काठमाडौं । देशभर कोरोनाको प्रकोप बढेपछि नेपालभर दुईहप्ता सवारी र मानिसहरूको आवतजावत रोक्न मन्त्रीहरूले सुझाव दिएका छन् । मङ्गलबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी, ओपीएस) को बैठकमा मन्त्रीहरूले आवतजावतमा कडाइ नगरे कोरोनाभाइरस बिस्फोटक बन्ने औंल्याएका हुन् ।
कोरोनभाइरसको प्रकोप अनियन्त्रित बन्ने खतरा बढेपछि केन्द्रको अनौपचारिक बैठक बसेको थियो । बैठकले प्रस्ताव तयार पार्ने र बुधबार प्रधानमन्त्रीसमेतको उपस्थितिमा बस्ने बैठकमा पेस हुने एकमन्त्रीले बताउनुभयो ।
सीसीएमसीको मंगलबार अनौपचारिक बैठक बस्यो । बुधबार पाँच बजे प्रधानमन्त्रीको उपस्थितिमा बस्ने बैठकका लागि कार्यसूची तयार पार्न अनौपचारिक बैठक बसिएको थियो,” ती मन्त्रीले भन्नुभयो, “स्थानीय प्रशासनमार्फत् जिल्लागत हिसाबले लकडाउन, निषेधाज्ञा गरेर जानुपर्छ भन्ने कुरा आएको छ । त्यसलाई प्रभावकारी बनाउन निर्देशन दिनुपर्छ भन्ने पनि सुझाव पनि आएको छ ।”
त्यस्तै उहाँले निजी अस्पताललाई निश्चित रकम भुक्तानी गरेर कोभिड उपचार केन्द्रका रूपमा सरकारले लिनुपर्छ भन्ने प्रस्ताव आएको पनि बताउनुभयो ।
“देशभर आइसोलेसन केन्द्र र क्वारेन्टिन स्टेसनहरू बढाउने, स्वास्थ्य जाँच केन्द्रहरूको सङ्ख्या पनि बढाउने सुझाव आएको छ । आवश्यक प¥यो भने होटलहरूलाई पनि क्वारेन्टिनको रूपमा प्रयोग गर्ने सुझाव आएको छ । त्यस्तै औषधि र चिकित्सा उपकरणहरू तयारी हालतमा राख्न सुझाव आएको छ,” मन्त्रीको भनाइ छ ।
यसआधारमा प्रस्ताव तयार पारेर भोलि पाँचबजेको बैठकमा प्रस्तुत गर्ने मन्त्रीको भनाइ छ । बाह्रखरी