
सबिता चन्द
बाँके । नेपाली सेनामा पहिलोपटक शिख समुदायको प्रतिनिधित्व सुनिश्चित भएको छ। बाँके जिल्लाको जानकी गाउँपालिका–२, बनकटवाका करनसिंह शिख नेपाली सेनामा भर्ती भई यो ऐतिहासिक उपलब्धि हासिल गर्नु भएको हो ।
अछाम जिल्लाको गोरख बक्स गण, मंगलसेन ब्यारेकमा सम्पन्न दसौँ समूहको सैन्य आधार तालिममा सहभागी करनसिंहले ‘सैन्य आधार तालिमको अन्तिम दलेल कवाज’ सफलतापूर्वक पूरा गर्नु भएको छ । तालिमको अन्तिम चरणको परीक्षण पास गरेसँगै करनसिंहले नेपाली सेनामा आफ्नो औपचारिक सेवा आरम्भ गर्नु भएको हो ।
यो सफलता संगै करनसिंह शिख नेपाली सेनामा शिख समुदायबाट सेवा दिने पहिलो व्यक्ति बन्नु भएको छ । यो प्रतिनिधित्व न केवल शिख समुदायको लागि गर्वको विषय बनेको छ, तर नेपाली सेनाको समावेशी चरित्र र विविधताको प्रतिबिम्ब पनि झल्केको छ ।
करनसिंहको यो उपलब्धिलाई स्थानीयवासी, शिख समुदायका अगुवा तथा सामाजिक संघसंस्थाले स्वागत गरेका छन्। उहांँहरूका अनुसार, करनसिंहको यो यात्रा भविष्यमा अन्य शिख युवाहरूलाई पनि राष्ट्रिय सुरक्षामा योगदान दिने प्रेरणाका रूपमा रहनेछ।
शिख समुदायबाट नेपाली सेनामा पहिलो प्रवेशद्वार खोल्नु भएका करनसिंहलाई देशभक्ति, साहस र समर्पणको प्रतीकका रूपमा लिइएको छ। नेपाली सेनामा विविध जातजाति र समुदायको सहभागिता वृद्धि हुँदै जाँदा करनसिंहको प्रतिनिधित्व ऐतिहासिक महत्वको रूपमा स्मरणीय रहने निश्चित देखिन्छ ।



