बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया

  ।   २०८३ आश्विन २, शुक्रबार १०:५८

बर्दिया,। सुरक्षित भविष्य परियोजना अन्तर्गत बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकामा विद्यालय व्यवस्थापन समिति तथा प्रमुख विद्यालय सरोकारवालाहरूसँग विभिन्न बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।

उक्त परियोजना राधाकृष्ण थारु जनसेवा केन्द्र, बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन भइरहेको छ । सोही क्रममा बढैयाताल गाउँपालिकामा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको संयुक्त बैठक सम्पन्न भयो । बैठकमा विद्यालयको समग्र सुधार, बाल संरक्षण, सुरक्षित तथा समावेशी विद्यालय वातावरण निर्माण र विद्यालय व्यवस्थापन समितिको प्रभावकारी भूमिका तथा नेतृत्व सुदृढीकरणका विषयमा छलफल गरिएको थियो ।

त्यसैगरी, गुलरिया नगरपालिकामा सुरक्षित भविष्य परियोजनाको कार्यक्षेत्रभित्र रहेका चार विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, प्रधानाध्यापक तथा बाल क्लबका प्रतिनिधिहरूसँग संयुक्त बैठक तथा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बाल संरक्षण तथा सुरक्षा, नियमित विद्यालय उपस्थिति, सिकाइको निरन्तरता, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा विद्यालय, परिवार र समुदायबीचको समन्वय सुदृढीकरणका विषयमा छलफल भयो ।

कार्यक्रमले बालबालिकाका लागि सुरक्षित, समावेशी तथा बालमैत्री सिकाइ वातावरण निर्माण गर्न विद्यालय, परिवार, समुदाय तथा अन्य सरोकारवालाबीचको सक्रिय सहकार्य र साझा जिम्मेवारी अपरिहार्य रहेको कुरामा जोड दिएको थियो ।  कार्यक्रमको सहजीकरण सो परियोजनाका संयोजक मनोज पौडेलले गर्नुभएको थियो भने राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम अधिकृत राजेन्द्र चौधरीले सहजीकरणमा सहकार्य गर्नुभएको थियो । यी अन्तरक्रियात्मक कार्यक्रमहरूले विद्यालय तथा सरोकारवालाबीचको समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई थप सुदृढ गर्दै बाल संरक्षण, गुणस्तरीय शिक्षा, बालबालिकाको अर्थपूर्ण सहभागिता तथा सुरक्षित र उज्ज्वल भविष्य निर्माणका लागि सामूहिक प्रयासलाई थप प्रभावकारी बनाउने बिश्वास गरिएको सम्बद्धहरुले जनाएका छन् ।

सम्बन्धित शीर्षक