छ, जसले मानव जातिको जीवन दर्शन र अनुभूतिलाई प्रतिबिम्बित गर्छ।”
प्रचण्डले बकर ईदलाई आपसी सद्भाव र सामाजिक एकताको चाडको रूपमा उल्लेख गर्दै सबै नेपालीबीच भाइचारा, सहिष्णुता र पारस्परिक सम्मान अभिवृद्धि गर्न यस पर्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले राष्ट्र निर्माणको अभियानमा बकर ईदले थप ऊर्जा दिने अपेक्षा राख्नु भएको छ ।
“यस पर्वले आपसी एकता, सहिष्णुता र सद्भाव कायम राखी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास लिएको छु,” अध्यक्ष प्रचण्डले सन्देश मार्फत जनाउनु भयो ।
बकर ईद मुसलमान समुदायद्वारा मनाइने बलिदानको पर्व हो, जुन हज यात्रा सम्पन्न भएपछि विश्वभर एकै साथ श्रद्धा र उत्साहका साथ मनाइन्छ । 



