बालबालिकामाथि हुने हिंसा, शोषण र दुव्र्यवहारलाई रोक्नुपर्नेमा विशेष जोड

  ।   २०८३ जेष्ठ ३, आईतवार १३:१७

नेपालगन्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण, बालमैत्री समाज निर्माण तथा बालबालिकाको समग्र विकासका लागि सरकार, नागरिक समाज र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताएका छन् ।

“बालअधिकारसम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम” कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म समन्वय, अनुगमन तथा निगरानी प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री तिमिल्सिनाले बालमैत्री वातावरण निर्माणका लागि सरकारी निकायसँगै नागरिक समाज, सञ्चारमाध्यम, अभिभावक तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे । बालबालिकामाथि हुने हिंसा, शोषण, दुव्र्यवहार तथा बालविवाहजस्ता सामाजिक विकृतिको अन्त्यका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रम पीस नेपाल कपिलवस्तु र बालअधिकारका लागि नागरिक सञ्जाल लुम्बिनी प्रदेशको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी नागरिक समाजका प्रतिनिधि, बालअधिकारकर्मी तथा सरोकारवालाले बालअधिकार संरक्षणका चुनौती, अवसर तथा प्रभावकारी अनुगमन प्रणालीका विषयमा छलफल गरेका थिए ।

तालिममार्फत् बालअधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा नागरिक समाजको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । पिस नेपालका अध्यक्ष मणिप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी, बाल अधिकारकालागि नागरिक सञ्जालका संयोजक शालिग्राम पाण्डे लगायतले प्रदेशमा बालअधिकारको अवस्था र नागरिक समाजको भूमिका बारेमा छलफल गरेका थिए ।

तालिममा लुम्बिनी प्रदेशका बाह्रै जिल्लाका नागरिक सञ्जालका अगुवा तथा बाल सन्जालको सहभागिता रहेको थियो ।

Next Post

बर्दियाको गुलरिया,मधुवन र बढैयातालमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन

२०८३ जेष्ठ ३, आईतवार १३:१७
नेपालगन्ज, । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन भइरहेको गल्र्स स्ट्यान्डिङ स्ट्रङ परियोजना अन्तर्गत बर्दिया जिल्लाको गुलरिया र मधुवन नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । बालबालिकाको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धि सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत अभिभावकहरूलाई बाल संरक्षण, समग्र […]