सबिता चन्द
नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा आयोजित एक विशेष कार्यक्रममा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाललाई हार्दिक स्वागत गरिएको छ भने निवर्तमान मेसु डा. निराजन सुवेदीलाई सम्मानपूर्वक बिदाइ गरिएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै डा. संकेत रिसालले स्वास्थ्य सेवा केवल प्रशासनिक जिम्मेवारी नभई मानवीय संवेदनासँग जोडिएको सेवा भएको बताउनुभयो । उहाँले निवर्तमान मेसु डा. निराजन सुवेदीको कार्यकाललाई स्मरणीय र योगदानमूलक रहेको उल्लेख गर्दै नयाँ मेसु डा. नवीन दर्नाललाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
त्यसैगरी, नयाँ मेसु डा. नवीन दर्नाल तथा निवर्तमान मेसु डा. निराजन सुवेदी दुवैले मन्तव्य व्यक्त गर्नुभएको थियो । नयाँ मेसु दर्नालले आफूलाई दिइएको जिम्मेवारीलाई इमानदारी, समर्पण र टीमवर्कका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निवर्तमान मेसु सुवेदीले आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभयो ।
अस्पताल परिवार, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य म्याट्रोन पद्मा देवकोटाले राख्नुभएको थियो । उहाँले अस्पताल सेवामा नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै नयाँ नेतृत्वबाट अस्पतालले थप सकारात्मक ऊर्जा र प्रभावकारी सेवा प्रवाह पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले स्वागत, बिदाइ तथा समापन मन्तव्य राख्दै अस्पतालको प्रगति, अनुशासन र सेवाको गुणस्तरलाई निरन्तर मजबुत बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले निवर्तमान मेसुको योगदानको उच्च प्रशंसा गर्दै नयाँ नेतृत्वप्रति पूर्ण विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा निवर्तमान मेसु डा. निराजन सुवेदीलाई माया चिनो, फुलमाला तथा खादासहित सम्मानपूर्वक बिदाइ गरिएको थियो । भावुक वातावरणबीच सम्पन्न कार्यक्रमले अस्पताल परिवारबीचको आत्मीयता, सम्मान र सहकार्यको भावना झन् बलियो बनाएको सहभागीहरूले बताएका छन् ।


